अस्ट्रेलिया ४,फागुन
अस्ट्रेलियामा सोमबार दिउँसोसम्म ३७५ जना कोरोना भाइरसबाट संक्रमित बिरामी फेला परेका छन् । ५ जनाको मृत्यु भएको तथ्यांक सार्वजनिक भएको छ ।अष्ट्रेलियामा एक जना नेपालीमा समेत कोरोनाको संक्रमण देखिएको छ । नेपालीमा नै कोरोनाको संक्रमण देखिएपछि कूटनैतिक नियोगहरु, सामाजिक संस्थाका र व्यवसायीहरुले सचेतना र सतर्कता अपनाएको बताएका छन् ।
एकभन्दा धेरै नेपालीमा कोरोना फैलिएको आशंका गरिए पनि अस्ट्रेलियाका लागि नेपाली राजदूत महेशराज दाहालले तास्मानिया राज्यमा एक जना नेपालीलाई मात्रै कोरोना देखिएको बताए ।ती व्यक्तिलाई हाल तास्मानियाको एउटा होटेलको आइसोलेसनमा राखिएको छ । उनको अवस्था अहिले राम्रो रहेको राजदूत दाहालले बताए ।यसबाहेक अस्ट्रेलियाका अन्य राज्यमा बसोबास गरेका कुनै पनि नेपालीमा सोमबारसम्म कोरोना संक्रमणको खबर नभएको बताए ।उनले नेपाल सरकारले जारी गरेका सतर्कता सम्बन्धी सूचनाहरु अस्ट्रेलियाको नेपाली समुदायका लागि दूतावासले सार्वजनिक गरेको जानकारी दिए ।गैरआवासीय नेपाली संघ अन्तर्रास्ट्रिय समितिका पूर्वअध्यक्ष शेष घलेले अस्ट्रेलियाका नेपालीहरुलाई संयम रहन र अस्ट्रेलियाको केन्द्रीय सरकार तथा राज्य सरकारका स्वास्थ्य सम्बन्धी निर्देशनहरु पालना गर्न सुझाव दिए ।
उनले शिक्षा क्षेत्रमा रहेका नेपाली हरुले पहिले आफ्ना विद्यार्थी, शिक्षक र कर्मचारीको स्वाथ्यलाई प्राथमिकतामा राख्न पनि अनुरोध गरे । ‘हामीले अस्ट्रेलियाले दिएको अवसरबाट व्यवसायलाई राम्रो गरेका छौं । अहिले संसारभर स्वास्थ्य संकटकाल भए पनि छिट्टै विश्वले यो संकटलाई पराजित गर्ने र सबै व्यवसायहरु फेरि राम्रो बन्ने छन्,’ उनले भने ।अस्ट्रेलियाका पहिलो नेपाली कानून व्यवसायी डा शम्सेरसिंह थापाले यहाँका नेपालीहरुलाई स्वास्थ्य संकटकाल सम्बन्धी ध्यान दिनुपर्ने कानूनी तथा व्यवहारिक विषयमा यहाँस्थित नेपाली कूटनीतिक निकायहरुले पर्याप्त जानकारी दिनुपर्ने दायित्व भएको बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here