सपूत बहादुर कार्की
पृष्टभूमी : नेपालको मध्यपूर्वी तराईको पर्सादेखि पूर्वमा सप्तरी सम्मको आठवटा जिल्लाको भौगोलिक क्षेत्र समेटेर प्रदेश नं. २ को निर्माण भएको छ भने यो प्रदेश नेपालकै सानो प्रदेशको रुपमा रहेको छ । नेपालको प्रदेश न १ तथा ३ र भारतको सिमानासंग जोडिएको यो प्रदेश समतल भू भागले बनेको छ भने यस प्रदेशको जनघनत्व भने अत्याधिक रहेको छ । पूर्ण रुपमा मधेश क्षेत्र रहेको यो प्रदेशमा मधेशी समुदायको बाहुल्यता रहेको छ ।
उद्योग, कृषि, पर्यटन र भन्सार क्षेत्रका लागि यो प्रेदश धेरै नै महत्वपूर्ण मानिन्छ भने जनविद्युत आयोजना भने हालसम्म यो क्षेत्रमा छैन । वीरगन्ज, जनकपुर, लहान, जलेश्वर, मलंगवा, चन्द्रनिगाहपुर, गौर, राजविराज, जीतपुर, निजगढ, मिर्चैया, गोलबजार यस प्रदेशको प्रमुख बजारको रुपमा रहेको छ ।
समथर भुभाग, उच्च प्रतिव्यक्ति आय, प्रशस्त समथर खेती योग्य जमिन, धेरै जनसंख्या रहेका छन् भने अर्काे तर्फ नेपालको कूल ग्राहस्थ उत्पादनमा कृषि, मत्स्यपालन, फलफुल, पशुपंक्षी र उद्योगको क्षेत्रमा यस क्षेत्रलाई समबृद्ध बनाउने प्रसस्त सम्भावना रहेको छ भने अर्काेतर्फ मधेशको अधिकांश जातजातिको बसोबास गर्ने यो प्रदेशमा शिक्षा,स्वास्थ्य, मानव विकास सूचांकमा धेरै पछाडी रहेको छ भने गरिवीको मारमा अधिकांश मानिसहरु रहेका छन् । अधिकार, पहिचानका लागि यो प्रदेशले धेरै नै पटक आन्दोलन गर्नु परेको छ ।
भूगोल र जनसंख्या
नेपालको भौगोलिक क्षेत्रका हिसावले यो प्रदेश सवैभन्दा सानो क्षेत्र हो । जसको क्षेत्रफल ९६६१ वर्गकिलोमिटर रहेको छ । प्रदेश न. २ मा करिव ५४ लाख भन्दा बढी मानिसहरुको बसोबास रहेको छ ।यस क्षेत्रमा महानगरपालिका १, उपमहानगरपालिका १, नगरपालिका ७३ र गाउपालिका ५९ सहित १३६ तह र १२७१ वटा वडा रहेका छन् ।
भू उपयोगको अवस्था र सडक संजाल ः
नेपालको प्रदेश नं. २ को भु उपयोगको अवस्था र सडक संजाल हेर्दा कृषिक्षेत्र ६६५० वर्गकिलोमिटर, वनक्षेत्र २६०० वर्गकिमी, खाली प्रति ३५० वर्गकिमी रहेको छ भने यस क्षेत्रमा नगन्य पहाडी क्षेत्र रहेको छ भने हिमाली क्षेत्र भने छैन । यस प्रदेशमा कुल भुभागको ६८ प्रतिशत कृषि क्षेत्र र २६ प्रतिशत बन क्षेत्र रहेको छ ।
विकासको जग सडक संजाललाई मानिएता पनि यस क्षेत्रमा सडक संजालको लम्बाई १२५८० किलोमिटर रहेकोमा जसमध्ये ग्राभेल सडक १७२५१ कच्ची सडक ४३९५ किमी र कालोपत्रे सकड ६४५० किमी रहेको छ ।
विद्युत ः
प्रदेश नं. २ मा एउटा पनि जलविद्युत आयोजना छैन भने उत्पादन अनुमति समेत लिएको देखिदैन । केही बर्ष पहिलेसम्म विद्युत उत्पादन जेनेटर प्रविधिबाट गरिन्थ्यो ।
जातजाति ः अधिकांश क्षेत्रमा मधेशी बाहुल्यता रहेको यस क्षेत्रमा महेन्द्रराजमार्गको उत्तरतर्फ भने पहाडिया बाहुल्यता रहेको देखिन्छ । पछिल्लो नेपालको जनगणना तथ्यांक हेर्दा यादव र मुस्लिम समुदायको बढी बाहुल्यता रहेको देखिन्छ । जातजातिको विश्लेषण गर्दा मधेशी, तराई दलित र खस आर्यको बसोबास रहेको छ ।
मानव विकास सुचांक र आर्थिक क्षेत्रको अवस्था ः
सन् २०१४ को मानव विकास प्रतिवेदनलाई नियालेर हेर्दा सबभन्दा पछाडी परेको १५ वटा जिल्लाहरु मध्ये ४ वटा जिल्ला यस प्रदेशमा रहेका छन् । नेपालको समग्र मानव सूचांक हेर्दा स्वास्थ्य, शिक्षा र प्रतिव्यक्ति आयको अवस्था निकै नै कमजोर रहेको देखिन्छ ।
मानव विकास सूचांक २०१४ अनुसार राष्ट्रिय लेखा तथ्यांकमा औद्योगिक क्षेत्रलाई १५ वटा क्षेत्रमा विभाजन गरिएको छ । जस्तै कृषि तथा वन, मत्स्यपालन तथा पशुपालन, उद्योग, विद्युत, ग्यास तथा पानी, खानी तथा उत्खनन, निर्माण, थोक तथा खु्द्रा व्यापार, होटल तथा रेष्टुरेन्ट, यातायात, संचार तथा भण्डारण, वित्तिय मध्यस्थता, रियल स्टेट, प्रशासन तथा रक्षा, शिक्षा र स्वास्थ्य,सामुदायिक, सामाजिक तथा व्यक्तिगत सेवा रहेका छन् ।
प्रदेश नं २ मा कुल ग्राहस्थ्य उत्पादनमा सवैभन्दा बढी कृषि क्षेत्रमा योगदान रहेको छ । जसको ४२ प्रतिशतभन्दा बढी योगदान रहेको छ रथोक तथा खुद्रा व्यापार दोश्रो ठूलो स्थानमा रहेको छ । प्रदेश न. २ नेपालको कूल ग्राहस्थ्य उत्पादनमा मत्स्यपालनमा सबैभन्दा बढी योगदान रहेको छ भने बारा जिल्ला मत्स्य उत्पादन हवको रुपमा छ । यस प्रदेशमा बस्ने व्यक्तिहरुको आय ५८५ अमेरिकन डलर रहेको देखिन्छ । राष्ट्रिय स्तरमा हेर्दा कुल ग्राहस्थ्य उत्पादनमा महत्वपूर्ण योगदान रहेको छ ।
गास,बास,कपास,स्वास्थ्य र शिक्षा जस्ता आधारभूत आवश्यकताको पूर्ति यस प्रदेशमा राज्यले राम्रो तरिकाले गर्न सकेको छैन । आर्थिक विकास र सम्बृद्धिका दृष्टिकोणले यो प्रदेश ओरालो लाग्दो अवस्थामा रहेको छ । यि सबै कारणले मानिसको जीवनस्तर कमजोर र गरिवी छ । गरिबले भोग्नुपर्ने कष्टपूर्ण अवस्था पनि यो प्रदेशमा रहेको छ । यस प्रदेशमा रहेका ८ वटा जिल्लाहरु मध्ये महोत्तरी, सर्लाही उच्च, सबृद्ध, धनुषा ,पर्सा र बारा मध्यम र रौतहट,सिरहा ,सप्तरी न्यून सम्बृद्धि स्तर भएको जिल्लाको रुपमा रहेको छ ।
यस प्रदेशमा हालसम्म राजनीतिक नेतृत्वले आम नागरिकको सामाजिक न्याय र समतामूलक समाजको चाहना सुनिश्चित गर्न सकेको छैन । भ्रष्टाचार र अनियमितता यो प्रदेशको सबैभन्दा ठूलो रोग रहेको छ ।
कुपोषण, बाल मृत्युदर, न्यून शिक्षा, सरसफाई, शुद्ध खानेपानीको अवस्था विशेष गरेर प्रदेश नं. २ मा समस्याको रुपमा रहेको छ । अर्काेतर्फ छुवाछुत, बाल विवाह, दाइजो प्रथा र महिला हिंसाले यस प्रदेशमा विकराल रुप लिदै गएको छ । माथिका उल्लेखित कारणले यो क्षेत्रमा दिनानुदिन गरिवी बढ्दै गएको छ ।
पर्यटन तथा धार्मिक स्थल ः
जानकीमाता (सीता)को जन्मभूमि जनकपुर रहेको यो प्रदेश धार्मिक तथा पर्यटकीय दृष्टिकोणले विश्व प्रसिद्ध छ । राजा जनक, सहलेस, दिनाभद्री जस्ता वीर योद्धाहरुको जन्मभूमी तथा कर्मभूमी यसै प्रदेशमा छ ।
छिन्नमस्ता भगवती, धनुषाधाम, जानकीमन्दिर, राम मन्दिर, गढिमाई, जलेश्वरनाथ, कंकालिनी मन्दिर, पौराई ब्रम्हस्थान,नुनथर धार्मिक दृष्टिले आकर्षक पर्यटकीयस्थल हो भने अर्नाको लागि प्रसिद्ध आरक्षित क्षेत्र पर्सा पनि यसै प्रदेशमा रहेको छ ।
शैक्षिक पूर्वाधार र साक्षरता तथा खानेपानी र स्वास्थ्य
नेपालको राष्ट्रिय जनगणना २०६८ अनुसार साक्षरताको विश्लेषण गर्दा सबभन्दा पछाडी परेको छ । यस प्रदेशको साक्षरता प्रतिशत ५१ रहेको देखिन्छ भने नेपालको सारक्षता प्रतिशत ६६ रहेको छ । यस प्रदेश अन्तर्गत पर्सामा ५६ र रौतहटमा ४२ प्रतिशत रहेको छ ।
उच्च शिक्षाको पूर्वाधारका हिसाबले एउटा पनि विश्वविद्यालय संचालनमा नआउनु र दुई मेडिकल कलेज तथा इन्जिनियरिङ कलेज रहेको छ भने देशको कुल ग्राहस्थ्यमा ठूलो कृषिमा योगदान रहेको यो प्रदेशमा कृषि सम्बन्धी उच्च शिक्षा नहुनु एउटा बिडम्बना नै रहेको छ । विद्यालय तर्फ अध्ययन गर्दा समग्र देशको १० प्रतिशत विद्यालय र ५ प्रतिशत संस्थागत विद्यालयको अवस्थाले पनि शैक्षिक पूर्वाधारको अवस्था छर्लग पार्दछ ।
नेपालको अध्यावधिक तथ्यांक नपाइएता पनि प्रदेश नं. २ मा ६० प्रतिशत जनसंख्यालाई मात्र सरसफाई विशेष शौचालयको पहुच रहेको छ । नेपाल खुल्ला दिशामुक्त भएता पनि विशेष यस प्रदेशको अवस्था जटिल रहेको र कागजीरुपमा मात्रै खुल्ला दिशामुक्त भएको देखिन्छ । प्रदेश नं. २ मा करीव ८० प्रतिशत व्यक्तिहरुलाई खानेपानीको सुविधा भएतापनि शुद्ध पानीको अवस्था भने खराबनै रहेको छ । आर्सेनिक र आइरन जस्ता जटिल समस्या अहिले पनि टडकारो रुपमा छ । पानीलाई कसरी सुरक्षित राख्ने भन्ने शिक्षाको ज्ञानको अभावका कारण ८० प्रतिशत पानीले रोग निम्त्याउने हुदा यसको बारेमा व्यापक जनचेतना जगाउनु पर्ने अवस्था रहेको छ ।
जातिय विभेद र तले जातिको आर्थिक अवस्था ः
प्रदेश नं. २ को सबभन्दा ठूलो समस्या जातीय भेदभाव रहेको छ । आजको २१ औं शताव्दीमा पनि यस प्रदेशमा जातिय भेदभावले प्रश्रय पाउनु विडम्बनाको रुपमा रहेको छ । दलित र गैर दलित विचको भेदभावको खाडल ठूलो छ । भोज भतेर र कतिपय धार्मिक स्थल र सामाजिक कार्यमा आफै पनि निषेध गरिएको छ । यो एक किसिमको विकासको बाधक हो जस्तो लाग्दछ । जसले सामाजिक विकासमा बाधा पु¥याएको छ ।
कतिपय अवस्थामा दलित र गैर दलितवीच छुवाछुत जस्तो विषयमा विभेद भएतापनि दलित दलित वीचमा पनि छुवाछुतको ठूलो समस्या देखिन्छ । विशेष गरेर यस प्रदेशमा केही तल्लो जातिमा आर्थिक, सामाजिक र शैक्षिक अवस्था सारै नै कमजोर र डरलाग्दो छ । उदाहरणका लागि भन्नु पर्दा जस्तै मुसहर, डोम, चमार, सतारहरुको आर्थिक र शैक्षिक अवस्था कमजोर छ । एक सर्वेक्षणले देखाए अनुसार उनीहरुको आयु पनि कम भएको देखाएको छ । डोम जातिहरुमा बासकासामाग्री निर्माण गर्ने सीप भएतापनि बढ्दो शहरीकरण र विद्युतीकरणका कारण उनीहरुको उत्पादनले बजार नपाएको अवस्था छ जसले उनीहरुको आर्थिक अवस्थालाई झन कमजोर बनाएको छ ।
बढ्दो विदेशीने क्रम
प्रदेश नं. २ को एउटा जटिल समस्या विदेश जाने क्रम पनि रहेको छ । जसका कारण समाजमा युवाहरुको कमी देखिन्छ जुन समाज विकासको लागि एउटा बाधक बनेको छ ।सानै उमेरमा विदेश जाने र उमेर बढाएर नागरिकता बनाउने र सोका कारण बिचमै अध्ययन छाड्नाले शैक्षिक स्तरको अवस्था कमजोर भएको देखिन्छ । तर यति भएतापनि कतिपय अवस्थामा भने परिवारको आर्थिक उन्नती समेत गरेको देखिन्छ ।
नेपाली काग्रेस र भोग बैक
नेपाली काग्रेसको मधेशसंगको नाता पुरानो छ । काग्रेसले आव्हान गरेको हरेक आन्दोलन र राणा, पंचायतसंगको संघर्षको क्रममा पनि मधेशले ठूलो योगदान पु¥याएको छ । मधेशलाई सधै काग्रेसले भोट बैकको रुपमा हेरिन्छ र सोही अनुसार सहयोग पनि भएको छ ।
नेपाली काग्रेसका शहीदहरु दुर्गानन्द झा, तेज बहादुर अमात्य, सरोज कोइराला, महेश कोइराला, केशव कोइराला र यदुकुवा काण्डको नामले चर्चित ने.वि.संघका कामेश्वर,कुशेश्वर यसै प्रदेश नं. २ का हुनुहुन्थ्यो । पार्टीको आव्हानमा उहाहरुले गर्नु भएको सहादत सम्मानपूर्ण रहेको छ ।
वि.पि. संगै सुन्दरीजल जेलमा कष्टपूर्ण जिवन विताउनु भएका राम नारायण मिश्र र नेपाली काग्रेसका हस्तीहरु महेन्द्र नारायण निधि र शेष इद्रिस पनि २ न. प्रदेशको नै हुनुहुन्थ्यो । बैरगनिया सम्मेलनका नामले चर्चित नेपाली काग्रेसको सम्मेलन प्रदेश नं. २ कै रौतहट जिल्लाको सदरमुकाम गौर छेउ भारत रहेको ने.का.को २ वटा महाधिवेशन पनि यसै क्षेत्रमा भएको छ । जनकपुर महाधिवेशनले छुवाछुत र विभेद विरुद्ध प्रस्ताव पास गरि छुवाछुत र विभेद निति अपनाउनेलाई काग्रेसले सदस्य समेत नदिने निर्णय ग¥यो । त्यस्तै वीरगन्ज महाधिवेशनले समाजवादलाई अनुमोदन गरि आर्थिक रुपान्तरणका लागि पर्ने समेत निर्णय ग¥यो । जुन समाजवाद काग्रेसको एउटा पिलरको रुपमा रहेको छ । यसरी काग्रेसले गरेका २ वटा महत्वपूर्ण निर्णयहरु पार्टीको महाधिवेशन भएको स्थानहरु २ नम्बर प्रदेशमा नै पर्दछ ।
माथि उल्लेखित विचारहरुलाई हेर्दा पार्टीमा योगदान पु¥याउनु भएका महान हस्तीहरुको बलिदानीलाई बाचर्य राख्ने जिम्मा काग्रेसको युवा पुस्तामा आएको छ भने परापूर्वकालदेखि मधेश भोट बैंकलाई बचाई राख्ने जिम्मेवारी पनि काग्रेस युवाहरुमा रहेको छ ।
प्रदेश नं. २ का केही अवसर र चुनौतीहरु
सामाजिक र आर्थिक हिसावले यो क्षेत्रको अवस्था दारुण भएतापनि समथर भुभाग, धेरै जनसंख्या, प्रसस्त खेती योग्य जमिन, देशको कुल ग्राहस्थ्यमा कृषिको योगदान, मत्स्यपालन र देशकै ठूलो राजस्व उठ्ने मुख्यद्धार यस क्षेत्रको अवसरका रुपमा रहेको छ । माथि उल्लेखित अवसरहरु भएतापनि देशकै समृद्ध प्रदेश बन्न नसक्नु यसका चुनौतीहरु रहेकाछन् ।
अवसरहरु ः
१. बढी जनघनत्व
२. प्रशस्स्त खेतियोग्य जमिन
३. उद्योगहरुलाई चाहिने कच्चा पदार्थ उत्पादन
४. पशुपालन, माछापालन लगायत फलफुल उत्पादन
५. युवालाई प्रविधिसीप तथा ज्ञान प्रदान गरि दक्ष जनशक्ति उत्पादन ।
६. भारतसंगको समथल खुल्ला सीमानाका कारण उद्योगलाई चाहिने कच्चा पदार्थ कम लागतमै आयात ।
७. नेपालकै एकमात्र सुख्खा बन्दरगाह वीरगन्जमा रहेको ।
८. निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको क्रममा रहेको ।
९. नेपालकै मुख्य द्धार ।
१०. काठमाण्डौ निजगढ फास्ट ट्रयाक
११. सस्तो कामदारको उपलब्धता ।
१२. हुलाकी राजमार्ग, नेपालकै ठूलो महेन्द्र राजमार्ग, पूर्व पश्चिम रेलमार्गको निमार्ण ।

चुनौतीहरु ः
परम्परागत कृषि प्रणाली
गुणस्तरीय स्वास्थ्य सेवामा कमी
गुणस्तरीय शिक्षाको तथा प्राविधिक शिक्षाको अभाव
सरसफाईमा जनचेतनाको कमी
बेरोजगारी
रुढीबादी परम्परा
लैगिंक हिंसा
विकास निर्माणको काममा ढिलासुस्ती तथा गुणस्तरहीन
भ्रष्टाचार अनियमितता
छुवाछुत र जातीय विभेद
महिलाको राजनैतिक,सामाजिक र आर्थिक पहुचमा कमी ।
अन्त्यमा,
नेपालको मानव सूचांकले देखाएको शिक्षा,स्वास्थ्य, सरसफाई र जनविद्युतमा पछाडी परेतापनि कृषि, मत्स्यपालन, बढ्दो उद्योग, कलकारखानाको निर्माणले यस प्रदेशलाई समृद्ध बनाउन सकिन्छ । देशको प्रमुख राजस्व संकलन हुने यस प्रदेशमाा सुशासनका कमीका कारण दिन प्रतिदिन विकासको अवस्था खस्कदो छ । केन्द्र, प्रदेश र स्थानीय सरकारले परिवेश अनुसार सुशासन र विकास निर्माण गर्न सके प्रदेश नं. २ चाडै विकसित र समृद्ध हुने कुरामाा दुईमत नहोला ।
(लेखक तरुण विभाग का केन्द्रिय सदस्यहुन //)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here