चीनले बिहीबार कोभिड–१९ (कोरोनाभाइरन) बाट २९ जनाको मृत्यु भएको जनाएको छ । चीनमा हालसम्म कोरोनाभाइरसका कारण दुई हजार सात सय ४४ जनाको ज्यान गइसकेको त्यहाँ स्थित स्वास्थ्य विभागले जनाएको छ ।

त्यसैगरी, दक्षिण कोरियामा ३३४ नयाँ संक्रमित फेला परेका छन् । दक्षिण कोरियामा कोरोनाको संक्रमितको संख्या एक हजार पाँच सय ९५ पुगेको छ । चीनपछि यो सबैभन्दा बढी संक्रमितको हुनेको संख्या हो ।

चीनको स्वास्थ्य विभागको तथ्यांक अनुसार बुधबार कोरोनाका कारण २९ जनाको मृत्यु भएको छ । त्यसअघि चीनमा २९ जनवरीमा २६ जनाको ज्यान गएको थियो । समाचार एजेन्सी एएफपिका अनुसार पछिल्लो तीन दिनदेखि लगातार उक्त भाइरसबाट ज्यान गुमाउने संख्यामा कमी आएको छ । विभागका अनुसार चीनमा कोरोनाभाइरसको संक्रमित संख्या ७८ हजार पाँच सय पुगेको छ ।

चीनपछि कोरोनाभाइरसले दक्षिण कोरियामा सबभन्दा बढी आंतक मचाएको छ । सञ्चारमाध्यका अनुसार दक्षिण कोरियामा एक हजार पाँच सय ९५ संक्रमित फेला परेका छन् । दक्षिण कोरियामा उक्त भाइरसका कारण ज्यान गुमाउनेको संख्या १३ पुगेको छ । कोरोना तीव्र रुपमा फैलिरहेकोले अमेरिका-दक्षिण कोरियाको संयुक्त सैन्य अभ्यास अर्को सूचना नआउञ्‍जेलसम्मका लागि स्थगित गरिएको छ ।

पाकिस्तानमा समेत कोरोनाभाइरसका दुई संक्रमित फेला परेका छन् । प्रधानमन्त्री इमरान खानका विशेष सहायक डाक्टर जफर मिर्जाले उक्त कुराको जानकारी दिएका हुन् । सञ्चारमाध्यमका अनुसार उनले भने, ‘डराउनु पर्ने अवस्था छैन । स्थिती नियन्त्रणमा छ । संक्रमित दुवैजना इरानबाट फर्केका हुन् । उनीहरुलाई विशेष जाँचमा राखिएको छ ।’

पाकिस्तानले इरानसँग जोडिएका आफ्नो सीमा सबै बन्द गरेको छ । इरानमा समेत कोरोनाभाइरसका कारण १९ जनाको मृत्यु भइसकेको छ । त्यस्तै त्यहाँ एक सय ४० जनामा उक्त भाइरसको संक्रमण फेला परेको छ । सञ्चारमाध्यमका अनुसार हालसम्म ३९ जना उक्त भाइरसबाट संक्रमण मुक्त भइसकेका छन्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here