रौतहट २७ असोज// बज्जिका साहित्य संगम रौतहटको तेस्रो वार्षिकोत्सवको अवसरमा तीनजनालाई सम्मानित गरिएको छ । संगमका अध्यक्ष श्याम सहनी चन्द्रांशुको सभापतित्वमा गरुडामा भएको कार्यक्रममा बज्जिका भाषामा राष्ट्रिय सभामा शपथ लिने साहित्यकार तथा साँसद रामप्रित पासवानलाई संगम र बज्जिकार्पण साहित्यिक पत्रिकाले सम्मानित गरेको छ ।
संगमका अध्यक्ष चन्द्रांशु र पत्रिकाका प्रधान सम्पादक सञ्जय साह मित्रले दोसल्ला ओढाएर सम्मानपत्रले साँसद पासवानलाई सम्मानित गरेका छन् ।यसै गरी संगमले बज्जिका भाषामा नियमितरुपमा आर्थिक सहयोग तथा नैतिक समर्थन गर्दै आएको र बज्जिका भाषाका कविहरुका लागि तुलसी साहित्य पुरस्कारका संस्थापक गरुडा नगरपालिकाकी उपमेयर रंगीलादेवी जयसवाललाई पनि दोसल्ला ओढाएर सम्मानपत्रले सम्मानित गरिएको छ । साथै बज्जिका पत्रकारिकता क्षेत्रमा महत्वपूर्ण योगदान दिने बज्जिका पत्रकार संघ नेपालका संस्थापक अध्यक्ष राजेश्वर पाण्डेलाई पनि सम्मानित गरिएको छ ।
सम्मान ग्रहण गर्दै साँसद पासवानले बज्जिका भाषाको विकासमा आफूले सकेको योगदान दिँदै आएको बताएका छन् । बज्जिका, नेपाली र हिन्दी भाषामा विद्यार्थी कालदेखि नै काव्य सिर्जना गर्दै आएका साँसद पासवानले बज्जिका भाषाको लडाईँमा अझ दरिलो भएर सबैजना एकजूट भई लड्नु पर्ने बताएका छन् । ठूला कार्यक्रममात्र नगरेर बालबालिकाबीच पनि बज्जिका भाषालाई पु¥याउनुपर्ने बताएका छन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै गरुडा नगरपालिकाकी उपमेयर रंगीलादेवी जयसवालले आफ्नो घरपरिवारबाट बज्जिका भाषाको लागि निरन्तर आर्थिक तथा नैतिक सहयोग हुँदै आएको र अब आइन्दा पनि बज्जिकाको लागि ठोस कार्य गर्ने बताएकी छिन् । पत्रकार राजेश्वर पाण्डेले बज्जिकाको क्षेत्रमा विस्तारै चेतना बढ्दै गएकोले बज्जिको विकासको गतिलाई कसैले रोक्न नसक्ने बताएका छन् ।
कार्यक्रममा भारतीय बज्जिका साहित्यका विशिष्ट प्रतिभा डा. व्रजनन्दन वर्माले बज्जिकाको मानकीकरण हुनुपर्ने र सबै मिलेर बज्जिकाको विकास हुनुपर्ने बताएका छन् । यसै गरी सर्लाहीका वरिष्ठ साहित्यकार डा. वसी मिकरानीले बज्जिकाको विकासमा रौतहटभन्दा सर्लाही पछाडि परेको बताउँदै बज्जिकाले गति लिएकोमा सन्तोष व्यक्त गरेका छन् ।दुर्गा भवानी यादव प्रतिष्ठानका संस्थापक अध्यक्ष वृजकिशोर यादवले बज्जिका भाषाको पत्रकारिताको विकासको लागि आफूले दुर्गा भवानी अन्तर्राष्ट्रिय बज्जिका पत्रकारिता पुरस्कार स्थापना गरेको बताउँदै बज्जिकाको जुनसुकै कार्यक्रम पनि आफ्नो रेडियोबाट निशुल्क प्रत्यक्ष प्रसारण गराइरहेको बताएका छन् । बज्जिकाको विकासमा आफूले थप योगदान दिन नयाँ योजना बनाइरहेको पनि यादवले प्रष्ट पारेका छन् ।कार्यक्रममा गरुडा उद्योग वाणिज्य संघका अध्यक्ष हरेन्द्रप्रसाद चौधरी, गरुडा नगरपालिकाका मेयर इन्नु राय यादव, जनही पाँच हजार रुपैयाको तुलसी साहित्य पुरस्कारबाट पुरस्कृत युवा प्रतिभाद्वय रेहान खान र सञ्जय महतो राज, नेपाल चलचित्रकर्मी संघ प्रदेश २ का अध्यक्ष विजय यादव निर्बिज, गायक वृजकिशोर सहनी, कवि उपेन्द्र सहनी, रामकृष्ण चौधरी, हेमाकान्त राय यादव, गरुडा नपा २ के वडाध्यक्ष विशुनदेव सहनी, राम आधार पासवान, शेख चाँद अलि, मौजेलाल साह, समतोलियाकुमारी मुखिया, किशुनदयाल यादवलगायतका मानिसहरुले काव्य र मन्तव्य व्यक्त गर्दै बज्जिका भाषा र साहित्यको विकासको लागि सक्रिय रहने प्रतिबता व्यक्त गरेका छन् ।