पर्सा,२२ भदौ //
वीरगञ्ज महानगरपालिकाले कर्मचारीको व्यवस्थापन एवं समायोजन गर्ने उद्देश्यले ऐन जारी गरेको छ । महानगरपालिकाको नवौं साधारणसभाले पारित गरेको ऐन महानगरले राजपत्रमा प्रकाशित गरेको हो । कर्मचारीको वृत्ति विकासका लागि ऐन ल्याइएको नगरप्रमुख विजय सरावगीले बताए।
तह वृद्धि, ग्रेड वृद्धि र लामो समय करारमा रहेका कर्मचारीलाई प्रदेश लोक सेवा आयोगमार्फत आन्तरिक प्रतिस्पर्धाबाट स्थायी गर्ने प्रक्रियामा जाने व्यवस्था ऐनमा गरिएको उनले बताए ।
महानगरपालिकाका स्थानीय सेवाका कर्मचारीलाई समायोजन गर्दा कायम हुने तलब साविकमा खाइपाई आएको तलबभन्दा कम हुने भएमा ग्रेड वृद्धि गरी तलब मिलान गर्ने व्यवस्था ऐनमा छ ।
समायोजन तह मिलानका लागि आवश्यक प्रशासनिक कार्यसम्पादन गर्न तथा समायोजन/बढुवा सिफारिसका लागि वीरगञ्ज महानगरपालिकाको वरिष्ठतम अधिकृतको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गर्ने व्यवस्था ऐनमा गरिएको छ ।
ऐनमा साविकका स्थानीय निकाय र वीरगञ्ज महानगरपालिकाको स्वीकृत दरबन्दीको अधिकृतस्तर छैठौं तह, सहायकस्तर पाँचौं र चौथो तहमा करार सेवामा नियुक्ति लिई सोही पदमा कार्यरत कर्मचारीबीच आन्तरिक प्रतिस्पर्धा गराई एक पटकको लागि स्थायी पदपूर्ति गर्न सकिने व्यवस्था समेत राखिएको छ ।
महानगरपालिकाकामा प्रमुख प्रशासकीय अधिकृत, वरिष्ठ जनस्वास्थ्य प्रशासक, उपसचिव १/१ जना, आठौं, सातौं र छैठौं तहका अधिकृत ३७ जना, पाचौं र चौथो तहका १ सय २३ जना, अन्य तहका १ सय १६ जना कर्मचारी छन्।