सर्लाही २५,भदौ /
बागमती नगरपालिकाको कार्यालयमा मेयर बिरुद्ध एक परिवार आमरण अनसनमा बसेको छ। नगरप्रमुखको सम्पत्ति छानबिन हुनुपर्ने लगायत विभिन्न ७ बुँदे माग राख्दै बागमती नगरपालिकाको कार्यालयमा हिजो (बुधबार)बाट एक परिवार आमरण अनसनमा बसेको हो ।गत वर्ष प्रहरी कारवाहीमा मारिएका बागमती नगरपालिका–२, धरहरा निवासी विप्लव समूहका तत्कालिन जिल्ला इन्चार्ज कुमार पौडेलकी आमा दुर्गादेवी पौडेल, पत्नी धनकुमारी खड्का पौडेल र भाई हरिकृष्ण पौडेल बुधबार बिहान १० बजेबाट नगरपालिका कार्यालयको प्राङ्गणमै अनसनमा बसेका हुन् ।सम्पत्ति शुद्धिकरण आयोगबाट नगर प्रमुख भरतकुमार थापाको सम्पत्ति छानबिन हुनुपर्ने, नगरपालिकामा विकास निर्माणको कामका शिलशिलामा अनियमितता भएकाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट छानबिन हुनुपर्ने, बागमती नदीको अवैध उत्खनन रोकेर दोषीलाई कारवाही गर्नुपर्ने, बुढी बागमतीमा पोखरी खन्दा निस्किएको गिट्टी बालुवा बिक्रीबाट भएको आम्दानीको हरहिसाव पारदर्शी गर्नुपर्ने लगायत पौडेल परिवारको ७ बुँदे माग छ । मागका सम्वन्धमा मौखिक र लिखित रुपमा पटक–पटक जानकारी गराउँदा पनि सुनुवाई नभएपछि बुधबारबाट बाध्य भएर आमरण अनसनमा बस्नु परेको दिवंगत पौडेलका भाई हरिकृष्ण पौडेलले जानकारी दिनुभयो ।
यता नगरपालिका कार्यालयले भने सूचनाको हक सम्बन्धी ऐन अनुसार लिखित रुपमा माग भए नगरपालिकाबाट भए गरेका सम्पूर्ण काम कार्बाहीका बारेमा सूचना दिन सकिने जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here