रौतहट २३ साउन । शिक्षकको लागि पठाएको उपहारको किताब विक्री गरेर चन्द्रपुर नगरपालिकाका अधिकांश पुस्तक पसलेले विद्यार्थी ठग्ने गरेको पाइएको छ ।

पुस्तक पसलेलाई सम्बन्धित विषयका शिक्षकलाई दिनु भनि पुस्तक प्रकाशन तथा वितरकले निशुल्क उपलब्ध गराएको त्यस्ता किताब पसलेले विक्री गरी विद्यार्थी ठग्ने गरेको पाइएको हो । पुस्तक पसलेले कक्षा ११ र १२ मा अध्यापन गराईने विभिन्नि संकायको विभिन्न विषयका ‘कम्प्लिमेन्ट्री’ (पूरक) किताब विक्री गरी अनैतिक लाभ उठाइरहेका छन् ।

पुस्तक पसलेले एसईई परीक्षाको नतिजा प्रकाशन पछि कक्षा ११ मा भर्ना भएका विद्यार्थी र कक्षा १२ मा अध्ययनरत अधिकांश विद्यार्थीलाई शिक्षकको लागि उपलब्ध गराएको उपहारका किताब विक्री गरेको पाइएको जनज्योति माध्यमिक विद्यालय चन्द्रनिगाहपुरका एक शिक्षकले बताए ।

उनका अनुसार सम्झना, अस्मिता, जुपिटर एवं बुद्ध प्रकाशन लगायतका ‘कम्प्लिमेन्ट्री’ पुस्तक धमाधम विक्री भइरहेको छ । यो सरसार ठगी हो । जनज्योति मा वि वाणिज्य संकाय कक्षा १२ का विद्यार्थी मात्रिका चौलागाईंले चन्द्रपुर–५ स्थित अर्याल पुस्तक पसलबाट खरिद गरेका सम्झना पुस्तक प्रकाशनको ‘लेखा विधिको सिद्धान्त’ किताबमा ‘कम्प्लिमेन्ट्री’ को छाप लागेको छ । उनले पुस्तकमा उल्लेखित मूल्य ७७५ रुपियाँ पुरै चुक्ता गरी खरिद गर्नु भएको बताए । दाममा केही कम गर्न आग्रह गर्दा पसलेले नमानेको उनले बताए । शिक्षकले ‘कम्प्लिमेन्ट्री’ को छाप लागेको पुस्तक विक्रीको लागि हैन भनेपछि फिर्ता गर्न गएका विद्यार्थी मात्रिकाको किताब पसलेले फिर्ता गर्न नमानेको गुनासो छ ।

यस्तै कक्षा १२ कै अर्का विद्यार्थी संझना चौधरीले ‘कम्प्लिमेन्ट्री’ छाप लागेको जुपिटर प्रिन्टिङ्ग एण्ड पब्लिसिङ्ग हाउस प्रा लीको किताब ‘बजार शास्त्र’ खरिद गरेकी छिन् । सम्बन्धित शिक्षकले उक्त पुस्तक विक्रीको लागि हैन भनेपछि फिर्ता गर्न पुगेकी उनलाई पसलेले अर्को किताब उपलब्ध गराइदिने आश्वासन दिए ।

यस्तै ठगी कक्षा ११ का शिक्षा, वाणिज्य तथा अन्य विषयका किताबको विक्रीबाट भइरहेको छ । जनज्योति मा वि मात्रै नभएर सुबलाल मा वि, सिन्दुरेघारी मा वि, जुडिवेला मा वि लगायत अन्य मा विका केही विद्यार्थीले ‘कम्प्लिमेन्ट्री’ किताब खरिद गरेको सम्बन्धित विद्यालयका शिक्षक बताउँछन् । चन्द्रपुर नगरपालिकामा आधा दर्जन भन्दा बढी पुस्तक पसल छन् । जसले ‘कम्प्लिमेन्ट्री’ किताब पनि विक्री गरिरहेको पाइएको विद्यालय स्रोतको दावी छ ।

अस्मिता पुस्तक प्रकाशन तथा वितरक पुतलिसडक काठमाडौंका बजार व्यवस्थापकले सीमा भण्डारीले विभिन्न संकायका विभिन्न विषयका ‘कम्प्लिमेन्ट्री’ किताब विक्रीको लागि नभई सम्बन्धित विषयका शिक्षकलाई निशुल्क उपलब्ध गराउनको लागि हो भनिन् । उनकाअनुसार ‘कम्प्लिमेन्ट्री’ किताब पसले मार्फत शिक्षकलाई उपलब्ध गराइन्छ । तर पसलेले विक्री गर्न भने पाउँदैनन् ।

यता चन्द्रपुर नगरपालिका भित्र रहेका अधिकांश पुस्तक पसलेले विक्री गर्न राखिएका अन्य पुस्तकसंगै ‘कम्प्लिमेन्ट्री’ किताव पनि राखिएको कारण भुलबस विक्री हुन पुगेको भन्दै गैर जिम्मेवारी तर्क दिएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here