सर्लाही , ९ मङ्सिर //
सर्लाहीमा गुटगत विवादले स्थगित रहेको नेपाली कांग्रेसको वडा अधिवेशन भोलिदेखि शुरु हुने भएको छ ।
सर्लाहीका कांग्रेस जिल्ला सभापति नागेन्द्र रायका अनुसार संस्थापन र इतर पक्षबीच चर्किएको मतभेदले स्थगन भएको अधिवेशन भोलिदेखि सुरु हुने भएको हो।
दोस्रोपटक अधिवेशन रोकिएपछि केन्द्रीय निर्वाचन समितिले दुवै पक्षलाई काठमाडौं बोलाएको थियो। लगातार ३ दिनको छलफलपछि वडा, क्षेत्रीय र महाधिवेशन प्रतिनिधि चयन गर्न सहमति भएको सभापति रायले बताएका छन्।
अधिवेशन गराउन तेस्रोपटक खटाइएका निर्वाचन अधिकृत भरतबहादुर राउत काठमाडौंबाट सर्लाहीका लागि प्रस्थान गरिसकेको र भोलि त्यंहा पुग्ने सभापति रायले जानकारी दिएका छन्।
बिहीबार पार्टीका दुवै पक्षका नेता, वडास्तरमा मतदान अधिकृतका रूपमा खटिने शिक्षकलगायत सबै सरोकारवालालाई राखेर निर्वाचन प्रक्रिया, केन्द्रीय कार्यालयको निर्देशिकालगायतबारे जानकारी गराउने र भोलि शुक्रबार वडा अधिवेशन गराइने राउतले जानकारी दिएका छन्।