logo
19 Oct 2018   |   
स्वास्थ्य

दसैं खानपान ?



स्वास्थ्य   2 पटक पढिएको   कलमपाटी     
काठमाडौँ // विशेषज्ञहरूको कुरा सुन्ने हो, दसैं–तिहारताका नेपालीहरूलाई सबैभन्दा बढी खाद्य विषाक्तता (फुड प्वाइजनिङ) र दाँत सम्बन्धी समस्याले सताउने गरेको छ  ।



भोजभतेर, मासुको उपयोग आदिमा असावधानी, स्वच्छतामा लापरबाहीका कारण खाद्य विषाक्तता हुने गर्छ  ।दाँतमा समस्याचाहिँ अन्नकण, मासुको चोक्टा अड्केर हुने गरेको छ ।

खाद्य विषाक्तता 
दसैं–तिहारको समयमा मुलुकमा खाद्य विषाक्तताको समस्या उल्लेख्य रूपमा देखिन्छ । यो समय स्वास्थ्य संस्थाको आकस्मिक कक्षमा खाद्य विषाक्तताले गर्दा भर्ना हुने बिरामीको संख्यामा समेत वृद्घि देखिने गरेको हो ।


खाद्य विषाक्तता दूषित खाद्यपदार्थ सेवनले गर्दा हुन्छ । व्याक्टेरिया, परजीवी र भाइरस जस्ता संक्रामक जीवाणु वा उनीहरूको विष खाद्य विषाक्तता हुने सामान्य कारण हो ।


‘दूषित, बासी र झिंगा भन्केको खाना, फोहर हातले सागसब्जी वा मासु काट्नु र राम्ररी नपकाउनु फुड प्वाइजनिङको मुख्य कारण हो’, वरिष्ठ पेट रोग विशेषज्ञ डा. प्रदीप यादव भन्छन्, ‘यस्ता विषाक्त पदार्थले हाम्रो पेटमा गएर आन्द्रामा संक्रमण फैलाउँदा खाद्य विषाक्तताको समस्या देखिन्छ ।’


खाद्य विषाक्तताको लक्षण दूषित खाद्य पदार्थ सेवन गरेको घण्टाभित्रै देखिन थाल्छ । यसअन्तर्गत वाकवाकी, बान्ता वा पखाला, पेट दुखाइ, मांसपेशी बाउँडिने, ज्वरो, शरीरमा पानीको कमीजस्ता लक्षण देखिन्छन् । तर यो लक्षण दूषित खाद्यपदार्थ सेवनको एक दिन वा एक सातापछिसमेत देखिन सक्ने र यसले गर्दा उत्पन्न शारीरिक समस्या निको हुनमा केही घण्टादेखि धेरै दिनसम्म लाग्न सक्छ ।


धेरैजसो अवस्थामा खाद्य विषाक्तताको समस्या केही समयपछि आफैं निको हुने भए पनि धेरै पटक स्थिति गम्भीरसमेत हुन सक्छ ।


गम्भीर अवस्थाका बिरामीलाइ तुरुन्त राहतका लागि बान्ता नहुने अवस्था भए जीवनजल (ओरल रिहाइड्रेसन साल्ट) खुवाउनुपर्छ भने बान्ताको समस्या भए शरीरमा पानीको कमी हुन नदिन नसाको माध्यमबाट पानी चढाउनुपर्छ । यस्ता बिरामीलाइ शरीरमा पानीको कमी हुन नदिई तुरन्त नजिकको स्वास्थ्य संस्थामा पुर्‍याउनु पर्छ ।


‘गत वर्ष दसंैताका राजधानीकै बासिन्दा भए पनि धेरै ढिलो गरी अस्पताल आएका खाद्य विषाक्तताका एक बिरामीको ज्यान गएको थियो । तिनलाई ६ घण्टा आईसीयूमा राखेरसमेत बचाउन सकिएन’, उच्च सुविधायुक्त अस्पतालहरूमा ढिलो गरी पुगेर बर्सेनि खाद्य विषाक्तताले ६–७ बिरामीको मृत्यु हुने गरेको औंल्याउँदै डा. यादव थप्छन्, ‘बालबालिका, बूढापाका, रोग प्रतिरोधक क्षमता कम भएकाहरू, दीर्घरोगी, मधुमेह लगायतका जटिल रोग भएकाहरूलाई खाद्य विषाक्तता देखिए तुरुन्त उपचार आवश्यक हुन्छ ।’


खाद्य विषाक्तताको समस्याअन्तर्गत शरीरमा पानीको अत्यधिक कमी भएर रक्तचापमा कमी, मृगौला फेल हुने लगायतका अन्य ज्यान जोखिममा पर्ने जटिलता थपिँदै जान्छ ।


उनका अनुसार विश्वमा अमेरिकाको खाद्य आपूर्ति सुरक्षित मानिए पनि त्यहीं खाद्य विषाक्तताले बर्सेनि लाखौं व्यक्ति पीडित हुने गरेका छन् भने हाम्रो मुलुकको के स्थिति होला, सहजै अनुमान गर्न सकिन्छ ।


सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन (सीडीसी) का अनुसार बर्सेनि अमेरिकामा ४ करोड ८० लाख व्यक्ति खाद्य विषाक्तताले गर्दा बिरामी पर्छन्, भने यस मध्ये १ लाख २८ हजार जनालाई अस्पताल भर्ना हुनुपर्छ । बर्सेनि ३ हजार जतिको खाद्य जनित रोगले मृत्यु हुन्छ ।


खाद्य विषाक्तताको उपचारअन्तर्गत शरीरमा देखिएको पानीको कमीको आपूर्ति, कहिलेकाहीं एन्टिबायोटिक, एन्टि प्रोटोजाअल औषधिलगायतकाबाट गरिने डा. यादव बताउँछन् ।

खाद्य विषाक्तताको जोखिम कम गर्न विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का अनुसार नपकाएका खानेकुराजस्तै माछा/मासु आदिमा हानिकारक सूक्ष्म जीवहरू हुन सक्छन् । यी जीवहरू खाना तयार गर्दा अरू खानेकुरामा सर्न सक्छन् । नपकाएको माछा/मासुजस्ता खाद्यपदार्थ छुट्टै राख्नु पर्छ भने नपकाएका खानेकुराको निम्ति प्रयोग गरिने चक्कु, चपिङ बोर्ड जस्ता घरायसी सामग्रीहरू छुट्टाछुट्टै प्रयोग गर्नुपर्छ ।


यस्तै माछा, मासु, अण्डाजस्ता खाद्य पदार्थलाई राम्ररी पकाउनुपर्छ । पकाउँदा हानिकारक जीवहरू प्रायजसो मर्छन् । डब्लुएचओका अनुसार ७० डिग्री सेन्टिग्रेड भन्दा बढीको तापक्रममा खाना तताएर खानाले हानि नहुने कुरा अध्ययनमा देखिएको छ । पोलेर, भुटेर तथा कम पकाएर खाने र ठूला आकारका चाँडै न पाक्ने खानालाई भने विशेष 
ध्यान दिनुपर्छ ।


दसंै–तिहारताका एकैपटक बढी मात्रामा खाद्यपदार्थ बनाएर यसलाई विस्तारै खानका लागि राख्ने चलनसमेत छ । सामान्य तापक्रममा भने खानालाई दुई घण्टाभन्दा बढी राख्नु हुँदैन । डब्लुएचओका अनुसार पकाएको तथा चाँडै बिग्रिने खानालाई ५ डिग्री सेन्टिग्रेडभन्दा कम तापक्रममा रेफ्रिजरेटरमा राख्नुपर्छ । यस्तै ६० डिग्री सेन्टिग्रेडभन्दा तातो खाना खानुपर्छ वा अरूलाई पस्किनुपर्छ ।


रेफ्रिजरेटरमा समेत खानालाई लामो समयसम्म राख्नु हुँदैन । चिसोमा राखेको खानालाई तत्कालै तताउनुपर्छ र सामान्य तापक्रममा राख्नु हुँदैन । डब्लुएचओका अनुसार खानालाई सामान्य तापक्रममा राखेमा सूक्ष्म जीवहरू धेरै चाँडो बढ्छन् । तर ५ डिग्री सेन्टिग्रेडभन्दा तल र ६० डिग्री सेन्टिग्रेडभन्दा माथिको तापक्रममा खानालाई राखेमा ती सूक्ष्म जीवहरूको वृद्घि रोकिन्छ वा मर्छन् । तर केही हानिकारक जीवहरू भने ५ डिग्री सेन्टिग्रेडभन्दा कम तापक्रममा समेत बाँच्न र बढ्न सक्छ ।

राम्रो सफाइ
खाद्य विषाक्तताबाट बच्ने सबैभन्दा सजिलो र भरपर्दो उपाय सरसफाइलाई कायम राख्नु हो । यसैले गर्दा हामीलाइ भान्साकोठा वा अन्यत्र जहाँ भए पनि आफ्नो हात र खाद्यपदार्थलाई तथा बनाउन उपयोग गरिने सतहलाई राम्ररी सफा राख्नुपर्छ । हाम्रो हात, भाँडाकुँडा, कटिङ बोर्डलगायत भान्साकोठाका धेरै ठाउँमा कीटाणु बाँच्न सक्छन् । तरकारी, सागसब्जी र फलफूललाई नलको बगिरहेको सफा पानीले राम्ररी धुन बिर्सनु हुन्न ।



छुट्टाछुट्टै खाद्य सामग्री राखौं 
एउटा खाद्यपदार्थलाइ अर्को खाद्यपदार्थले दूषित गर्नु हुँदैन । छुट्टाछुट्टै नराखे हात र सतहलाई राम्ररी सफा गरेपछि पनि काँचो मासु, कुखुरा, समुद्री खाना र फुलले खान तयार पारिएको खाद्यपदार्थमा कीटाणु फैलाउन सक्छन् ।

खाद्य सामग्री राम्ररी पकाऔं
खानालाई उचित तापक्रममा राम्ररी पकाउनुपर्छ । सीडीसीका अनुसार सिंगै भेडा, बाख्रा, बँदेल, माछा आदिका मासुलाई १४५ डिग्री फरेनहाइटको तापक्रममा पकाउनुपर्छ ।


भेडा, बाख्रा, बँदेल, अण्डाका परिकार बनाउँदा १६० डिग्री फरेनहाइटको तापक्रममा पकाउनुपर्छ । यति मात्र होइन कुखुराजस्ता पक्षीजन्य उत्पादनका परिकार बनाउँदा १६५ डिग्री फरेनहाइट तापक्रममा पकाउनुपर्छ ।



उपयुक्त तरिकाले चिस्याऔं
खाद्यपदार्थलाई रेफ्रिजरेटरको तापक्रम ४ डिग्री फरेनहाइटभन्दा तल राखेर उपयुक्त रूपले चिस्याउनुपर्छ । चिस्याएर नराख्दा धेरैजसो खाद्यपदार्थमा दुई घण्टा भित्रै जीवाणुहरू उत्पन्न हुन्छन् । अझ गर्मीयाममा त एक घण्टैमा खाद्यपदार्थमा प्रशस्त जीवाणु उत्पनन हुन सक्छन् । यसैले खाद्यपदार्थलाई दूषित हुन नदिन उचित तापक्रममा राख्नुपर्छ ।

दाँतमा मासु अड्किनु 
दसंै–तिहारताका दाँतमा खाना अड्केर समस्यामा परी दन्तरोग विशेषज्ञकहाँ चहार्नेहरूको संख्या एक्कासी बढ्ने गरेको छ ।


विज्ञहरूका अनुसार मुलुकमा दाँतसम्बन्धी बर्सेनि विभिन्न समयमा देखिने गरिएको समस्याअन्तर्गत दसंै–तिहारताका एक्कासी खाना, मासु अड्किने समस्या उल्लेख्य रूपमा बढ्ने गरेको हो ।


‘दसंै–तिहारको समयमा सबैभन्दा बढी दाँतमा रेसादार खाना, मासु आदि अडकिएर देखिएका समस्या निदानका लागि नै आमव्यक्ति दन्त चिकित्सककहाँ आउने गरेका छन्’, वरिष्ठ दन्तरोग विशेषज्ञ डा. सुशील कोइराला भन्छन्, ‘दुई दाँतको बीचमा, कापमा, पुरानो क्याभिटीमा, बुद्घि बंगाराको छेउमा खाना अड्किने गरेको छ ।’


दसंैताका देखिने दाँतसम्बन्धी यो समस्या मुख्य रूपमा ७–८ वर्षभन्दा मुनिका बालबालिका र ४५ नाघेकाहरूमा बढी मात्रामा देखिने गरेको अनुभव डा. कोइरालाको छ ।


यो उत्सवको बिदालाई सदुपयोग गर्दै मासु, माछा स्नेक्स आदि खानपानमा रमाएर बढी मात्रामा यस्ता खानेकुरा सेवन गर्ने समूह पनि ४५ नाघेकाहरूकै हुन्छ ।


दाँतमा मासु तथा खाद्यपदार्थ अड्केपछि धेरै जसोले सबैभन्दा पहिले टुथ पिक, सिन्का वा कुनै पनि वस्तुले दाँतलाई कोट्याएर निकाल्ने प्रयास गर्छन् ।


यसो गर्दा गिँजामा घाउ भएर रगत आउने हुन्छ । यो स्थितिमा कोट्याउँदा अलिअलि दुख्दा मज्जा लागेजस्तो अनुभूतिले गर्दा व्यक्ति विशेषत: झन् बढी कोट्याउन थाल्छन् ।


‘दाँत कोट्याएर आफैंले गिँजामा घाउ बनाएर, संक्रमण वा नराम्ररी दुख्ने लगायतका समस्या लिएर आउने व्यक्ति पनि धेरै छन्,’ डा. कोइराला भन्छन्, ‘दाँतमा सकेसम्म टुथपिक प्रयोग नगर्नुस्, यसले अधिकांश व्यक्तिको समस्या घटाउँदैन झन् बढाउँछ ।’


मासुलगायतका रेसादार खाद्यपदार्थ सेवन गरेपछि दाँतमा खाद्यपदार्थ अड्किए तुरुन्त ब्रसमा पेस्ट वा दतिउनमा नुन लगाएर सफा गर्नुपर्ने औंल्याउँदै डा. कोइराला भन्छन्, ‘टुथ पिकले दाँत कोट्याउनुको सट्टा डेन्टल फ्लस (दाँतको काप सफा गर्ने धागो) उपयोग गर्नुपर्छ ।’


बालबालिका र अधवंैसेहरूमा मासु खाएपछि दाँतमा अड्किने समस्या सबैभन्दा बढी देखिन्छ । तर कतिपय व्यक्तिको दाँतको प्याटर्न नै मासुलगायतका रेसादार पदार्थ सेवन गरेपछि अड्किने खालको हुन्छ ।


मासु सेवन गर्दाताका बीच–बीचमा सलाद आदि सेवन गर्दासमेत दाँतमा अडकिने समस्यामा केही कमी देखिने गरिन्छ । यस्तै खाएलगतै राम्ररी कुल्ला गर्नाले वा दाँत माझ्नाले समेत यो समस्या धेरै हदसम्म कम हुन सक्छ ।


खाएलगतै ब्रस/दतिउन नगरे दाँतमा अड्किएको खाद्यपदार्थ त्यसमा पनि मासु घण्टा, दुई घण्टा मै कुहिन थाल्छ । यसले गर्दा स्थानीय संक्रमणसँगै, दुई दाँतबीचको गिँजामा समेत संक्रमण हुन सक्छ ।


मासुलगायतका खाद्यपदार्थ सेवनपछि दाँतमा समस्या देखिए तातोपानीमा नुन राखेर धेरैपटक राम्ररी कुल्ला गर्नुपर्ने औल्याउँदै डा. कोइराला भन्छन्, ‘सामान्य घरेलु उपाय अपनाउँदासमेत आराम नभए र दुखाइ/सुन्नाइ बढ्यो भने एक पटक दन्त चिकित्सकको सल्लाह लिनु आवश्यक हुन्छ ।’


दसैं–तिहारताका मासुलगायतका खाद्यपदार्थ सेवन गरेपछि नबिर्सी डेन्टल फ्लसले दाँतको बीचमा अडकिएको मासुको चोक्टालगायतका खाद्यपदार्थ निकाल्ने प्रयास गर्नुपर्छ । टुथ ब्रसमा अलि पेस्ट हालेर खाना खाएलगत्तै ब्रस वा नुन चोपेर दतिउन गर्नालेसमेत दाँतको कापमा अड्किएका मासुलगायतका खाद्यपदार्थ हटाउन धेरै सहयोग मिल्छ । अझ खाए पछि यदि सफा हातको औंलाले तानेर दाँतको बीचमा अड्किएको मासु झिक्न सकिन्छ भने यसो गर्न पछि नपर्नुपर्ने औंल्याउँदै डा. कोइराला भन्छन्, ‘सकेसम्म दाँतमा अड्किएका मासुलगायतका खाद्यपदार्थ झिक्न टुथ पिक उपयोग गर्नु हँुदैन ।’






दूधे दाँत भएका बालबालिकाको दाँतमा समेत मासुलगायतका अन्नका कण अड्किने भएकाले अभिभावकले उनीहरूको दाँतबाट अड्किएको मासुको चोक्टा तथा रेसा आदिलाई आफ्नो हात साबुनपानीले धोएपछि राम्ररी झिकिदिनु पर्छ ।

इकान्तिपुर अनलाइन बाट साभार











1782626 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
more...
कम्पनी दर्ता : १५३७६१/०७३/०७४
सुचना बिभाग दर्ता : ४११, चन्द्रपुर ४, रौतहट
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © सुप्रिम संचार प्रा. लि. २०७५ मा सुरक्षित रहनेछ ।
Top