Kalam Pati - Online Nepali News Portal - News on Politics, Economic, Entertainment, Sports, Tourism, Society, World Affairs & Science and Technology

अन्तर्वार्ता

अप्ठ्यारोबीच विकासको गोरेटो तयार पार्नु छ



अन्तर्वार्ता प्रकाशित मिति: कलमपाटी

नेपालको संविधान २०७२ जारी भएको दुई वर्ष बितिसक्दा कार्यान्वयनको सुरुवातमै छ । सोही संविधानअन्तर्गत संघीयताको नयाँ अभ्यास हुँदैछ । लामो समयदेखि उठ्दै आएको संघीयताको मुद्दा सम्बोधनसँगै जनताले समृद्धिको सपना देख्न थालेका छन् ।

अन्य सबै प्रदेशभन्दा तुलनात्मक रूपमा पछि परेको र प्राकृतिक स्रोतसाधनको कमी रहेको प्रदेश २ ले पनि स्वभाविक रूपमा समृद्धिको बाटो पहिल्याउँदैछ । पहिचानवादी आन्दोलनको नेतृत्व हाँक्ने संघीय समाजवादी फोरम नेपालका उपाध्यक्ष लालबाबु राउत यस प्रदेशका मुख्यमन्त्री चयन भएका छन् । प्रदेश विकासको अजेन्डा र चुनौतीबारे मुख्यमन्त्री राउतसँग सुरेश यादवले गरेको कुराकानी :

लामो आन्दोलनपछि प्रदेश मुख्यमन्त्री चयन हुनुभयो, कस्तो महसुस भइरहेको छ ?
ठूलो चुनौती देखिरहेको छु । तर, अवसर पनि छ । प्रदेश निर्माणमा अगुवाको भूमिका निर्वाह गर्ने अवसर पाएको छु । यो भूमिकालाई इतिहासले मलाई सम्झिरहनेछ । निर्माणको चरणमा रहेको प्रदेशलाई व्यवस्थित र विकसित गर्न ठूलो चुनौती छ, संघर्ष गर्नुपर्ने हुन्छ र म त्यो संघर्ष र चुनौतीलाई उद्देश्य प्राप्तीका लागि अवसरमा बदल्नेछु । उत्साहित छु तर गम्भीर पनि छु । सबै पक्ष र निकायको सहयोग पाए राम्रै गर्नेछु जस्तो लाग्छ । 
 
समृद्धिमा नमूना प्रदेश निर्माण गर्ने उद्घोष गर्नु भएको छ, रोडम्याप कस्तो बनाउनु भएको छ ?
नेपालको संविधानले दिएको अधिकारलाई टेकेर प्रदेशको ऐन, कानुन बनाउनुछ । प्राप्त अधिकारलाई प्रभावकारी ढंगले सदुपयोग गर्न ऐन, कानुन बनाउने तयारीमा छौं । यी काम गर्न चुनौती त छ तर, अप्ठ्यारोलाई चिरेरै विकासको गोरेटो तयार पार्नुछ । र, मलाई विश्वास छ हामी सक्छौं । यस कार्यमा सबैको सहयोगको आवश्यकता महसुुस गरिरहेको छु । 

हुलाकी राजमार्ग, कृषि क्षेत्रमा आधुनिकीकरण, सिँचाइको व्यवस्थालगायत धेरै काम गर्नुपर्ने देखिन्छ, सो अनुसारको स्रोतसाधन भने देखिदैन । जनतालाई बाँडेको सपना पूरा गर्न कति सहज छ ? 
ठूलो चुनौती छ । तर, उपलब्ध स्रोतसाधनलाई पनि प्रभावकारी किसिमले उपयोग गर्न सकिए सम्भव छ । थप स्रोतसाधनका लागि संघीय सरकारमाथि निर्भर हुनुपर्ने बाध्यता छ । यद्यपि, स्थानीय कर र साधनस्रोतलाई पहिचान गरी उपयुक्त किसिमले परिचालन गर्नुपर्ने हुन्छ । साथै, दातृ संघ, संस्था र मुलुकहरूसँग पनि समन्वय गरी आवश्यक सहयोग लिएर प्रदेशको विकासमा जुट्ने योजना बनाइरहेका छौं । केही ठाउँबाट सहयोगको आश्वासन पनि आएका छन् । इमान्दारीसाथ उच्च मनोबल लिएर अघि बढे हुलाकी सडकदेखि भौतिक पूर्वाधारका सबै विकास निर्माणका कार्य पूरा गर्न सकिनेमा म विश्वस्त छु । 

तत्काल जनतालाई प्रदेश सरकारको उपस्थिति अनुभूति गराउन कस्तो कदम चाल्दै हुनुहुन्छ ?
यो प्रदेशमा सुशासन कायम गर्नु पहिलो प्राथमिकता हो । यस भेगको सबैभन्दा ठूलो रोग नै ढिलासुस्ती र अनियमितता हो । समयमा काम नगर्ने, सरकारी सेवा सुविधा उपभोग गर्ने तर काममा इमान्दारी प्रदर्शन नगर्ने नराम्रो प्रवृत्तिको विकास भएको छ । जुन विकासको सबैभन्दा ठूलो बाधकको रूपमा देखिएको छ । त्यसैले सबभन्दा पहिले सुशासन कायम गर्न केन्द्रित हुन्छु । यसका लागि कडाइको साथ प्रस्तुत हुनेछु । यद्यपी, हरेक कार्य शून्यबाट सुरु गर्नुपर्ने अवस्था छ । प्रदेशको प्रशासन र सुरक्षा निकायलाई प्रभावकारी परिचालनका लागि पहल गर्दैछु । आफ्नो स्तरबाट संविधान र कानुनलाई टेकेर गर्न सकिने हरेक कार्यको लागि गम्भिर छु । राज्य सञ्चालनको विधि प्रक्रिया सबै नयाँ छ । कर्मचारी कहाँ बस्ने, मन्त्री कहाँ बस्ने ? कुनै ठाउँको टुंगो लागिसकेको छैन । यो सबै व्यवस्थापन गर्दै अघि बढ्नुछ । यद्यपी केही महिनाभित्रै जनताले सुशासनको अनुभूति गर्नुहुनेछ भन्नेमा विश्वस्त छु । 

समान्य बहुमतको आधारमा बनेको सरकारको नेतृत्व गर्दै हुनुहुन्छ । विश्वासको मत पाउन बाँकी छ, अन्य दलहरूलाई कसरी समेट्नुहुन्छ ?
हो, हामीसँग समान्य बहुमत छ । तर यो ठाउँको विकास गर्न सबैको सहयोग आवश्यक छ । सबैले सहयोग गर्ने विश्वास लिएर अघि बढेको छु । उहाँहरूले सहयोग गर्ने विश्वास पनि दिलाउनु भएको छ । मूल कुरो जनताको म्यान्डेटलाई बुझेर अघि बढ्नुपर्ने हुन्छ । सत्ताको छिनाझप्टीमै समय खेर फाल्नु हामी सबैको लागि दूर्भाग्य हुनेछ । अन्य दलका साथीहरूले पनि प्रदेश विकासका अजेन्डा केन्द्रित गरी अघि बढ्नुपर्ने हो । यतिका दिन एकले अर्काको खुट्टा तान्ने प्रवृत्तिलाई प्रोत्साहन हुने राजनीति भयो र त्यसैको प्रतिफलस्वरूप हामी पछि परेका छौं । अगामी दिनमा सकारात्मक राजनीतिको वातावरण निर्माण गर्नुछ। 

लामो समय आन्दोलन गर्नुभयो । त्यसबेला तपार्इंहरूको विपक्षमा रहेका दलहरू अहिले पनि प्रतिपक्षमै छन् । उनीहरूको कसरी सामना गर्नुहुनेछ ?
आन्दोलनको विरोधमा कुनै कालखण्डमा केही पार्टी थिए, त्यसबेलाको कुरालाई अहिले उचाल्नुको तुक छैन । विगतमा कसले के गरे, के भने त्यो आफ्नो ठाउँमा छ । तर, विकास र समृद्धिका लागि सबैले एकअर्कासँग हातेमालोगरी अगाडि बढ्नुपर्छ । एक अर्काले सहयोगको भावना लिएर निःस्वार्थ अघि बढ्नुको विकल्प छैन । हिजोका आन्दोलनकारी र आन्दोलन विरोधी सबै दल एकजुट भएरै अघि बढे मात्र प्रदेशको विकास सम्भव हुन्छ । समय परिवर्तन भएको छ । यसैअनुसार सबैलाई प्रगतिशिल बाटोमा पाइला चाल्न अनुरोध गर्छु । विगतको तितो, मिठो अनुभवलाई मनन गरी देश र जनतालाई सर्वोपरी ठानेर अघि बढे मात्रै हाम्रो पनि कल्याण हुन्छ । 

पर्साबाट चुनाव जितेर मुख्यमन्त्री हुनुभयो, पर्सामा राजधानी आन्दोलन जारी छ । कसरी सम्बोधन गर्नुहुन्छ ?
आन्दोलन गर्ने मित्रहरूलाई थाहा हुनुपर्छ कि राजधानीको सन्दर्भमा संविधानले प्रष्ट व्यवस्था गरेको छ । हुन त हामीले त्यसबेला संविधानलाई स्वीकारेका थिएनौं । तर, त्यही संविधानलाई पछ्याएर आज म मुख्यमन्त्री बनेको छु । अब संविधानलाई मान्दिन भन्न पाइँदैन । राजधानीको हकमा प्रदेशसभाको दुईतिहाइ सदस्यको सहमतिमा निर्णय गर्नुपर्ने प्रावधान संविधानको धारा २८८ मा स्पष्ट उल्लेख छ । अस्थायी राजधानीको हकमा नेपाल सरकारले निर्णय गरिसकेको छ । स्थायी राजधानीको लागि दुईतिहाइको सहमति आवश्यक छ । उहाँहरूले आठवटै जिल्लाबाट प्रतिनिधित्व गर्ने सांसदहरूसँग पहल गर्नुपर्ने थियो । वीरगन्जमै बसेर आन्दोलन गर्नुको तुक छैन । संविधानलाई बेवास्ता गरी हिँड्न सकिन्न । 

भाषा विवादमा तपाईले पनि विरोध खेप्नु परेको छ । नेपाली, मैथिली, भोजपुरी र हिन्दी । कुन भाषालाई कामकाजको भाषा बनाउने ?
भाषाको सवाललाई विवाद बनाउनै हुँदैन । यो प्रदेशभित्र थुप्रै भाषा बोलीचालीमा प्रयोग भइरहेका छन् । मैले प्रदेशसभा सदस्यका रूपमा भोजपुरीमा सपथ लिएँ । एकरुपता दिन मुख्यमन्त्रीको सपथमा पनि भोजपुरी नै बोलें । मेरो मातृभाषा भोजपुरी हो । तपाईसँग जनकपुरमा नेपालीमा कुरा गरिरहेको छु । तपाईलाई नेपाली र मैथिली सजिलो लाग्छ मलाई नेपाली, भोजपुरी र हिन्दीमा । मैले हिन्दीमा बोले भने तपाइलाई अप्ठ्यारो हुँदैन तर भोजपुरीमा अप्ठ्यारो पर्न सक्छ । मलाई मैथिलीमा केही अप्ठेरो लाग्छ । तर, यो भाषा विवादमा उल्झिनु ठीक होइन । जसलाई जुन भाषामा आफ्नो भाव व्यक्त गर्न सहज हुन्छ त्यही भाषा बोल्न आग्रह गर्छु । कुनै भाषाको बिरोध हुनु हुँदैन । यसमा खुल्ला हुनुपर्छ । म बाल्यवस्थामा परिवारभित्र भोजपुरी बोलें । युवा अवस्थामा साथीहरुसँग हिन्दीमा बोलें । नेपाली भाषामा पढें र अंग्रेजी भाषा पढाएँ । नेपाली, हिन्दी, मैथिली, भोजपुरी सबै भाषा उत्तिकै सम्मानजनक छ । सबै समुदायले आफ्नो पहिचान अनुसारको भाषा र पोसाक प्रयोग गर्न पाउनुपर्छ । 

अन्त्यमा प्रदेशबासीलाई के भन्न चाहनुहुन्छ ?
मेरो क्षमता, बुद्धि र विवेक यहाँको सुशासन, विकास र समृद्धिका लागि भरपुर उपयोग गर्छु । राम्रो गरे मैले स्यावासी पाउनुपर्छ । गलत गरे सुझाव पाउँ । सकारात्मक सुझावको लागि सदैव अपेक्षित हुन्छु । धेरै आन्दोलन र संघर्ष ग¥यौं । अब प्रदेश र मुलुकलाई समृद्धिको बाटोमा डो¥याउनुपर्छ । हरेक व्यक्ति र पार्टीले निहित स्वार्थभन्दा माथि उठेर देश र जनताको हितमा इमान्दारीपूवर्क काम गर्नुपर्ने बेला आएको छ । राम्रो गर्नेलाई पुरस्कृत र गलतलाई परिस्कृत गर्ने व्यवस्थाको विकास गर्नुपर्छ । प्रदेश र देश बनाउन हामी हरेक नागरिकले आफ्नो स्तरबाट सक्दो योगदान थप्नुपर्छ । 

साभार: नागरीक न्यूज डटकम बाट 


अप्ठ्यारोबीच विकासको गोरेटो तयार पार्नु छ - 2018-02-26
नेपालको संविधान २०७२ जारी भएको दुई वर्ष बितिसक्दा कार्यान्वयनको सुरुवातमै छ । सोही संविधानअन्तर्गत संघीयताको नयाँ अभ्यास हुँदैछ । लामो समयदेखि उठ्दै आएको संघीयताको मुद्दा सम्बोधनसँगै जनताले समृद्धिको सपना देख्न थालेका छन् ।

जनताको कामलाई महान ठान्दछु :संसदका उम्मेदवार देव प्रसाद तिमल्सेना - 2017-11-03
२०४६ सालको जनआन्दोलन देखि नै सकृय राजनिती मा रहेका, नेविसघको राजनिती हुदै मुल पाटीमा आइ २०४८ सालमा डुमरीया गाउ सभापती हुदै क्षेत्रिय सभापती समेतको जिम्मेवारी सम्हालि सकेका, महाधिवेशन प्रतिनिधी समेत रहेका

राजनीति के हो र अपराध के हो छुट्याउनुपर्‍यो : योगेश भट्टराई - 2017-09-26
एमाले सचिव एंव प्रचार विभागका प्रमुख योगेश भट्टराई यतिबेला पुनः सुरु भएको मेची–महाकाली अभियानका क्रममा सक्रिय छन्। सप्तरीमा आफ्नो पार्टीको कार्यक्रम बिथोलेपछि मधेसी मोर्चासँग निकै आक्रामक देखिएका उनी यसबीचमा गृहमन्त्री, कांग्रेस र माओवादीको भूमिकामा समेत शंका व्यक्त गर्दैछन्। यही सन्र्दभमा नागरिक दैनिकका मणि दाहलले गरेको कुराकानी :-

फाष्ट ट्रयाक बिदेशी लाइ दिनु हुदैन : एमाले नेता नेपाल - 2016-09-05
* एमालेले सरकार छाडेपछिको देशको समीकरण कस्तो महसुस गर्नू भएको छ ? एमाले सरकारबाट हटिसकेपछि पनि देशको राजनीतिक माहोल संगलो भएको छैन। अन्यौलता झन बढ्दो छ। यो अन्यौलतालाई चिर्दै राष्ट्रिय सहमति कायम गरी बिगतका राम्रा कामलाई अगाढि बढाएर संविधान कार्यन्पयनको दिशमा अगाडि बढन आवश्यक छ। यो काममा सरकार कतिको लागेको छ मैले बुझन पाएको छैन।

मदन पुरस्कार लिन कसैले सुटकेस लिएर आएको छैन - 2016-07-27
कमलमणि दिक्षित २०७२ सालमा प्रकाशित पुस्तकहरूमध्येबाट मदन पुरस्कारका लागि उत्कृष्ट सात पुस्तकको सूची मदन पुरस्कार पुस्तकालयले गत मंगलबार सार्वजनिक गर्‍यो। सो सूचीको सन्दर्भमा अध्यक्ष कमलमणि दीक्षितसँग लक्ष्मण श्रेष्ठले गरेको कुराकानी ....

English News



1379886 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
Contact Us
All right reserved 2017 © Suprim Sanchar Pvt. Ltd.
Powered by :
Top