सर्लाही ३०,फागुन
सर्लाहीको बागमती ११ कर्मैया स्थित स्व. सन्तोष स्मृति खेलमैदानमा भइरहेको चौथो संस्करणको राजर्षि जनक कप फुटबल प्रतियोगितामा बिहीबार भएको खेलमा प्रभु जाउलाखेल यूथ क्लब विजयी भएको छ। जाउलाखेलले २-० गोल अन्तरले यूनाइटेड कुरसोङ फुटबल क्लब दार्जिलिङलाई पराजित गर्दै प्रभु जाउलाखेलले सेमिफाइनलको यात्रा सुनिश्चित गरेको हो। खेलको १३ औं मिनेटमा यूनाइटेडका जर्सी नम्बर ६ का प्रसान्त राइको खट्टाबाट बल खोस्दै जाउलाखेलका जर्सी नम्बर १७ का रुपबहादुर लामाले डिबक्सभन्दा बाहिरबाट गरेको प्रहार गोल गर्दै टीमलाइ एक गोलको अग्रता दिलाएका थिए । त्यस्तै, खेलको ६७औँ मिनेटमा जाउलाखेलकै जर्सी नम्बर २१ का सुजित बुढाथोकीले दिएको पासलाई जाउलाखेलकै जर्सी नम्बर ७ का विदेशी खेलाडी फोफोनाले थप अर्को गोल गर्न सफल भएका थिए । पहिलो गोलकर्ता रुपबहादुर लामा बिहीबार खेलमा म्यान अफ दी म्याच घोषीत भए। उनले नगद १० हजार, एकजोर बुट र टफ्री प्राप्त गरे। यसैबीच प्रतियोगिताअन्तर्गत शुक्रबार नेपाल पुलिस क्लब काठमाडौं र सुदूरपश्चिम-११ बीच भिडन्त हुने आयोजक बागमती युवा क्लबका अध्यक्ष किस्मत मैनालीले जानकारी दिए। ‘प्रदेश-२ को शान, राजा जनकप्रतिको सम्मान’ भन्ने नारासहित सुरु प्रतियोगिताको आगामी चैत २ गते फाइनल खेल हुने आयोजक बागमती युवा क्लबका अध्यक्ष किस्मत मैनालीले जानकारी दिए। दुई विदेशी क्लबसहित १२ वटा टिम सहभागि प्रतियोगिताका विजेताले नगद १० लाखसहित प्रथम उपाधी प्राप्त गर्नेछ भने उपविजेताले ५ लाख रुपैयाँ प्राप्त गर्नेछ।