रौतहट , १४ मंसिर //
नेकपा एमालेमा नयाँ नेतृत्व चयनका लागि आज बिहान ४ बजेदेखि सुरु भएको मतदान केहीबेर अघि सकिएको छ ।
एमालेको केन्द्रीय निर्वाचन आयोगका अनुसार चुनावमा दुई हजार ७९ मत खसेको छ ।केहीबेर पछि मत गणना गर्ने तयारी भएको छ ।
विद्युतीय भोटिङ मेसिनको प्रयोग भएकाले मत परिणाम छिट्टै आउने अपेक्षा गरिएको छ ।चितवनको सौराहामा भइरहेको महाधिवेशनको बन्द सत्रमा अध्यक्षसहित केही पदाधिकारी र केन्द्रीय सदस्य चयनका लागि चुनाव भएको हो ।
पार्टीको अध्यक्षका लागि केपी शर्मा ओली र भीम रावल उम्मेदवार रहेका छन् ।
६ जना उपाध्यक्षको पदमा अष्टलक्ष्मी शाक्य, घनश्याम भुसाल, युवराज ज्ञवाली, रामबहादुर थापा, विष्णुप्रसाद पौडेल, सुरेन्द्रप्रसाद पाण्डे र सुवासचन्द्र नेम्वाङको उम्मेदवारी परेको छ ।
सात जना सचिव हुने व्यवस्था गरिएको छ । महाधिवेशनले १९ सदस्यीय पदाधिकारीसहित ३०१ सदस्यीय केन्द्रीय कमिटी चयन गर्नेछ ।