• सितल गिरी
    द्रूत गतिले बदलिंदो सामाजिक परिवेशमा कहिलेकाही हाम्रो संस्कृति विलीन हुँदै गएको महसूस हुन्छ । संस्कृति र सामाजिक परिवर्तनमा धेरै हदसम्म युवापिढीले मुख्य भूमिका वहन गर्दछ । कहिलेकाहीं यस्तो परिवर्तनलाई समयको अनुकूल भनिन्छ त कहिले यस्तो बदलिदो परिवेशलाई हेरेर ‘नेपाली संस्कृति लोप हुन लाग्यो’ भन्ने आवाज उठ्न थाल्दछ ।
    केही यस्तै नै परिस्थितिमा रहेका युवापिढीको प्रतिनिधित्व गरेर युवायुवतीहरूका समूहबीच देखापर्दै र फूल्दै आएको नवीन संस्कृति ‘पत्रमित्रता’ को विषयमा केही चर्चा गर्नु उपयुक्त होला । युवा वर्गले आफ्नो जीवनलाई सार्थक र सही रूप दिनको लागि आफूभित्रको सम्पूर्ण साहसलाई संगाली यस बदलिदो युगको साथ पाइलामा पाइला मिलाउँदै हिड्नुपर्दछ । पुरानो मान्यतालाई नतोडी समाजमा सम्मानित स्थान पाऊन निकै गाह्रो पर्छ । यो सत्य होइन कि, पत्रमित्रता गर्नेहरू वाहियात हुन्, क्षणिक मनोरन्जन निमित्त मात्र उनीहरू त्यसो गर्छन् अझ भन्ने हो भने चरित्रहीन हुन्छन् भन्नु मात्रै ठीक होइन ।
    वास्तवमा मानिसहरूको मनमा यो गलत धारणाले वास गरेको छ कि अपरिचित युवायुवतीबीच पत्राचार हुनु घटिया कुरा हो, पत्राचार गरिनु हुँदैन, युवायुवतीबीच कुराकानी हुनु गलत कुरा हो इत्यादि । यदि समाजले युवायुवतीप्रतिको दृष्टिकोण सही बनाउन सक्यो भने युवा समुदायमा हुने गरेको व्याभिचारमा पनि कमी आउँछ । युवायुवतीहरूमा एक अर्काको शारीरिक बनावट, सम्पन्नतालाई नै सब थोक ठान्ने जुन प्रवृति अहिले छ, यसको अन्त हुनसक्छ । यस्तो हुनुको मूल कारण युवा समुदायमाथिको अनावश्यक नियन्त्रण हो ।
    केही शिक्षित व्यक्तिहरू नारीलाई बढी स्वतन्त्रता दिनु ठीक होइन भनी वकालत गर्छन् । परिवर्तित समयको साथसाथै युवा युवतीहरूले आफ्नो मनोभाव अपरिचित मित्रसामु राख्नु, आफ्नो केही गोपनीय समस्या बताएर समाधान चाहनु, सही सुझावअनुसार आफूभित्रको प्रतिभा समाज सामु राख्नु, स्थान विशेषको राम्रो जानकारी लिनु र अझ भनौं पत्रलेखनको माध्यमबाट भाषा र शैली सुधार गरी साहित्यिक क्षेत्रमा प्रवेश गर्नु राम्रो कुरा हो । पत्रमित्रता गर्ने केही युवायुवतीहरूको विचार स्वच्छ नहुन सक्छ, एक दुई जनाले गल्ती गर्न सक्छन् ।
    तिनै युवायुवतीले सत्यलाई कुल्चने असफल प्रयास गरी मित्रताको नाममा कलंकको टीका लगाउँदछन् जसलाई समाज र संस्कृतिसँग कुनै सरोकारै हुँदैन । असल पत्रमित्रको सही सुझाव, उत्साह पाएर पत्रमित्रताको महत्व केही युवाहरूले समाजमा नझ्ल्काएका होइनन् । आज लाखौं युवा समुदायबीच पत्रमित्रता चलिरहेछ र एक अर्काको भावना अनुरूप वैवाहिक सम्बन्ध कायम भई सफल घरगृहस्थी चलाइरहेका पनि छन् ।
    तराईका केही जातिहरूबीच रहेको पर्दाप्रथा पनि युवायुवतीबीचको भावना छेक्ने कुप्रथा हो र नारीलाई पुरुष सरह समान अधिकारबाट बञ्चित गर्न नै सो प्रथा लागु गरिएको हो । आजका नारीहरू स्वयम्ले आफ्नो प्रतिभा, भावना र अस्मितालाई सुरक्षित राखी उज्यालो भविष्यतिर लम्कनुपर्दछ । आज जुन नारीमा पुरुषहरूसँग बोल्न नचाहने, परपर हट्ने प्रवृत्ति छ तिनले आफ्नो जीवनलाई दासीको रूपबाट माथि उठाउन सक्तैनन् भन्दा बढ्ता नहोला ।
    नारी पुरुषको भावना सही रूपमा स्वस्थ किसिमले एक अर्कासमक्ष पु¥याउने भरपर्दो, सजिलो तर महत्वपूर्ण साधन पत्रमित्रता हो । पत्रमित्रता गर्नेहरूले एक अर्काको विचारको गहराइमा पुग्न सकदछन् र जीवनको सत्यलाई सजिलोसँग बुझ्दछन् । स्नेह, प्रेम, सुमधुर सम्बन्धको परिवेशमा स्वार्थरहित निष्कलंक मित्रतालाई सुरक्षित राख्न सक्दछन् ।
    कतिपय युवतीहरू पत्रमित्रताको नाम सुन्नेवितिकै तीनकोष पर भाग्छन्, केही उच्छृङ्खल युवकहरू विभिन्न पत्रिकामा सुन्दर युवतीहरूको ठेगाना हेर्छन् र बजार शब्दलेखी पत्र पठाउँछन्, जुन पत्रमा यौन इच्छाको चाहना अप्रत्यक्ष रूपमा उल्लेख हुन्छ । त्यस्तो तल्लो स्तरको व्यवहारले पत्र मित्रताप्रति उत्साहित हुन चाहेका युवतीहरूमा नराम्रो असर पालेर बस्ने वातावरण बन्नु भनेको युवाजमातको भविष्य नै अन्धकार बन्नु हो, साथै समाज पनि प्रगति पथमा बढ्न नसक्नु हो । पत्रमित्रताको नाममा कलंक बनेकाहरूलाई वास्ता नगरी आफ्नो भावनाद्वारा राम्रो शैलमिा पत्रमित्रता प्रस्तुत गर्नु नै समयलाई सदुपयोग गर्नु हो र यस माध्यमबाट असलमित्र प्राप्त गर्नु हो ।
    आजको आधुनिक परिवेशमा पत्रमित्रताको आवश्यकता त छ तर सीमाभित्र रहेरमात्र पत्राचार गर्नुपर्छ । जहाँसम्म पत्राचारको कुरा छ, एक अर्काको हालखबर बुझ्ने औपचारिकता तथा आफूलाई विद्वान देखाउन कठिन शब्दको प्रयोग आवश्यक छैन । युवतीलाई लेख्ने पत्र भनेको दोहोरो अर्थ लाग्ने कदापि देखिनु हुँदैन । प्रत्येक युवाले आफ्नो भविष्यबारे त्यतिकै सोच्नुपर्दछ जति घरका मानिसले सोच्दछन् । अतः प्रत्येक युवावर्गको पत्रमा भविष्यको बारेमा लेखिएको हुनुपर्दछ । कहिले देशमा घटेका कुनै घटनाको बारेमा, त त कहिले समाज, साहित्य, राजनीति, शिक्षा इत्यादिको बारेमा पनि विचारहरू आदान–प्रदान गर्नुपर्दछ । युवा समुदाय बालक होइन, जब कसैले भन्छ, अनिमात्र पत्र लेख्न बस्ने । आफ्नो राम्रो नराम्रो सम्झिन सक्छ । यसैकारणले युवक र युवतीबीच पत्रको माध्यमले असल मित्रता कायम हुन सक्दछ । युवा समुदाय शिक्षित छ भने उनीहरूले साथी किन नबनाउने ? जहाँसम्म समाजमा गलत प्रभाव पर्ने कुरा छ, त्यो व्यक्तिको आचरणमा भर पर्दछ, त्यस्तासँग टाढै बस्नुपर्छ चाहे ती युवक हुन् वा युवती । जीवनको वास्तविक कटु मधुर अनुभव पोखिएको पत्र उच्चकोटिको साहित्य भन्दा कम प्रभाविलो हुन्न । यस्तो पत्राचारमा आनन्द आउँछ । वर्तमान समयमा समाजमा पत्रमित्रतालाई फेसनको रूपमा लिइएको छ । हिजोआज राम्रानराम्रा जस्तोसुकै भावना समेटेको युवासमुदाय पनि पत्राचार गर्न तम्सिरहेछ । तर यो पत्रमित्रताको फेसनमा धेरैजसो युवतीकहाँ नै पत्र लेखिने गरिन्छ, दोहोरो अर्थ लाग्ने पत्र युवतीका अभिभावकले प्राप्त गरेको अवस्थामा निरपराध युवतीले सजाय भोग्नुपर्छ । मानीलिउँ, मिथिलालाई चार जनाले पत्र लेखे, एक जनाको पत्र राम्रो आसयको थिएन तर त्यो पत्र समाजको कुनै त्यस्तो मान्छेको हात प¥यो भने बदनाम गराउन त्यो पत्र नै काफी हुन्छ र हाम्रो समाजले सत्य बुझ्ने प्रयत्न पनि गर्दैन । अतः पत्र लेख्दा (खासगरी युवतीहरूलाई) थुप्रै कुरामा ध्यान दिनुपर्छ, रोमान्टिक मुडमा लेखिएको पत्रले अर्को पक्षलाई निकै हानि पनि पुर्याउन सक्छ । जहाँसम्म युवासमुदायको कुरा छ— उनीहरूले स्वयम् यस कुरामा बढी ध्यान राख्नुपर्दछ कि कसलाई कसरी संबोधन गर्ने, कसको पत्रको जवाफ दिने, कसको पत्र संग्रह गरी राख्ने । एउटा विशेष कुरा युवतीहरूले पनि सोच विचार गरेर आफ्नो मित्र (युवक) बनाउनुपर्छ । खासगरी हेर्ने हो भने केही युवक तथा युवतीहरू समूह बनाएर अपरिचित व्यक्ति (युवक अथवा युवती) को भावनासँग खेलवाड गर्न मात्र पत्राचार गर्ने गर्छन् । तर आजको आधुनिक संस्कार भनेको पत्रमित्रतालाई मनोरञ्जनको साधन बनाउनु होइन, अपरिचित व्यक्तिलाई असल मित्र, दाजुभाइ, दिदीबहिनी या जीवन साथी बनाउनु हो । आजको युग युवाहरू (युवक युवती) काँधमा काँध मिलाएर भविष्य निर्माणतर्फ सम्कने युग हो र आफ्नो भविष्य निर्माण गर्न पहन गर्नु प्रत्येक युवाको कत्र्तव्य पनि हो । अझ सकिन्छ भने गलत चिन्तन बोकेकाहरूलाई पत्राचारद्वारा सही दिशाबोध गराउनु पनि हो । तबमात्र आजको परिस्थितिमा युवा समुदायले सफलता प्राप्त गर्न सक्छ । पुनश्चः युवापिढीलाई त्यस्तो पत्रमित्रको आवश्यकता छ जसले युवा हृदयको मानसिकतालाई बुझ्न सकोस् । युवापिढीका नै केही व्यक्ति या समाजका वुद्धिजीवी, लेखक, कविहरूले पत्रमित्रता गर्न चाहने उत्साही युवाहरूसँग मित्रता गाँसी उनीहरूलाई मार्गदर्शन गराउँदै युवा मानसिकतामा स्वच्छ, स्वस्थ पत्राचार (पत्रमित्रता) गर्नु आजको आवश्यकता हो ।
    (लेखक गिरीको प्रकाशित कृति पत्रमित्रता आजको आवश्यकताबाट )

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here