पर्सा , ५ मङ्सिर //
पर्साबाट अवैध लागूऔषधसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा धोविनी गाउँपालिका वडा नम्बर २ का २६ वर्षीय दिवाकरकुमार साह रहेका छन्।
भारतको भिश्वा सिमानाका हुँदै नेपालतर्फ आउँदै गर्दा नाकामा सवारी चेकजाँच गर्ने क्रममा ना४५प ११६४ नम्बरको मोटरसाइकलमा सवार साहलाई शंकास्पद अवस्थामा चेक गर्दा १ हजार ३५० थान लागूऔषध बरामद गरेको पर्साका प्रहरी प्रवक्ता ओम प्रकाश खनालले बताएका छन्।
साहको साथबाट नुर्फिन, डाइजेपाम र प्रोमी फाइजाम हाइड्रोक्लोराइड ४५० / ४५० थान गरी एक हजार ३५० थान लागूऔषध बरामद भएको खनालले बताएका छन्।
पक्राउ परेको साहलाई जिल्ला प्रहरी कार्यालयमा राखी यसबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।यस्तै सोही मोटरसाइकलको पछाडि सवार भएका एक जना भाग्न सफल भएको छ । फरार भएको उनको खोजी भइरहेको पर्सा प्रहरीले जानकारी दिएको छ ।