विचार


डेढ वर्षपछि ‘योगी’ क्रान्तिकारी

विचार 124 पटक पढिएको प्रकाशित मिति:



विनोद ढकाल / एउटा नास्तिक मनोभावनाको मान्छे मन्दिरको परिक्रमा गर्दा के सोचिरहेको हुन्छ ? भगवानसँग केही मागेको हुँदैन । मन्दिर परिसरमा आस्थाको आशामा बाँच्ने रहर बोकेका दुखीलाई सहयोग गर्न पाउँदा खुसीमात्र बोकिरहेको हुन्छ।

त्यो खुसीभन्दा मनमा अरू उमंग पटक्कै थिएन । निधारमा रातो टिका लगाइदिने पराजुली बाजेको व्यापारमा २० रूपियाँ थपिदिएर पशुपति आर्यघाटको लास पोलिरहेको पारिपट्टिको दृश्यमा लिन भएर हिँडेको थिएँ ।

मन्दिर अघि आशा र विश्वासको जगेर्ना गर्दै भगवानसँग मागिरहेका एक हुल
, खुसी र मुस्कानमा रमाएर प्रार्थना गरिरहेको दुई जोडी देखेको त्यहि परिसरमा डाँको छाडेर आफन्त वितेको वियोगको रोदनमा हराइरहेका मान्छेहरूको मुहारको झल्कोबारे मनोसंवादमा रस्ता पहिल्याइरहेकोे थिएँ ।

ए सर ! के छ खबर बधाई छ । पछाडीबाट कसैले मलाई इङ्गित गरेर भनिरहेको थियो । बधाई भन्नासाथ मलाई नै भनेको हेक्का मैले राखिसकेको थिएँ, किनभने सामाजिक सञ्जालमा मेरो इन्गेजमेन्टको तस्बिर हिट भइसकेको छ । म फर्किएँ । दाह्री पालेको, लामो कपाल पालेको अनि हरे राम हरे कृष्ण लेखेको गम्छा गर्धनमा बेरेको युवक मलाई बोलाइरहेको थियो । मैले ठ्याक्कै चिनिहालें, ति क्रान्तिकारी रवि खड्का ।

डेढ वर्षपछि उनीसँग भेट भयो । ति क्रान्तिकारी मित्र । कुनैवेला माओवादीको लडाकु प्रवित्तिका मानिस जसले कयन पटक रक्सी पिएका रातमा मलाई डेरा, घर र विभिन्न स्थानमा छाडेका थिए । पत्रकारको तलव नपाउँदा माओवादी संगठनका नाममा पत्रिका साहुलाई धम्क्याउने, आन्दोलन गराउने नेतृत्व सम्हालेका मित्र । त्यसबाहेक माओवादी आन्दोलनमा उनका अनेक सहभागीता थिए । उनले चिय पिउने प्रस्ताव गरे, मैले हर्षसाथ स्वीकार गरें । उनको बधाईका शव्दमा जोडें,‘बधाई त बाँकी छ, माघ ९ गते है ।

उनीसँग चियागफ सुरू भयो । अब उनी रवि खड्का एटम रहेनछन् । अब उनी रविनाथ बनिसकेछन् । कसरी नामदेखि सवै कुरामा एकाएक परिवर्तन भयो ? हामी दुईलाई मित्रताको शुत्रमा जोडिदिने पत्रकार दाई पदम गौतमको सम्झनाबाट हाम्रा चियागफ सुरू भए ।

यो एटमको जीवनमा भएको कायाकल्पको सन्दर्भ थियो । क्रान्तिका ती ज्वारभाटाबाट मौलिकतामा फर्किएका उनलाई जीवनको झन्डै डेढ दशकसँग पछुतो रहेछ । माक्र्सले परिकल्पना गरेको साम्यवादको युद्धमा कति मान्छेमाथि भौतिक आक्रमणमा उत्रिएका रवि भन्छन्,‘मैले भ्रमका १४ वर्ष त्यता विताएँ, वास्तविकताको जीवन यता सुरू गरेको छु । वास्तवमा साम्यवाद त योगी नरेन्द्रनाथले गरेका रहेछन् । म वैदिक साम्यवादको लडाइमा उत्रिएको छु ।


झुरझुरे, पनौति, चौतारामा भएको आक्रमणको स्मरणमा फर्किँदा जीवनको डेढ दशक आयातित विचारको गुलाम भएको निर्णयमा पुग्ने रविनाथ भन्छन्,‘कति मिडियामा आक्रमण गरियो, त्यसको नेतृत्व गरियो अहिले सम्झिँदा कुहिरोको काग बनेर दौडिइरहेको रहेछु भन्ने आभाष हुन्छ ।

जीवनमा माओवादी आन्दोलनमा लागेर धेरै गल्ती गरेको अनुभव उनले चियागफमा सुनाए । संस्कृत भाषाको विरोधमा विद्यालयमा निषेध गरेको, शान्ति क्षेत्रका रूपमा रहेको मुलुकमा हिंसाको आन्दोलनमा सहभागीता जनाएको प्रति उनलाई पश्चाताप छ । तर भ्रम नै सही, उनी त्यसबेला पनि राष्ट्रवादका लागि अन्धो भएर लडेका थिए अहिले पनि राष्ट्रवादका लागि आँखा खोलेर लड्न तयार छन् ।

स्वामी नरेन्द्रनाथको पथमा हिँडेका उनलाई परिवर्तन मौलिकताबाट हुने लाग्छ । हिजोको साम्यवादी फेरो माक्र्सको थियो आजको साम्यवादी फेरो मौलिक छ, उनका लागि । वैदिक साम्यवादका लागि म लडिरहेको छु जहाँ हिन्दू धर्मको जगेर्नासहित साम्यवादी कित्ता हावी हुनुपर्छ ।, उनी थप्छन्,‘यहाँ साम्यवादी र हिन्दुवादी  दुवै नक्कली रहेछन् अब सक्कली हिन्दु साम्यवादी बाटोमा म हिँडेको छु । अहिले उनी कर्मवीर महामण्डल स्वयं सेवक संघमा आवद्ध छन् । वनकालीमा रहेको मृगस्थलीमा बसेर मुलुकको कायाकल्प र वैदिक साम्यवादका विषयमा उनी केही गर्न खोजिरहेका छन् । मानौ, एकप्रकारको फरक कोणको राजनीति गरिरहेका छन्, उनी । पिउन छाडेर जीउने लतमा लागेको डेढ वर्षको अवधि विताएका उनी संघका महासचिव पनि हुन् । हो, महाराज एउटा फरक राजनीति हो । मौलिक राजनीतिमा लागेको छु । मुलुक बचाउने राजनीतिमा हामी लागिरहेका छौं, उनले थपे,‘हामीले निर्वाचन आयोगमा दल दर्ता गराएर ७५ जिल्लामा नै संगठन विस्तार गरिरहेका छौं ।

मान्छेमा परिवर्तन भन्दा पनि चरित्रमा परिवर्तन ठूलो शिक्षाका रूपमा बुझेका रविनाथ भन्छन्,‘परिवर्तनका लागि हरेक भ्रममा हिँडियो तर अब त्यो भ्रम रहेन ।’ बाबुराम भट्टराईले एनेकपा माओवादी छाड्ने दिन नै उनले अन्तिम पटक प्रचण्डलाई भेटेका थिए । अहिले प्रचण्डलाई अराष्ट्रिय बाटोमा देखेर उनी छक्क पर्छन् । तर, त्यहाँ मेरो प्रतिप्रश्न थियो स्वामी आदित्यनाथको उपस्थिति रहने कर्मवीर संघले अरूलाई भारतपरस्त देख्नु स्वाभाविक हुन्छ र ? त्यसमा उनको उत्तर थियो– स्वामी नरेन्द्रनाथका चेला आदित्यनाथका बाबु अवैधनाथ रहेका कारणले नै उनीसँगको फरक सम्बन्ध बनेको हो । यी र यस्ता अनेक अनुभव र अध्ययन छन्, रविनाथसँग । तर, मेरो चासो थियो उनको परिवर्तनीय शैली, वैचारिक र व्यवाहारिक स्थानान्तरणको कारण । उनले सरल उत्तर दिए– पश्चातापपछिको असली क्रान्तिको खोजी ।

Sources: lahuritv





कमेन्टसहरु



सम्बन्धित शिर्षक समाचारहरु


1 2 NEXT

English News



648990 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
Contact Us
All right reserved 2017 © Suprim Sanchar Pvt. Ltd.
Powered by :
Top