रौतहट १५ बैसाख//
साहित्य सञ्जाल चन्दरपुर रौतहटको संयोजन तथा चन्द्रपुर नपा ४ को आयोजनामा बृहत साहित्य गोष्ठी शनिवार सम्पन्न भएको छ ।
निमित्त वडा अध्यक्ष प्रेमकुमारी तिमल्सिनाको अध्यक्षतामा भएको उक्त कार्यक्रम संविधानसभा सदस्य रामकुमार भट्टराईको प्रमुख आतिथ्यमा भएको थियोे । उक्त कार्यक्रममा चन्द्रपुर नगरपालिकाका उपमेयर रामरति चौधरी, नेपाली भाषा साहित्यका विशिष्ट व्यक्तित्व डा.राजेन्द्र विमल, तोया घिमिरे, रामस्वरूप रामसागर बहुमुखी क्याम्पसका प्राध्यापक एवम नेपाली विभाग प्रमुख चन्देश्वर लाल कर्ण, प्रध्यापक राधा कोइराला ,साहित्यकार नीला घिमिरे ,राजेश्वरी काफ्ले, लगाएत अतिथीहरुको उपस्थिती रहेको थियो ।
त्यसैगरी साहित्यकार ,कृष्ण विश्वकर्मा , हरिशरण परियार अनमोल कडेँल, यज्ञप्रसाद न्यौपाने , शरद ऋतु , लक्ष्मण आचार्य लगाएतका दर्जन कविहरूले आफ्ना रचनाहरु प्रस्तुत गरेका थिए ।
प्रतियोगितात्मक र कवि प्रसन्न घिमिरेको एकल कविता वाचन गरी दुई चरणमा विभाजित उक्त कार्यक्रममा युवा कवि प्रसन्न घिमिरेले करिब एक दर्जन कविता वाचन गरेका थिए । प्रतियोगितामा वाचित उत्कृष्ट पाँच कविलाइ प्रमाणपत्रसहित नगद पुरस्कार प्रदान गरिएको थियोे । यसरी उत्कृष्ट पाँचमा पर्नेहरूमा रेश्मा पौडेल , सन्ध्या कुमारी चौधरी, निलु जयसवाल,आयुष ढुङ्गेल र आर्या आचार्य रहेका थिए ।
कार्यक्रममा स्वागत मन्तव्य साहित्यकार एवम शिक्षिका रेनुका जिसी खतिवडाले गरेकी थिइन भने कार्यक्रम सञ्चालन राम उदिले गरेका थिए ।