रौतहट १,कार्तिक /
आजबाट नेपालीहरुको महान चाड बडा दशैं सुरु भएको छ । दशैंको पहिलो दिन आज घटस्थापना हो ।पौराणिक र तान्त्रिक महत्वलाई दृष्टिगोचर गरी दूर्गा भवानीको कृपा तथा आशिर्वाद प्राप्त गर्नका लागि विजयादशमी मनाउने शास्त्रीय विधान छ । शुद्ध माटो तथा गोबरले घर शुद्ध बनाएर शास्त्रीय विधि अनुसार शुभ मुहूर्तमा घडा स्थापना गरी घडाको नजिक सप्तधान्य (जमरा) बीजारोपण गरी नौ दिनसम्म विभिन्न नामले शक्तिको पूजा आराधना गरिन्छ । त्यस पश्चात् प्रसाद स्वरूप दशमीको दिन लगाउने टीकाबाट धर्म, अर्थ, काम र मोक्ष प्रदायक हुने कुरा देवी भागवतमा बताइएको छ ।आषाढ शुक्ल, आश्विन शुक्ल, माघशुक्ल र चैत्र शुक्ल गरी वर्षमा चारवटा नवरात्रहरू पर्ने गर्दछन् । यी चार नवरात्रहरूमा आषाढ शुक्ल र माघ शुक्लपक्षका तिथिहरुलाई ‘गुप्त नवरात्र’ भनिन्छ । यी नवरात्र साधकहरूका लागि उपयोगी मानिन्छन् । चैत्र शुक्ल र आश्विन शुक्लपक्षमा आम मानिसहरूले शक्तिको आराधना गर्ने गर्दछन् ।सावधानीपूर्वक विधि अनुरूप विभिन्न रूपको पूजा गरेमा विभिन्न मनोभिलाषा पूरा हुने बताइएको छ । शैलपुत्री, ब्रहृमचारिणी, चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्री, महागौरी, शिद्धिदात्री गरेर नवदुर्गाको क्रमशः पूजा गर्ने गरिन्छ । विशेष गरेर महाकाली, महालक्ष्मी र महासरस्वतीको आराधना यस पर्वमा गरिन्छ ।देवीलाई जौको जमरा मनपर्ने भएकाले घटस्थापनाको दिन विधिपूर्वक जौँ, गहुँ तथा मकैलाई माटोमा छरिन्छ र टीकाको साइतमा जमरालाई फूलको रूपमा प्रयोग गर्ने चलन छ । जमरालाई समृद्धिको प्रतीक मानिन्छ । त्यसैले टीकाको दिन आफूभन्दा मान्यजनको हातबाट टीका ग्रहण गर्दा पहेँलो जमरा नै प्रयोग गरिने हुनाले जमरा उमार्न शुद्ध माटो प्रयोग गरिन्छ ।पूजा गर्दा नौ दिनसम्म कुन-कुन दिन कसको र के-के सामग्री अर्पण गरी पूजा आराधना गर्ने भन्ने कुराको विशेष ख्याल राख्नुपर्दछ । वैदिक विधिपूर्वक दियो, कलश र गणेश स्थापना गरी नदी वा चोखो स्थलबाट बालुवा अथवा माटो ल्याई गाईको गोबरले लिपपोत गरिएको पूजाकोठा अथवा दशैं घरमा विधिपूर्वक दीप, कलश स्थापना गरी षोडशोपचारले पूजा हुने गर्दछ। सोही कलशमा महाकाली, महालक्ष्मी, महासरस्वती दुर्गा भगवतीको षोडशोपचारले आह्वान पूजन हुने गर्दछ । यसरी पूजन पश्चात् सप्तधान्य छर्नु पर्दछ । भगवती दूर्गा देवीका विभिन्न उपासना मन्त्रले आह्वान पूजन गरी दुर्गा सप्तशतीको पाठ पारायण नित्य गर्नु पर्दछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here