उत्तर राज्य आसाममा विषाक्त मदिरा सेवन गर्दा मृत्यु हुनेको संख्या १०० भन्दा माथि पुगेको अधिकारीहरूले बताएका छन्।

दुई सयभन्दा बढी व्यक्तिलाई उपचारका लागि अस्पतालमा भर्ना गरिएको छ। बिरामीमध्ये महिलाहरू पनि छन्। उनीहरू सबै आसामको चिया बगानमा काम गर्ने मानिसहरू रहेका बताइएको छ। स्थानीय सञ्चारमाध्यममा प्रकाशित विवरणहरूका अनुसार मृत्यु हुनेहरूको सङ्ख्या बढ्न सक्ने बताइएको छ। दुई हप्ताअघि अरू दुई राज्य उत्तर प्रदेश र उत्तराखण्डमा पनि विषाक्त मदिराका कारण झण्डै एक सय जनाको मृत्यु भएको थियो। आसामको गोलाघाट र जोरहाट जिल्लामा भएका बगानमा काम गर्ने मानिसहरूले विषाक्त मदिरा सेवन गर्न पुगेका थिए। गोलाघाटका प्रमुख प्रशासक धिरेन हजारिकाले त्यस्तो मदिरा सेवन गर्नेहरूमध्ये पहिलो व्यक्तिको मृत्यु बिहिबार भएको जनाइएको छ। गोलाघाट जिल्लामा मात्रै ५८ जनाको मृत्यु भएको प्रहरी अधिकारी पुष्कर सिंहले बताए। अर्को स्रोतका अनुसार १२ जनाको मृत्यु जोरहाट जिल्लामा भएको छ। गोलाघाट स्वास्थ्य विभागका सहनिर्देशक डा। रतुल बोरदोलोइका अनुसार पीडितहरू बान्ता गर्दै र छाती दुख्ने एवम् सास फेर्न गाह्रो हुने गम्भीर समस्यासहित अस्पताल पुगेका थिए। अधिकारीहरूका अनुसार सो घटनाको छानिबिन गर्न एउटा समिति बनाइएको छ। राज्य प्रहरीका अनुसार उनीहरूले एक जनालाई अवैध मदिरा बेचेको आरोपमा समातेको छ। त्यस्तो मदिरा विक्रीवितरण रोक्न नसकेको भन्दै दुई जना अधिकारीहरूलाई पनि निलम्बन गरिएको जनाइएको छ। एजेन्सी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here