logo
19 Oct 2018   |   
समाज

बाख्रा पालनले फेरियो जीवन



समाज   76 पटक पढिएको        
रौतहट // गुजरा नगरपालिका २ ब्रम्हटोलकी ६० वर्षीया सम्झन डोल्मा शुक्रबार निकै खुसी देखिइन् । गाउँमा बाख्रा पालेर जीवनशैली फेरिएकी डोल्मा सबैभन्दा खुसीको दिन यही थियो ।



उनको मेहनतको कदर गर्दै हेफर इन्टरनेसनलले एक कार्यक्रम बीच उनलाई ठूलै धनराशिको पुरस्कार दिएको थियो ।गुजरा नगरपालिकास्थित जनप्रिय माविमा शुक्रबार हेफर इन्टरनेसनलले आयोजना गरेको स्वर्णीम पुरस्कार प्रदान कार्यक्रममा उनलाई ७० हजार धनराशिको पुरस्कार दिइएको थियो । पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको हातबाट समूहकै उत्कृष्ट पुरस्कार पाएकी डोल्माले जीवनको सबैभन्दा ठूलो खुसी र सम्झनलायक क्षण भएको बताइन् । ‘मेहनेत गरे जे पनि सफल हुँदोरहेछ भन्ने म उदाहरण बनेकी छु,’ उनले भनिन्, ‘बाख्रा पालेकै भरमा आज करौडौंको सम्पत्ति जोड्न सफल भएकी छु ।’ 


उनी पुरस्कृत हुने खबर पाएपछि गाउँका अधिकांश मानिस हेर्न कार्यक्रमस्थल पुगेका थिए । बाख्रा पालनबाट करोडपति भएको भन्दै पूर्वप्रधानमन्त्री नेपालले उनको निकै प्रशंसा गरेका थिए ।४० वर्षअघि साविक रंगपुर गाविस ८ ब्रह्मटोलका प्रेम दोर्जेसित उनको परम्परागत विवाह भयो । त्यसपछिका दिन त्यति सुखद हुन सकेन । गरिबी र अभावका कारण दैनिक जीवन कष्टकर बिताउनु परेको थियो ।

आम्दानीको मुख्य स्रोत जंगलबाट दाउरा ल्याएर बेच्ने र जीवन गुजारा गर्ने मात्र थियो । सम्झनको परिवारमा छोराछोरी नातिसहित ९ जना थिए । कमजोर आर्थिक अवस्था, शिक्षा र चेतनाको अभावका कारण बालबालिकालाई पठनपाठनमा समेत ध्यान दिन सकेका थिएन । जसको फलस्वरूप अरूको घरमा काम गर्न लगाउने र बालबालिकालाई पनि आम्दानीको स्रोतका रूपमा हेर्ने गर्थे ।

गाउँमा हेफरले महिलाको समूह बनाएर आयआर्जनको कार्यक्रम सञ्चालन गर्ने कुरा उनले थाहा पाए पनि त्यति वास्ता गरिनन् । २/४ पटक कुरा आएपछि सम्झनले घरमा सल्लाह गरिन् । कसैले उनलाई समूहमा बस्ने सल्लाह दिएनन् । ‘यसै पनि दु:ख पाएकै छु, समूहमा बस्दा के परिवर्तन हुँदा रहेछ हेरौं भनेर बस्ने निधो गरें,’ उनले भनिन्, ‘हिमाल परिवार समूह गठन गरी आफैं अध्यक्ष बनेपछि जिम्मेवारी सम्हाल्न थालें । रातदिन मिहिनेत गर्न थालें ।’ 

समूहमा आबद्ध भइसकेपछि हेफरको आधारशिला तालिम लिइन् । आफूले सिकेका कुरा परिवारलाई बताइन् । बिस्तारै परिवारका सदस्यले उनलाई साथ दिन थाले । पशुको उचित व्यवस्थापन तालिम लिइन् । पशुलाई पनि मानवजस्तै व्यवहार गर्नुपर्छ भन्ने कुरा सम्झनले राम्ररी बुझिन् । घरमा भएका र हेफरबाट उपचारस्वरूप पाएका ४ वटा बाख्राबाट व्यवस्थित बाख्रापालन सुरु गरिन् ।

पहिला पाएको दु:ख सम्झेर खुब मेहनत गर्न थालिन् । फलस्वरूप उनीसित ५२ वटा बाख्राका बथान भए । माउ र पाठापाठी राख्ने र खेल्ने ठाउँ व्यवस्थित रूपले निर्माण गरिन् । गाउँघरमा उनको मेहनतको खुबै चर्चा चल्न थाल्यो । केही महिनाअघि उनले ११ वटा खुसीको आम्दानीबाट ७५ हजारमा एउटा भैंसी खरिद गरेकी छन् । उनको गोठमा एउटा गाई पनि छ । अहिले दैनिक ११ लिटर दूध बिक्री गरेकी छन् । त्यस्तै उनले कुखुरपालन पनि सुरु गरेकी छन् । परिवारका सबै सदस्य एकजुट भएर समयको महत्त्व बुझी विभिन्न आम्दानीको पेसामा संलग्न छन् । 

उनी छोराछोरीलाई राम्रो शिक्षा दिन सफल भएकी छन् । ३ वर्षअघिसम्म ५ कठ्ठा जमिनले वर्षभरिको खर्च धान्न नसक्दा साहुमहाजनसित २ लाख ऋण लिन बाध्य भएको थियो । आज उनले आफ्नै आम्दानीले ९ कठ्ठा जमिन किनेका छन् । चन्द्रपुर नगरपालिकामा उनले १ कठ्ठा १५ धुर घडेरी जोड्न सफल भएकि छन् । वार्षिक रूपमा ३ लाख ५० हजारसम्म आम्दानी गर्न सफल भएको उनले सुनाइन् । 
पहिलाको अवस्था देखेका छिमेकीहरू उनको प्रगति देखेर छक्क पर्छन् । परियोजनाबाट आधारशिला तथा विभिन्न किसिमका ताली पाएपछि उनी र श्रीमानले समूहको बैठक, तालिम र सामूहिक कार्यक्रमहरूमा भाग लिन थालेका छन् । समूहलगायत छिमेकीलाई समस्या पर्दा उनले आर्थिक सहयोग पनि गर्न थालेकी छन् । उनले नातिनातिनालाई चन्द्रपुरमा राखेर बर्डिङमा पढारहेका छन् ।

साभार: इकान्तिपुर डटकम 












1782054 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
more...
कम्पनी दर्ता : १५३७६१/०७३/०७४
सुचना बिभाग दर्ता : ४११, चन्द्रपुर ४, रौतहट
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © सुप्रिम संचार प्रा. लि. २०७५ मा सुरक्षित रहनेछ ।
Top