पर्सा २२,असोज /

प्रदेश नं. २ को विभिन्न ठाउमा अनसनरत डाक्टर गोविन्द केसीको जीवन रक्षाको माग गर्दै केसीका समर्थकहरुले प्रदर्शन गरिरहेका छन्।
वीरगञ्जका सचेत नागरिक समाजमा आबद्ध चिकित्सक, अधिकारकर्मी, विभिन्न सामाजिक संघ संस्था र राजनीतिक दलका व्यक्तिहरुले आज दोस्रो दिन पनि स्वास्थ्य शिक्षा क्षेत्रमा सुधारको लागि १९ औं पटक अनसन गरिरहेका प्राध्यापक डाक्टर गोविन्द केसीको जीवन रक्षाको माग गर्दै प्रदर्शन गरेका छन्। डाक्टर केसीले उठाएको मुद्दाहरुलाई सम्बोधन गर्ने माग गर्दै शान्तिपूर्ण प्रदर्शन गरेका हुन् ।स्वास्थ्य तथा स्वास्थ्य शिक्षा क्षेत्रमा रहेका विभिन्न समस्या र बेतिथिहरुलाई समाधान गर्ने माग राखेर १९ औं पटक अनसन गरिरहेका डाक्टर केसीको जीवन रक्षाको लागि सरकारले कुनै पहल समेत नगरेको प्रदर्शनकारीहरुले आक्रोश व्यक्त गरेका थिए ।
अनसन ऐक्यबद्धता जनाउन पुगेका अभियानकर्ता एवम् जनता समाजवादी पार्टीका युवा नेता ओमप्रकाश सर्राफले डाक्टर केसीको मागहरुलाई सम्बोधन नगरेर सङ्घीय सरकारले मेडिकल माफियाहरुको संरक्षणमा लागेको आरोप लगाउनुभयो। माफियालाई कारवाही गर्नुको सट्टा प्रधानमन्त्री र देशका वरिष्ठ नेतासमेत माफियालाई जोगाउनु दुर्भायापूर्ण भएको उँहाले बताउनुभयो।
यसैबीच, सरकार र डाक्टर गोविन्द केसी पक्षबीच आज वार्ता हुने भएको छ । हिजो दुवैपक्षले वार्ता टोली गठन गरेलगत्तै आज छलफलमा बस्ने तयारी भएको हो ।तर समय भने तय भइसकेको छैन । सरकारी टोलीका संयोजक शिक्षा सचिव गोपीनाथ मैनालीले आफू दिउँसो २ देखि ४ बजेसम्म हुने सार्क मन्त्रीस्तरीय बैठकमा सहभागी हुनुपर्ने भएकाले त्यसपछि बैठक बस्ने योजनामा रहेको बताउनुभयो।
यसैगरी अनसनरत डा.केसीको समर्थनमा बुधबार प्रदेश नम्बर २ को अस्थायी राजधानी जनकपुरधाममा पनि युवाहरुले प्रदर्शन गरेका छन् । कोभिड–१९ क्विक रेस्पोन्स टिम र स्थानीय युवाहरुको संयुक्तरुपमा रामानन्द चोकमा बुधबार साँझ डा. केसीको समर्थन र सरकारविरुद्ध विरोध प्रदर्शन गरिएको हो ।
डा. केसीका माग जायज हुँदाहुँदै सरकारले बेवास्ता गरेको भन्दै युवाहरुले सडक अवरुद्ध गर्दै प्रदर्शन गरेका छन् । डाक्टर केसी १९ औं पटकसम्म अनसनमा बसेपनि उँहाको माग पुरा नहुनु दुःखद रहेको नेपाल तरुण दल धनुषाका उपाध्यक्ष राकेश बिक्रम साहले बताउनुभयो ।
डाक्टर केसीले चिकित्सा शिक्षा सुधारलगायतका मागसहित भदौ २९ गते जुम्लाबाट १९ औं अनसन सुरु गरेका थिए । उनलाई असोज ६ गते काठमाडौं लगिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here