रौतहट ३०,असोज /
इमोमार्फत चिठ्ठा पर्‍यो भनेर ठगी गर्ने रौतहट र पर्साका तीनजनालाई प्रहरीले पक्राउ गरेको छ। रौतहटको दुर्गा भगवती गाउँपालिका–६ का १८ वर्षीय सुमन झा, देवहानी गोनाही–६ का ५० वर्षीय सोनालाल ठाकुर र पर्साको वीरगञ्ज महानगरपालिका–१६ नगवाका १८ वर्षीय राजनारायण चौरसियाले इमोमार्फत चिठ्ठा पर्‍यो भनेर ठगी गरेको आरोपमा गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख एसपी गणेश चन्दले जानकारी दिनुभयो। उनीहरुले दाङको लमही नगरपालिका–५ की दुईजना महिलालाई इमोमार्फत चिठ्ठा पर्यो भनेर ठगी गरेका थिए। असोज २२ मा पीडित महिलाहरुले जिल्ला प्रहरी कार्यालयमा निवेदन दिएपछि खोजतलाका क्रममा उनीहरुलाई पक्राउ गरेको जनाएको छ। जिल्ला प्रहरी कार्यालय दाङको प्रहरी टोलीले रौतहट प्रहरीको सहयोगमा दुईजना र पर्सा प्रहरीको सहयोगमा एकजनालाई पक्राउ गरेको हो।उनीहरुले ठूलो धनराशिको प्रलोभन देखाइ आइएमई तथा विभिन्न व्यक्तिको बैंक खातामार्फत ६३ हजार रुपैयाँ पठाउन लगाएका थिए। उक्त रकम पठाइसकेपछि पनि पुनः फोन, म्यासेज, भ्वाइकलका माध्यमबाट थप रकम पठाउन बारम्बार आग्रह गरेपछि महिलाहरुले प्रहरी कार्यालयमा निवेदन दिएका थिए। सोही निवेदनको आधारमा प्रहरीले अनुसन्धान अघि बढाउँदा रौतहट र पर्सा जिल्लाबाट उनीहरुलाई पक्राउ गरेको प्रहरी प्रमुख एपसी चन्दले बताउनुभयो । पक्राउ परेका व्यक्तिहरुलाई सात दिनको म्यादथप गरी अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here