रौतहट , ५ मङ्सिर //
नेपाल पत्रकार महासङ्घले विभिन्न राजनीतिक दलका सङ्गठनमा उम्मेदवार र प्रतिनिधि बनेकाहरूको सदस्यता खारेज गर्ने चेतावनी दिएको छ ।
प्रमुख राजनीतिक दलका विभिन्न तहका कमिटीहरूमा अहिले चुनाव भईरहेको तथा प्रतिनिधि चयन हुने क्रम जारी रहेको र सो क्रममा नेपाल पत्रकार महासंघका विभिन्न तहका पदाधिकारी, सदस्य तथा साधारण सदस्य रहेकाहरू विभिन्न राजनीतिक दलका विभिन्न तहमा उम्मेदवार र प्रतिनिधिमा आवद्ध बनेकोप्रति महासंघले ध्यानाकर्षण भएको जनाएको छ ।
पत्रकार महासङ्घका सदस्यता लिएका व्यक्तिहरू पनि चुनिएको र प्रतिस्पर्धा गरेको विषयमा गम्भीर ध्यानाकर्षण भएको महासङ्घले विज्ञप्तिमार्फत जानकारी गराएको हो ।
पत्रकार महासङ्घको विधानले पत्रकार महासङ्घका पदाधिकारी वा सदस्यले पदमा बहाल रहेसम्म कुनै राजनीतिक दल वा भातृ सङ्गठनको कुनै पनि तहको विभाग वा समितिमा रहेर काम गर्न नपाउने व्यवस्था गरेको सुझाउदै महासङ्घले विधान विपरीत राजनीतिक दलका सङ्घ–सङ्गठनमा रहेर काम गर्ने पत्रकारलाई स्पष्टीकरण सोध्ने, निलम्बन गर्ने र सदस्यता नै खारेज गर्नेसम्मको चेतावनी दिएको हो ।
महासङ्घले कुनै पनि दलको कार्यकारी पदमा बसेर स्वतन्त्र तथा सन्तुलित पत्रकारिता नहुने स्मरण गराएको छ ।
अहिले नेकपा एमाले, नेपाली कांग्रेस, माओवादी केन्द्र लगायतका दलहरूको विभिन्न तहमा अधिवेशन भईरहेको छ । दलका अधिवेशनमा पत्रकार महासङ्घका सदस्यहरू नै उम्मेदवार बनेपछि आलोचना भइरहेको छ ।