विचार

तपाईंका श्रीमान के गर्नुहुन्छ ! दुर्गा सुवेदी



विचार प्रकाशित मिति: दुर्गा सुवेदी


दुईवर्ष पहिले महिला राष्ट्रपतिले सपथ खाएको केही दिनपछि नै संसदले पहिलो महिला सभामुख निर्वाचित गर्‍यो । राष्ट्रपति र सभामुखको नेतृत्व सम्हालेको वर्ष दिन नबित्दै न्यायमूर्तिका रुपमा प्रधानन्यायधीशको जिम्मेबारी फेरि महिलाकै काँधमा आइपुग्यो ।

विगत २० वर्षदेखि हुन नसकेको स्थानीय तहको निर्वाचन भयो । प्रदेश तथा प्रतिनिधि सभाको निर्वाचन सफलतापूर्वक सम्पन्न भए । राजनैतिक अर्कमण्यतामा फसेको मुलुकले निकास पायो । यसमा यिनै त्रिमूर्ति महिलाहरुको लगन, सुझबुझ र क्षमताको पनि उत्तिकै देन छ ।

तर, राष्ट्रपतिका रुपमा पहिलो महिला राष्ट्रपति विद्यादेवी भण्डारीको नाम आउँदै गर्दा वहाँको राजनैतिक योगदान भन्दा बढी मदन भण्डारीको योगदानको चर्चा भयो ।

पहिलो महिला सभामुखका रुपमा ओनसरी घर्तीको नाम आउँदै गर्दा वहाँको भन्दा बढी चर्चा नेता वर्षमान पुनको भयो । पहिलो प्रधानन्यायधीशका रुपमा शुशिला कार्कीको नाम आउँदै गर्दा कांग्रेसका पूर्वनेता दुर्गा सुवेदीको चर्चा चल्यो ।

विद्यादेवी भण्डारी आफैंलाई राजनैतिक कार्यकर्ता र नेतृ कम, मदन भण्डारीकी पत्नी बढी देखियो । ओनसरी घर्तीलाई राजनैतिक कार्यकर्ता, लडाकु र नेतृ कम अनि वर्षमान पुनकी पत्नी बढी देखियो ।

त्यसैगरी सुशीला कार्कीले न्याय सम्पादनमा गरेको योगदान र अनुभव कम, दुर्गा सुवेदीकी पत्नी बढी देख्ने यो समाजले आम महिलाहरुलाई कसरी उनीहरुको योग्यता, गुण र क्षमता तथा योगदानहरुलाई मापनरमूल्यांकन गर्न सक्छ ? यो प्रश्न निकै गम्भीर छ ।

यो समाज हरेक महिलाको पछाडि एक आकृति देख्छ, अर्को प्रतिछाँया देख्छ, एक अर्को प्रतिविम्व देख्छ । अनि त्यही समाजका हामी एक एक सदस्य, यही समाजको संस्कारबाट सुसंस्कृत छौं हामी । हाम्रै प्रवृत्ति, व्यवहार र मूल्यमान्यताबाट प्रशिक्षित छ समाज । समाज भनेकै तपाईंहामी त हौं । तपाईं हाम्रै सोच, संस्कार र व्यवहारले निर्धारित हुन्छन् समाजका मूल्यमान्यता ।

सानो छदाँ, स्कुल कलेज जाँदासम्म बालबालिका दुबैलाई एउटा प्रश्न सोधिन्छ- बाबा के गर्नुहुन्छ ? त्यही प्रश्नको आधारमा उनीहरुको पारिवारिक पृष्ठभूमि निर्धारण गरिन्छ । अनि विद्यार्थी वा बालबालिकाकाहरुको हैसियत आँकलन गरिन्छ र त्यसकै आधारमा व्यवहार गरिन्छ । त्यति मात्र हैन, यहाँ उनीहरुकी आमाको योगदान गौण हुन्छ । यद्यपि उनको योगदान बाबाको भन्दा पनि बढी किन नहोस् । तिनै बालबालिकाहरु किशोरावस्था पार गर्दै युवावस्थामा प्रवेश गर्दछन् । गृहस्थी जीवनमा प्रवेश गर्दछन् अनि त्यही प्रश्न उनीहरुको लिङ्ग अनुसार यसरी परिर्वतन हुन्छ ः

पुरुषका लागिः के गर्नुहुन्छ ? केमा काम गर्नुहुन्छ ? कुन अफिस ? अनि महिलाका लागि- सर केमा हुनुहुन्छ ? श्रीमान के गर्नुहुन्छ ? ज्वाइँ साहेब के गर्नुहुन्छ ?

यी फरक प्रकृतिका यावत प्रश्न सोध्नुको उद्देश्य एउटै हो-कसैको अवस्था, हैसियत, पारिवारिक पृष्ठभूमि, आर्थिक तथा सामाजिक अवस्था पत्ता लगाउनु ।

नेपालमा महिला जनसंख्या ५१.५० प्रतिशत छ । ५७.४ प्रतिशत महिला साक्षरता छ । १७ प्रतिशत महिलाहरु निजामती प्रशासनमा छन् । उद्योगी व्यवसायी र श्रम सहभागिता दर ५४ प्रतिशत छ । महिलाको मानव विकास सूचक ०.५२१ छ । स्थानीय तहमा महिला जनप्रतिनिधिको संख्या उल्लेख्य छ । तर, प्रदेश सभामा र प्रतिनिधि सभामा ३३/३३ प्रतिशत महिला सांसद भएको हाम्रो समाजमा अधिकांश महिलाको हैसियत सरको, श्रीमानको र ज्वाइँ साहेबको मान, मर्यादा, प्रतिष्ठा र आम्दानीबाट अनुमानित हुन्छ ।

बसको यात्रामा या विभिन्न सेवा लिन जाँदा ग्राहक लाइनको केही मिनेटको सहयात्रामा कुराकानीको प्रसंगमा होस् या केही घण्टाको सार्वजनिक औपचरिक, अनौपचरिक कार्यक्रमहरुमा होस् या केही दिनका गोष्ठी सेमिनार, प्रशिक्षणहरुमा होस् त्यही प्रश्न ।

साथीभाइ, छरछिमेक, बन्धुबान्धव, माईतीमावली जहाँसुकै त्यही । जागिरका लागि अन्तरवार्तामा जाँदा अन्र्तवार्ताको अन्त्यमा सोधिन्छ, श्रीमान के गर्नुहुन्छ ? यो प्रश्न न सान्दर्भिक हो, न त आवश्यकता नै । श्रीमानको पेशा, श्रीमतीको योग्यता, क्षमता र परफरमेन्समा केही फरक पार्दैन । तथापि यही प्रश्नको उत्तरले जागिरको निर्धारण हुन्छ । कार्यालयमा पनि कार्यालय प्रमुख र सहकर्मीहरुको यही अन्त्यहीन प्रश्न सुनिन्छ ।

भनिन्छ, मानव सभ्यताको शुरुवातीतिर मातृसत्ता थियो । ढुंगे युगमा ढुंगाका हतियारहरुबाट शिकार गर्ने समयतिर, शिकार गर्न महिला भन्दा पुरुषहरु शारीरिकरुपमा बलिया हुने हुनाले महिलाहरुलाई समूहको जिम्मा लगाएर शिकार गर्न जाने र ल्याएको शिकारलाई महिलाले बाँडेर खुवाउने खाने चलन चल्न थाल्यो ।

मानिसहरु जब घुमन्ते जीवन छोडेर खेतीपाती र पशुपालन गरी एकै ठाउँमा व्यवस्थितरुपमा बसोवास गर्न थाले, तब कामको विभाजन हुँदा महिलाले बालबच्चाको हेरचाह र पारिवारिक व्यवस्थापन र पुरुषले बाहिरी श्रम गर्ने गरिएको पाइन्छ ।

महिलाले गर्भवती बन्नुपर्ने, स्तनपान गराउनुपर्ने र त्यसबाट हुने शारीरीक कमजोरी, मातृत्व, वात्सल्य प्रेम आदि कारणले पनि महिलाहरुले बाहिरी श्रमभन्दा पारिवारिक व्यवस्थापनलाई सहजरुपमा अपनाई सदियौंदेखि आफ्नो कर्तव्य र जिम्मेवारी सम्हाल्दै आए ।

पुरुषहरुले पनि त्यसरी श्रोतसाधनमाथि नियन्त्रण गरी सत्ताको स्वाद लिएपछि त्यसमा आफ्नो प्रभुत्व कायम राख्नका लागि विभिन्न वाहानामा महिलामाथि पनि प्रभुत्व जमाइराख्न सफल भए । महिलाहरुलाई उनीहरुको प्राकृतिक गुणहरुलाई उपयोग गर्दै सहनशील, धर्ती, ममताकी खानी, हृदयकी रानी जस्ता उपमा र अलंकारहरुले सजाई रहे र उनीहरुप्रति विश्वास बनाई राख्न सफल भए । त्यही बेलादेखि विस्तारै आयआर्जन र श्रोत साधनमाथि पुरुषको प्रभुत्व र नियन्त्रण बढ्दै गएको र महिलालाई पारिवारिक व्यवस्थापनको जिम्मेवारी दिएर पारिवारमा नै अल्मल्याई उनीहरुको श्रोत साधनमाथिको नियन्त्रणबाट अलग्याएर आश्रति बनाएको पाइन्छ ।

एउटा घर बनाउन, समाज बनाउन, संस्कार बनाउन पुरुषको जतिकै महिलाको पनि योगदान भएता पनि सदियौंदेखि परिवार, समाज, परम्परा, रीतिरिवाजका नाममा महिलाहरु पुरुषको नियन्त्रणमा रहेका छन् । श्रोत साधनबाट सदियौंदेखि अलग्याइएका महिलाहरु कसैकी छोरी, कसैकी दिदीबहिनी, कसैकी श्रीमती र कसैकी आमा मात्र हुन् कि आफैं पनि कोही हुन् ?

समय बदलियो । अन्तरराष्ट्रिय र राष्ट्रिय रुपमा महिला अधिकारका आवाजहरु उठे । महासन्धी सन्धीहरु भए, अन्तराष्ट्रिय सम्मेलनहरु भए, विश्वमा महिला अधिकारका पक्षमा उठेको आवाज नेपाली आकाशमा पनि गुञ्जियो । नेपालले पनि सहभागिता जनायो, प्रतिवद्धता जाहेर गर्‍यो । वाध्यात्मकरुप मै सही, लोकलाजकै लागि सही, वैदेशिक सहयोगको आशामै सही, कछुवाको चालमै सही, महिला अधिकारका लागि गोष्ठी, सेमिनार र सभा, सम्मेलनहरु भए । योजनाहरु बने । ऐननियम कानूनहरु बने । संविधान बन्यो । महिला विकास, महिला सशक्तीकरण, लैंगिक समता र समानता, सामाजिक न्याय, समावेशीकरण, समानुपातिक प्रतिनिधित्वका व्यवस्थाहरु भए । महिला शिक्षाका लागि, महिला स्वास्थ्यका लागि, महिला रोजगारीको लागि, महिला स्वावलम्वनका लागि, महिलालाई नीति निर्माणमा पुर्‍याउनका लागि अनि श्रोत साधनमाथिको नियन्त्रण बढाउनका लागि विविध कार्यक्रमहरु आयोजना गरिए ।

अहिले हरेक क्षेत्र, तह र तप्कामा समावेशी समानुपातिक सिद्धान्त अनुरुप महिलाहरु पहुँच र नियन्त्रण गर्न सक्ने अवस्थामा पुगेका छन् र पुग्दैछन् । आजका दिनमा महिलाहरुमा शैक्षिक योग्यता छ । श्रोतसाधनमाथि पहुँच र नियन्त्रण छ । निर्णय प्रक्रियामा अग्रणी छन् । नीति निर्माणमा अव्बल छन् । समाजमा मान, मर्यादा र ईज्जत छ । अधिकांश महिलाहरु योग्य छन्, सक्षम छन्, आफू आफैं छन् । विनाप्रतिछायाँ, विनाप्रतिविम्व पुरुषहरुजस्तै ।

नेपालको संविधान, ऐन, नियम, नियमावली, कार्यविधि, निर्देशिका, योजनालगायतले लैंगिक समानता र समताको पक्षमा व्यवस्था गरी महिलालाई मूलप्रवाहीकरण गरी रहेको अवस्थामा तपाईं हामी सबैले यसै अनुरुपको दृष्टिकोण, व्यवहार र प्रवृत्ति राखेर अघि बढ्न जरुरी छ । कार्यक्रम, गोष्ठी, सेमिनार, सभा, सम्मेलनहरुमा लैंगिकताको पैरवी गर्ने तर दृष्टिकोण र व्यवहारमा परिवर्तन नल्याउनाले तपाईं हाम्रै आमा, दिदीबहिनी, श्रीमती, नातेदार, साथी, सहपाठी, सहकर्मीलगायत आम महिलाप्रति मनोवैज्ञानिक अन्याय त गरिरहेका छैनौं ? एकपटक सबैले गहनरुपमा सोच्न जरुरी छ ।

##साभार: अनलाइन खवर बाट

तपाईंका श्रीमान के गर्नुहुन्छ ! दुर्गा सुवेदी - 2018-01-13


कृष्ण थापाको योगदान लाइ सम्झिऔ - 2017-11-21
वर्तमानको राजनीतिले नेपाल र नेपालीको कस्तो भविष्यको मार्गनिर्देशन गर्ला एक अर्का मा दोषारोपण मात्रै गरेको छ नेताले जे गर्दा पनि चुपचाप अन्धभक्त भएर समर्थन गर्ने नेपाली जनता कहिले परिवर्तन हुने हो ?

मधेसी पछाडि पर्नुमा दोषी को? - 2017-09-28
करिब तीन महिना अगाडि मेरी आमालाई पर्साको गर्दौल गाउँमा एक भारतीय जीपले ठक्कर दियो। राति करिब ७ बजेतिर दुर्घटना भएको थियो।

रौतहटको चन्द्रपुरमा एमाले हार्नुको अन्तरकथा - 2017-09-22
स्थानियतहको नतिजा सार्वजनिक भैरहदा धेरैको ध्यान रौतहटमा तानिएको छ । रौतहटको पनि चन्द्रपुर नगरपालिकामा एमालेले कसरी हार्यो भन्ने जिज्ञासा बढी छ ।

आइएनजिओको विकासमा पारदर्शिता आवश्यक - 2017-07-21
अहिले हाम्रो देश विकासको पथमा लम्केको छ । देशको विकासमा धेरै पक्षको सकारात्मक योगदान रहेको छ । धेरै देशका बुद्धिजीवीहरूले बुद्धि दिएका छन् । धेरैले हामीलाई अर्थ दिएका छन् ।

जय होस् गुटको , जसले सधै पार्टी बिगार्ने काम मात्र गर्यो ! - 2017-07-01
केन्द्रीय कमिटीको बैठकले निर्णय गरो पार्टीमा अब कुनै गुट छैन । गुट गर्ने लाई कार्यबाहि हुनेछ । १० बुँदे संकल्प प्रस्ताव पारित पनि भयो ।

तराईको यथार्थता र वर्तमान अवस्था - 2017-06-24
वर्तमान नेपाली भूमिको एकीकरण पूर्व यो भूमि विभिन्न राज्य र गणतन्त्र राज्यमा विभाजित थिए। पूर्वको विजयपुर राज्यको सीमा झापा, मोरङ र सुनसरीका भू–भाग थिए भने चौदण्डी राज्यमा सिरहा, सप्तरी, उदयपुरसहितका समय र भू–भाग थिए।

एमालेको नीति र नेतृत्व : दलितको समृद्धि र स्वामित्व - 2017-06-18
नेकपा एमालेको गौरवपूर्ण विगत र आश लाग्दो भविष्य ः नेकपा एमाले नेपाली सर्वहारा, श्रमीजीवी तथा मिहेनतकश उत्पीडित दलित जनताको पनि बास्तविक रुपमा प्रतिनीधित्व गर्ने पार्टी हो ।

प्रदिप पौडेल लाइ खुल्ला पत्र : कांग्रेस नै सुहाउँछ, वाइसीएल नबन्नुस् प्रदीप पौडेलजी ! - 2017-06-03
.जीएस पौडेल / नेपाली कांग्रेसका केन्द्रीय नेता प्रदीप पौडेलजी, हार्दिक नमस्कार ! , एमाले अध्यक्ष केपी ओलीलाई कान्तिपुरमा खुला पत्र लेख्नु भएको रहेछ, लिंक मार्फत त्यो पढेँ ।

1 2 3 NEXT

English News



786842 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
Contact Us
All right reserved 2017 © Suprim Sanchar Pvt. Ltd.
Powered by :
Top