logo
12 Dec 2018   |   
राजनीति

बजेटमा हिन्दी भाषाको विरोध



राजनीति   43 पटक पढिएको        
जनकपुरधाम : प्रदेश २ को सरकारले हिन्दी भाषामा बजेट प्रस्तुत गरेको भन्दै प्रतिपक्षी सांसदले सदनमा आलोचना गरेका छन् । नेकपा र कांग्रसेका सांसदले हिन्दी भाषामा ल्याइएको नारा र बजेट गलत रहेको भन्दै सरकारको आलोचना गरेका हुन् ।




आर्थिक वर्ष २०७५/७६ को बजेटमाथि छलफलका लागि जारी प्रदेशसभा बैठकमा उनीहरूले बजेट हिन्दीमा किन प्रस्तुत गरेको भन्दै आपत्ति जनाएका छन् । यस्ता त्रुटि नसच्याए आफूहरू विरोधमा उत्रिने चेतावनी उनीहरूले दिएका छन् । उनीहरूले आफ्नो भाषा नभएकाले हिन्दीमा बजेट प्रस्तुत गर्नु सरासर गलत भएको बताएका छन् ।

नेकपाकी मञ्जु यादवले प्रदेश सरकारले हिन्दीमा बजेट प्रस्तुत गर्नु लज्जास्पद रहेको टिप्पणी गरिन् । प्रदेश सरकारले आफू भारतप्रति वफादार रहेको देखाउनका लागि हिन्दीमा बजेट ल्याएको जिकिर उनले गरिन् । ‘जुन जनताले बोल्ने भाषा होइन’, उनले भनिन्, ‘प्रदेशमा मैथली, भोजपुरी र नेपाली भाषा बोलिन्छ । हिन्दीको साटो मैथली र भोजपुरी भाषामै बजेट प्रस्तुत गरेको भए जनतालाई त्यसप्रति अपनत्व महसुस हुन्थ्यो ।’ तर, प्रदेश सरकारले त्यसलाई बेवास्ता गरेको उनले बताइन् ।
उनले किसानलाई पनि बजेटले अपमान गरेको बताइन् । ‘जसरी हिन्दीमा बजेट ल्याएर प्रदेशको अपमान गरिएको छ’, उनले भनिन्, ‘ठीक त्यसरी नै किसानको पनि अपमान भएको छ ।’ उनका अनुसार सिँचाइ, मल र बीउमा बजेट विनियोजन गरिएको छैन, जसका कारण किसानको अपमान भएको छ ।
नेकपाकै रुबी कर्णले ‘आपके सरकार, आपके दोवार, खेलेगा मधेस, खिलेगा मधेस’जस्ता हिन्दीमा ल्याइएको नाराप्रति असन्तुष्टि व्यक्ति गरिन् । सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराउँदै उनले हिन्दीमै बजेट ल्याउनु निन्दनीय रहेको बताइन् ।
कांग्रेसका नरेशकुमार यादवले हरेक दृष्टिकोणबाट बजेटप्रति जनताले अपनत्व महसुस नगरेको बताए । हिन्दी भाषामा बजेट प्रस्तुतिदेखि लिएर प्रदेश विकासका लागि तयार पारिएका अधिकांश योजना पनि गलत रहेको उनको भनाइ थियो । ‘बजेट जनमुखी नभई सरकारमुखी छ’, उनले भने, ‘बजेटमा अधिकांश योजना मन्त्रीहरूको स्वार्थमा राखिएका छन् ।’
नेकपाकै मेची लुंगेलीले नीति तथा कार्यक्रम एकातिर बजेट अर्कोतिर रहेको बताइन् ।
प्रदेश सरकारले १ असारमा आर्थिक वर्ष २०७५/७६ का लागि सदनमा २९ अर्ब ७८ करोडभन्दा बढीको बजेट पेस गरेको थियो ।साभार अन्नपुर्ण











2121677 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
more...
कम्पनी दर्ता : १५३७६१/०७३/०७४
सुचना बिभाग दर्ता : ४११, चन्द्रपुर ४, रौतहट
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © सुप्रिम संचार प्रा. लि. २०७५ मा सुरक्षित रहनेछ ।
Top