logo
19 Oct 2018   |   
खेलकुद

बाईबाई रसिया कतारमा भेटौँला



खेलकुद   127 पटक पढिएको        
मस्को : पूर्वविजेता फ्रान्सलाई उपाधि चुमाउँदै २१औं विश्वकप आइतबार उल्लासमय वातावरणमा सकिएको छ । विश्वकप अघि आयोजना र व्यवस्थापनको विषयलाई लिएर आलोचना खेपेको रुसले सबै खाले भ्रमलाई चिर्दै विश्वकपको सफल आयोजना र समापनसमेत गर्‍यो ।



३२ टोलीले एक महिनासम्म फुटबलको महाकुम्भमा आफ्नो कला देखाए । विश्वकपको भव्य समापनसँगै २२औं संस्करण चार वर्षपछि एसियाली राष्ट्र कतारमा आयोजना हुनेछ ।

लुझनिकी रंगशालामा भएको ३० मिनेटको समापन समारोहमा नायक तथा र्‍यापर विल स्मिथ, गायक निक्की जाम र कोसोभोकी गायिका इरा इस्ट्रेफीले सांगीतिक प्रस्तुति दिएका थिए । उनीहरूले जारी विश्वकपको आधिकारिक गीत ‘लिभ इट अप’ गाएका थिए । समापन समारोहमा ब्राजीलका चर्चित फुटबलर रोनाल्डिन्होले समेत प्रस्तुति दिएका थिए ।

सांगीतिक प्रस्तुति सकिएपछि जर्मनीलाई सन् २०१४ मा विश्वकपको उपाधि दिलाउने टोलीका कप्तान फिलिप ल्हामले विश्वकपको ट्रफी देखाएका थिए । उनलाई रुसी मोडल नाटालिया भोदियानोभाले साथ दिएकी थिइन् । त्यसपछि फ्रान्स र क्रोएसियाबीच फाइनल खेल सुरु भएको थियो । फाइनल खेललगत्तै आयोजित पुरस्कार वितरण समारोहपछि कतारमा भेट्ने बाचा गर्दै २१औं विश्वकप सकिएको थियो ।

सन् २०२२ को विश्वकप भने चर्को गर्मीकाका कारण परम्परागत समयमा नभई नोभेम्बर २१ देखि डिसेम्बर १८ तारिखसम्म सञ्चालन हुने बताइएको छ । यसैगरी कतार विश्वकपमा सहभागी संख्या बढाउने सकिने विषयमा पनि फेरि बहस सुरु भएको छ । विश्व फुटबल महासंघ (फिफा) ले कतार विश्वकपमै सहभागी संख्या बढाएर ३२ बाट ४८ बनाउन सकिने संकेत दिएको छ ।

फिफाका अध्यक्ष जियानी इन्फान्टिनोले कतारले व्यवस्थापन गर्न सके सहभागी टोलीको संख्याको विषयमा खुला रूपमा छलफल गर्न सकिने बताएका छन् । ‘हामी अर्को संस्करणदेखि नै १६ टोली थपेर विश्वकपको दायरा फराकिलो बनाउन सक्छौं तर, कतारले यस विषयमा आफूलाई तयार गर्न सक्नुपर्छ । मस्कोमा यही विषयमा छलफल पनि भएको छ । आयोजकलाई दबाब नदिई उसको अवस्थालाई ध्यानमा राख्नु हाम्रो कर्तव्य हो,’ इन्फान्टिनोले भनेका छन् ।

फिफाको धारणाप्रति कतारका अधिकारी पनि टोलीको सँख्या बढाउने विषयमा सकारात्मक देखिएका छन् । ‘कतारको दोहामा अहिले विश्वकपलाई लक्षित गरी आठवटा स्टेडियम तयार भइरहेको छ । सहभागी टोली बढाउँदा भौतिक संरचनादेखि सबै विषयमा ध्यान दिनुपर्छ । फिफाको प्रस्तावपछि हामी कसरी यसलाई पार लगाउने भन्ने विषयमा सोचिरहेका छौं’, कतार विश्वकप आयोजक कमिटीका सहायक महासचिव नसिरअल खतरले भनेका छन् ।

कतार विश्वकपका छनोट खेलहरू अर्को वर्षको सुरुबाटै हुने भएकोले फिफाका अधिकारीले रुस विश्वकपको फाइनलसँगै यो विषयलाई सहज रूपमा समाधान गर्ने उपाय खोजिरहेका छन् । यसैगरी रुस विश्वकपको उद्घाटन अघि मस्कोमा सम्पन्न फिफा कंग्रेसले सन् २०२६ को विश्वकपमा भने ४८ टोलीको सहभागिता सुनिश्चित गरेको छ । उक्त कंग्रेसले २३औं संस्करणको विश्वकप उत्तर अमेरिकी देश अमेरिका, क्यानडा र मेक्सिकोले संयुक्त रूपमा आयोजना गर्ने निर्णयसमेत गरेको थियो । साभार अन्नपुर्ण











1782382 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
more...
कम्पनी दर्ता : १५३७६१/०७३/०७४
सुचना बिभाग दर्ता : ४११, चन्द्रपुर ४, रौतहट
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © सुप्रिम संचार प्रा. लि. २०७५ मा सुरक्षित रहनेछ ।
Top