बारा २५ भदौ । लामखुट्टेको टोकाईबाट लाग्ने डेंगु रोगले दशैभर महामारीको रुप लिँदै गएपछी बाराको जीतपुरसिमरा उपमहानगरपालिकाले डेंगु भित्रिनै नदिन अभियान नै सञ्चालन गर्ने भएको छ ।

उपमहानगरपालिकाको बिपद् ब्यवस्थापन समितिको सोमबार बसेको बैठकले डेंगु रोग नियन्त्रणका लागि नगर क्षेत्रभित्र दुई हप्ते अभियान सञ्चालन गर्र्ने निर्णय गरेको हो । नगर प्रमुख एवम् बिपद ब्यवस्थापन समितिका संयोजक डा. कृष्ण पौडेलको अध्यक्षतामा बसेको उपमहानगरपालिकाको कार्यालयमा बसेको बैठकले १५ दिन सम्म नगरभित्रका २४ वटै वडासमितिको अगुवाईमा स्थानिय सामाजिक संघसंस्था, युवा क्लब, सामुदाय प्रहरी साझेदारी समिति, अन्य सुरक्षा निकाय, सञ्चारकर्मी, उद्यमी, ब्यवसायी, समाजसेवी, शिक्षक, कर्मचारी आदि सबै वर्ग, क्षेत्र र समुदायको सहभागीतामा निरन्तर सरसफाई एवम् जनचेतनामुलक कार्यक्रम संचालन गर्ने निर्णय गरेको हो ।

बैठकले उपमहानगरपालिकाको क्षेत्रभित्र रहेको सरकारी तथा निजि स्वास्थ्य संस्थालाई डेंगु रोग रोकथामका लागि आफ्नो क्षेत्रबाट अग्रसरता देखाउन र आवश्यक औषधीको ब्यवस्था मिलाउन ध्यानाकर्षण गराउने र स्वास्थ्य संस्थाकै समन्वयमा लामखुट्टे मार्ने औषधी छर्न ब्यवस्था मिलाउने निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत शिवराज सेढाईले जानकारी दिए ।

यसैगरी बैठकमा सहभागी डा. अनुस थाले डेंगुबाट बच्न लामखुट्टेको बासस्थान नष्ट गर्ने, पानी जमेको र राखिएको भाँडा छोप्ने वा नष्ट गर्ने, लामखुट्टेले अण्डा पार्न सक्ने ठाँउ टायर नष्ट गर्ने, शरीरमा लामखुट्टे भगाउने क्रिम लगाउने, शरीर ढाक्ने गरी कपडा लगाउने, राती झुल टांगेर सुत्ने, र बस्तीको सरसफाईमा ध्यान दिन सकिएमा पनि सुरक्षित रहन सकिने बताए ।बैठकमा प्रहरी नायब उपरिक्षक गोविन्द पुरी, सशस्त्र प्रहरी निरिक्षक बिष्णुराज उप्रेती, अनुसन्धान अधिकृत दिपक चौधरी, रेडक्रस सोसाईटी सिमराका रामकुमार उप्रेती, उपमहानगरपालिकाका स्वास्थ्य शाखाका जितन ठाकुर, ईन्जिनियर सञ्जिब रुपाखेतीलगायत उपस्थित थिए ।

नगर प्रमुख डा. पौडेलले डेंगु रोगको प्रकोप फैलन नदिनका लागि बैठकबाट भएका निर्णयलाई तत्काल कार्यान्यवनमा लगिने जानकारी दिनुभएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here