सर्लाही , ४ मङ्सिर //
नेपाली कांग्रेस सर्लाहीका दुवै पक्षका नेताहरु शनिबार बिहानै काठमाडौं पुगेका छन् ।
जिल्ला सभापति नागेन्द्रकुमार राय र पूर्व सभापति लक्ष्मण राय दुवै पक्षका नेताहरु शुक्रबार राती नै काठमाडौंं गएका हुन् । केही नेताहरु भने आज (शनिबार) बिहानै काठमाडौं लागेका छन् ।
पटक–पटक जिल्ला निर्वाचन अधिकृत खटाउँदा पनि दुई पक्षबीचको विवाद नमिल्दा जिल्ला अधिवेशन अन्तर्गत वडा अधिवेशनकै प्रकृया अगाडी बढन नसकेपछि कांग्रेस केन्द्रीय कार्यालयले दुवै पक्षका नेताहरुलाई काठमाडौं बोलाएको हो ।
जिल्ला सचिब नविन अधिकारीले अधिवेशनबारे देखिएको विवाद समाधानका लागि केन्द्रीय कार्यालयले बोलाएकाले आफूहरु काठमाडौं आएको जानकारी दिए ।
त्यस्तै अर्का जिल्ला सचिब एवं प्रदेश सांसद् उपेन्द्रप्रसाद कुशवाहाले पनि आफूहरु काठमाडौं आएको बताए ।
जिल्ला सभापति नागेन्द्रकुमार राय सहित उनी पक्षका केन्द्रीय सदस्य जंगिलाल राय, वैकल्पिक केन्द्रीय सदस्य शम्भुलाल श्रेष्ठ, सचिब उपेन्द्र कुशवाहा लगायत नेताहरु काठमाडौं गएका छन् ।
त्यस्तै पूर्व सभापति लक्ष्मण राय सहित उनी पक्षका सचिब नविन अधिकारी, संघीय सांसद् डा. अमरेशकुमार सिंह लगायत नेताहरु काठमाडौ गएको बताईएको छ ।