रौतहट २६ असार । बाढीको उच्च जोखिममा रहेका प्रदेश नम्बर २ को अधिकांश जिल्ला मध्ये रौतहट पनि एक हो ।

बाढीबाट हुने डुबान र नदी कटानको कारण वर्षेनी धनजनमा ठूलो क्षति हुँदै आएको छ । हरेक वर्ष विपत्मा पर्दै आएका स्थानीयको जीउधनको सुरक्षाको लागि यस वर्ष स्थानीय प्रशासनले बेलैमा चासो देखाएको छ ।

प्राकृतिक विपत् न्युनीकरण गर्न स्थानीय प्रशासनसहितको टोलीले रौतहट हुँदै बग्ने बागमती, लालबकैया, झाँझ र लमाहा नदीको स्थलगत अध्ययन गरिसकेको छ । प्रमुख जिल्ला अधिकारी (प्रजिअ) किरण थापाको नेतृत्वमा जिल्ला जनपथ एवं सशस्त्र प्रहरी प्रमुख, नेपाली सेना इन्द्रबक्स गणका गणपति, जिल्ला रेडक्रस, ग्रामिण विकास केन्द्र नेपालका प्रतिनिधिसहीतको टोलीले स्थलगत निरीक्षण गरेको हो ।

निरीक्षणको प्रतिबेदनमा उल्लेख भएबमोजिम राजदेवी नगरपालिका कटरवनमा दुई र बसतपुरमा दुई वटा स्पर निर्माण गर्नु पर्ने, दुर्गा भगवती गाउँपालिकाको बडहरवामा च्यानल निर्माण गरी एउटा स्पर निर्माण गर्नु पर्ने, गरुडा नगरपालिकाको लक्ष्मिपुरमा दुई वटा स्पर निर्माण र कटहरिया पुलदेखि उत्तर जंगलसहियासम्मको तटबन्धको उचाई बढाउनु पर्ने, कटहरिया पुल नजिकको बोल्डर परिमार्जन गरी स्पर बनाउनु पर्ने, मौलापुर नगरपालिकाको मर्यादपुरमा स्पर बनाउनु पर्ने, इशनाथ नगरपालिकाको बन्जराहामा तटबन्ध मर्मत गर्नु पर्ने र गौर नगरपालिकामा तटबन्ध मर्मत गर्नु पर्ने देखिएको छ ।

सशस्त्र प्रहरी बल रौतहटले ११ र नेपाल प्रहरीले १५ प्रकारका उद्धार सामाग्री विभिन्न परिमाणमा तयारी अवस्थामा राखेको छ । जिल्ला रेडक्रस सोसाइटीले प्राथमिक उपचार किट, जनशक्ति, भाँडाकुँडा, लत्ताकपडालगायत १९ थरीका उद्धार सामाग्रीको व्यवस्था गरेको छ ।

भारत सरकारले सीमामा निर्माण गरेको लालबकैयातर्फ ८६ र बागमती नदी तर्फ ८४ किलो मिटर बाँधको कारण रौतहटको एक दर्जन भन्दा बढी स्थान डुबानमा पर्ने खतरा उच्च रहेको सरोकारवालाहरुले बताएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here