–यशु श्रेष्ठ ///

नयाँनयाँ सिर्जनाले नै संसारलाई सकारात्मक र नवीन अनि सजिलो ढङ्गबाट अघि बढ्न सहयोग गरिरहेको हुन्छ । नवीन सिर्जनाका लागि झुकाव, चाख, लगाव, साधना र निरन्तरता आवश्यक पर्छ । यसका साथै विभिन्न छलफल, संवाद, तर्क, अध्ययन, अनुसन्धानले यो माझिँदै जान्छ र एउटा गन्तव्यमा पुग्न सक्दछ । त्यो गन्तव्यमा पुर्याउने एउटा बाटो हुन सक्दछ ‘सिर्जनशील क्लब’ । क्लब भएपछि यहाँ विभिन्न मस्तिष्क र विचारले बास गर्छन् । विचारका आदानप्रदान अनि सहयोगले हौसला, उत्साह प्रदान गर्छ, जसले काम गर्ने हातहरुलाई निकै धेरै फुर्ती ल्याइदिन्छ । एकअर्कामा गरिने मदत र दिने हौसलाले सबैलाई अगाडि बढ्न प्ररित गर्छ । सामुहिकताको विकास हुन्छ । नेतृत्व, तर्क गर्ने शक्तिको विकास, अधिकार र जिम्मेवारीप्रति वफदार हुन सिकाउँदछ । एकअर्काका दुःखसुख, संस्कार अनि संस्कृतिकोसमेत आदानप्रदान हुन्छ । एउटा फरक अभिभावकत्व प्राप्त हुन्छ । सामुहिक बलले नयाँ विचार निर्माण हुन्छ । कार्य सफलतामा बल मिल्दछ । नयाँ परिणाम प्राप्त गर्न सकिन्छ । त्यसैले असल प्रेरणा र नयाँ सिर्जनाका स्रोत हुन सक्छन् यस्ता क्लबहरू ।

किन – बालबालिका भनेका सिर्जनाका खानी नै हुन् । विद्वानहरू भन्दछन्, “बालबालिकाका दाहिने मस्तिष्क असाध्यै धेरै चलिरहेको हुन्छ । दाहिने मस्तिष्क भनेको सिर्जनाका लागि अघि बढ्न, नयाँ विचार निर्माण गर्न, चिन्तन, अनुसन्धान गर्न, नयाँ अनुभव गरेर त्यसको निचोड निकाल्न, नयाँ धारण निर्माण गर्न कस्सिरहेको हुन्छ ।” यसबेला घोक्ने, कण्ठ गर्ने, अरूले भनेको मात्र सुन्ने, हुवहु नक्कल गर्ने गर्न चाहँदैनन् । त्यसैले सिर्जनशील क्लबले उनीहरुको उमेरअनुसार कार्य गर्न मदत गर्दछ । दौतरी फेला पार्दछ । दुई हातले ताली बजे जसरी दौतरीहरुले मिलेर नयाँ सिर्जना गर्न उत्साहित बनाउँदछ । जसले उनीहरुको भविष्य निर्माणमासमेत सहयोग गर्दछ । बालबालिकाको भौतिक तथा अभौतिक बानी, व्यवहार र उनीहरुको शारीरिक क्षमताकोसमेत यसले सम्बोधन गर्ने भएकाले यो क्लब बालबालिकामाझ नै परिचित गराउन उपयुक्त हुनेछ । यसका लागि उनीहरु नै सही पात्र हुन् । त्यसैले ‘सिर्जनशील क्लब’  बालबालिकाकै सहभागितामा, बालबालिकामाझ, बालबालिकाहरु समेतका लागि गठन गर्नु मनासिव हुन्छ ।

बालबालिकाहरूलाई जति सिर्जनशील बनाउन सक्यो, जति उनहरुको दिमागलाई माझ्न सक्यो, जति उनीहरुका मनलाई असल बनाउन, जति उनीहरुको मनोविज्ञानलाई बुझेर गोरेटोमा डो¥उयान, जति उनीहरुमा सामुहिकता, परोपकारिता, मितव्ययीता, कोमलता अनि मानवीयता भर्न सक्यो, त्यति नै हाम्रो समाज असल र अब्बल अनि सकरात्मक बन्दछ । असल समाज निर्माणका लागि बालबालिकाका लागि सिर्जनशील क्लब गठन गर्नु अतिउपयुक्त देखिन्छ । बालबालिकालाई सिर्जनशील बनाउन, उनीहरूले आफूले आफूलाई र समाजलाई चिन्न-चिनाउन तथा जीवनका हरेक परीक्षाहरूमा उत्तिर्ण हुनका लागि सिर्जनशील क्लबले महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्दछ

कहाँ – बालबालिकाहरूको जमघट विशेष गरी विद्यालयमा हुने भएकोले हरेक विद्यालयमा ‘सिर्जनशील क्लब’ गठन गरिनु उपयुक्त हुनेछ । यसैगरी पुस्तकालय, टोल वा गाउँ–गाउँमा यस्ता क्लबहरु गठन गर्न सकिन्छ ।

कसरी – यस्ता क्लबहरु गठन गर्दा शिक्षक-अभिभावकहरुको अप्रत्यक्ष (प्रत्यक्ष) निगरानी आवश्यक छ । एउटा सानो भेला गरेर यस कार्यको थालनी गर्न सकिन्छ । एकदम चासो हुने, नेतृत्व गर्न सक्नेहरुको एउटा कार्यसमिति बनाउनुपर्छ । कार्यसमितिमा बालबालिकाहरूबाहेक अरू हुने छैनन् । कार्यसमितिमा कक्षा ७, ८ र ९ का बालबालिकाहरू पदाधिकारी (अध्यक्ष, उपाध्यक्ष, सचिव, सहसचिव र कोषाध्यक्ष)मा भए कक्षा ४, ५ र ६ वा त्योभन्दा साना कक्षाका बालबालिकाहरू चाहिँ भावी नेतृत्वका लागि कार्यसमिति सदस्यमा रहन सक्नेछन् । तर यसै हुनुपर्छ भन्ने छैन । नेतृत्व प्रभावकारी ढङ्गले गर्न सक्ने जोकोही पनि पदाधिकारीमा रहेर काम गर्न सक्नेछन् । क्लबको संरक्षक र सल्लाहकारमा अभिभावक,शिक्षक वा अनुभव बटुलिसकेका बालबालिकाहरु रहने छन् । अन्य बालबालिकाहरु यस क्लबको जिम्मेवार सदस्य बनेर काम गर्ने छन् । यिनी सदस्यहरुबाट भावी नेतृत्व चयन सकिन्छ । गर्दछन् ।

मूल कार्यहरू – कार्यसमितिको बैठक मासिक रूपमा बस्नेछ वा आवश्यकताअनुसार समय मिलाएर अन्य समयमा पनि बस्न सकिन्छ । बैठकका विषय र छलफल अनि निर्णयलाई लेखित रूपमा राख्नुपर्छ । वर्षभरिमा केके काम गछौँ त ? भनेर मूल काम र दिनहरुको टिपोट गरेर सबैले थाहा पाउने गरी वा देख्ने ठाउँमा टाँस्नु वा सबैलाई सूचना दिनुपर्छ । मूल कार्यबाहेक आइपरेका वा सदस्यहरुमाझ छलफल भएर ‘यो काम चाहिँ गर्नुपर्छ’ भन्ने भएमा त्यसलाई प्राथमिकताका आधारमा गर्दै जानु पर्छ । क्लबमा छलफल गरेर आफ्नो निश्चित उद्देश्य र नीतिसमेत बनाउन सक्नेछ । आवश्यकताअनुसार शिक्षक,अभिभावकको सल्लाहरु सहयोग लिनुपर्छ । क्लबले विशेषगरी आफ्ना कर्तव्य र जिम्मेवारी पालनका विषयमा छलफल,अधिकारका बारेमा छलफल र चेतनामा विकास, कर्तव्यपालनाका बरेमा छलफल र कार्यान्वयन,कथावाचन-भित्तेपत्रिका प्रकाशन, विस्तार र संरक्षण-बालकथा, कविता, निबन्ध, दैनिकी, संस्मरण जस्ता आदि सिर्जनशील लेखन तथा सम्पाद कार्य गर्ने, यस्ता रचनाहरु प्रकाशनका लागि पत्रपत्रिकाहरुमा पठाउने, कला, रङ्गकर्मका अभ्यासहरु, अभिभावकका लागि आफ्ना सुझाव र अभिभावकका सुझावमा आफ्ना कार्यान्वन, आफ्ना साथीभाइका सुधार्नु पर्ने कुरा वा बढाउँदै लैजानु पर्ने कुरा, हौसला दिनुपर्ने कुरा, असल व्यक्तित्वहरुसँगको भेटघाट आदि र यी विषयहरूमा छलफल चलाउने,पुस्तक पढ्ने,छलफल गर्ने तथा समीक्षा गर्ने,बालपुस्तकहरू किनेर पुस्तकालय,वाचनालय बनाउने र संवर्धन गर्ने पत्रपत्रिकाहरूमा रचना सिर्जना, कलाकारिताहरू प्रकाशन गर्ने-गाउँ तथा विद्यालय स्तरीय विविध नयाँ किसिमका कार्यक्रम गर्ने,सामाजिक र व्यवसायिक विषयहरूमा छलफल गर्ने,अध्ययन र चिन्तनका बारेमा बहस चलाउने,शिक्षक, अभिभावकहरूसँग निरन्तर छलफल गर्ने,समाजका कुरीतिहरूमा छलफल गर्दै यसका बारेमा नयाँ सोच निर्माण गर्ने,सामाजिक कार्यहरू गर्ने, साथीभाइमाझ सरसयोग गर्ने, आइपरेका सुखदुखका बारेमा छलफल गर्ने,आफूले गर्नु पर्ने र गर्न नहुने काम आदिका बारेमा छलफल, कुराकानी चलाउने । कसैले नयाँ चिजको सिर्जना गरेको छ भने त्यसमाथि छलफल गर्दै सर्जकलाई हौसला र उत्साह प्रदान गर्ने  आदि ।

समय व्यवस्थापन –  विद्यालयमा यस्ता क्लब छन् भने विद्यार्थीहरुका लागि एक हप्तामा दुई दिन एक,एक घण्टा यिनै कार्यका लागि समय दिन सकिन्छ । विद्यार्थीले अध्ययन गर्नुपर्ने कुराहरु पनि यहाँ सामुहिक छलफल गर्न सकिने छ । विद्यार्थीहरुका मूल्याङ्कन गर्दा यस क्रियाकलापलाई समेत आधार बनाउन सकिन्छ । अतिरिक्त पुस्तक पढ्ने वा छलफल गर्ने समय भनेर अलिकति समय दिन सकिन्छ । बालबालिकाले विद्यालयसँग यो समय माग्न वा यो माग राख्न सक्ने छन् ।

पुस्तकालय वा गाउँघरमा यस्ता क्लब छन् भने विद्यालयको छुट्टीका दिन वा विद्यालयबाट बेलुकी घर आइसकेपछिको केही समय दिन सकिन्छ ।

अभिभावकहरुसँग पनि यस्तै बिदाका समय, बेलुकीको समय माग्न सकिन्छ । घरमा नै सल्लाह चाहिएको छ भने खाना खाने बेला अगाडि वा पछाडि, टेलिभिजन हेर्ने समयलाई

आर्थिक स्रोत – क्लब संचालनमा केही आर्थिक आवश्यकता पनि पर्न सक्दछ । यसका लागि हरेक विद्यार्थीले आफ्नो जन्मदिनमा रु १० क्लबका लागि सहयोग गर्ने (बरु चकलेट वा अन्य चिज नबाँड्ने), जन्मदिनमा पुस्तक उपहार वा कुनै सिर्जना वा प्रकाशित रचना उपहार दिने । हरेक शिक्षक,अभिभावकको जन्मदिनमा शिक्षक,अभिभावले रु १००।– क्बललाई सहयोग गर्ने । सिर्जनशील क्बलबाट सिर्जना भएका रचनाहरु पत्रपत्रिकाहरूमा प्रकाशन गर्ने । प्रकाशन भएका रचनाको पारिश्रमिमा ७५% रचनाकारलाई प्रदान गर्ने र २५% क्लबलाई सहयोग गर्ने । सार्वजनिक कार्यक्रमहरू गर्दा हरेक दर्शकले रु १ तिर्नु पर्ने । तिर्नै नसक्नेलाई पास दिने वा यस्तै केही व्यवस्था गर्ने । प्लाष्टिक, सिसा, कागज आदिलाई जम्मा गरेर कवाडी सामान किन्न आउनेलाई बेच्ने । चन्दा बाकस राख्ने वा अन्य सहयोगीहरुसँग सहयोग माग्ने । देउसीभैलो कार्यक्रम, तीज आदिका लागि कार्यक्रम गर्ने । उठेको रकमको केही प्रतिशत क्लबमा राख्ने । क्लबको आम्दानीलाई सहकारी (वित्तिय संस्था)मा राख्ने । क्लबका सदस्यहरु वित्तिय संस्थाका कारोबारका बारेमा पनि जानकार बन्ने ।

यसरी एउटा पूर्ण सिर्जनशील क्लब गठन गरेर बालबालिकामा नयाँ जोश, उत्साह र सिप थप्न सकिन्छ । बालबालिकालाई व्यवहारिक र मितव्ययी बनाउन र सामुहिक कार्यका लागि अगाडि बढाउँदै देश निर्माण गर्ने खम्बाहरु तयार गर्न सकिन्छ । यस्ता बालबालिकाबाट नै सकरात्मक परिवर्तनको आशा गर्न  सकिन्छ ।[लेखक : श्रेष्ठ बाल साहीत्यकार हुन ]

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here