logo
17 Nov 2018   |   
समाज

हेटौंडा–ढल्केबर प्रसारण लाइनको टावर निर्माण ठप्प



समाज   127 पटक पढिएको   कलमपाटी     
रौतहट : हेटौंडा–ढल्केवर ४ सय केभी प्रसारण लाइन टावर निर्माणको काम ६ महिनादेखि ठप्प छ । जिल्ला वन कार्यालयले अनुमतिबिनै राष्ट्रिय वनभित्र टावर निर्माण गर्न लागिएको भन्दै विरोध जनाएपछि काम रोकिएको हो । आयोजना ३ वर्षभित्र सक्नुपर्ने लक्ष्य छ ।




अनुमति नै नलिई वनमा स्काभेटरमार्फत काँचो रूख ढालेर टावर राखिएको भन्दै कार्यालयले विरोध जनाएको छ । जिल्ला वन अधिकृत दिर्घनारायण कोइरालाले वनको रूख काटेर टावर बनाउन थालेपछि रोकेको बताए । ‘वन मन्त्रालय र मन्त्रिपरिषदको निर्णयबिना रूख काटेर टावर बनाइएको रहेछ,’ उनले भने, ‘नियम विपरीत काम भएकाले रोकेका हौं, मन्त्रिपरिषद्बाट स्वीकृत भइआए छाडिदिनेछौं ।’ राष्ट्रिय वनमा यति ठूलो आयोजनाको काम गरिँदा आफूहरूलाई जानकारीसम्म नगराइएको उनको भनाइ छ । काजमा आएका तत्कालीन वन अधिकृत रामबाबु साहको पालामा इजाजतबिना रूख ढालेर टावर बनाउने काम भएको कोइरालाले बताए । नियम मिचेर काम भएको थाहा पाएपछि उनले निर्माणस्थलमै पुगेर काम रोकेका थिए ।

ढल्केवरदेखी हेटौंडासम्म ३ सय १९ वटा टावर निर्माण गर्ने हेटौंडा–ढल्केवर–दुहबी प्रसारण लाइन आयोजना प्रमुख राधेशरण महतोले बताए । ‘जनतासितको विवाद, जग्गा अधिग्रहण, वनको अवरोधका कारण काम रोकिएको हो,’ उनले भने, ‘प्रक्रिया पूरा गरी चाँडै थाल्छौं।’ अवरोधकै कारण सम्झौताभन्दा बढी समय लाग्ने भएको निर्माण कम्पनीले जनाएको छ । आयोजनाको ठेक्का भारतीय ऐन्जेलिक इन्टरनेशनल लिमिटेड कम्पनीले पाएको हो । लागत ६ अर्ब छ ।

अब ३० महिनाभित्र काम सम्पन्न गर्नुपर्नेमा विभिन्न कारणले निर्धारित समयमा सकिने सम्भावना नरहेको प्रमुख महतोले जनाए । चेतनगर सेक्टर वनअन्तर्गत बागमती धन्सार खण्डमा इजाजतबिना टावर निर्माण थालिएको वनको आरोप छ । आयोजनाका अनुसार टावर निर्माण गर्दा पर्ने रूखको लगत लिने क्रममा केही छुट्न गएकाले समस्या भएको हो । ‘पहिला रूख छपान गरी इजाजतका लागि मन्त्रालयमा फायल पठाइसकेका थियौं, पछि संख्या बढेकाले समस्या भएको हो,’ महतोले भने, ‘सच्याएर पुनस् मन्त्रालय पठाएका छौं । स्वीकृत भएर आएपछि काम सुरु गर्छौं ।’ आयोजनाले बागमती–चन्द्रनिगाहपुर खण्डको जंगलमा भने लगभग काम सकेको छ ।

ढालिएका रूख गायब

आयोजनाले टावर निर्माण क्रममा जरासहित उखेलेका काँचा रूख गायब पारिएका छन् । टावर निर्माणस्थलमा अहिले एउटा पनि रूख देखिँदैन । केहीमा ठुटा मात्र बाँकी छ । वन अधिकृत कोइरालाले ती रूख कहाँ गए भन्ने थाहा नभएको बताए । ‘आयोजनाले ढालेका रूख टावर निर्माण गरेकै स्थानतिर होला,’ उनले भने, ‘हामीले संकलन गरेका छैनौं । त्यतिकै छाडिएको छ । चोरी भयो वा हरायो, त्यो थाहा भएन ।’ आयोजनाले भने सामुदायिक वनलाई जरासहित रूख जिम्मा लगाएको दाबी गरेको छ ।

लोडसेडिङ कम हुने
सुक्खा याममा १३ घण्टासम्म लोडसेडिङ हुने गरेकामा प्रसारण सुचारु भए लोडसेडिङ स्वात्तै घट्ने आयोजनाको दाबी छ । अहिले ढल्केवरबाट दिइने १२८४ सिस्टममा ५५० मेगावाट विद्युत् भारतबाट आएको हो । आयोजना सम्पन्न भए भारतबाट १ हजार मेगावाट ल्याउन सकिने महतोले जनाए । ढल्केवर–मजफरपुर प्रसारणबाट १४५ मेगावाटसम्म पावर आइरहेको छ । यही लाइन वीरगन्ज–पथलैया हुँदै खिम्तिसम्म पुग्ने आयोजनाले जनायो । नेपालमा वार्षिक ४७ अर्बभन्दा बढी रुपैयाँको विद्युत् खपत हुने गरेको छ । विद्युत् प्राधिकरणले आव ०७३ र ७४ मा नेपालीको वार्षिक आम्दानीका आधारमा यो तथ्यांक निकालेको हो । लोडसेडिङको अन्त्य गर्न भारतबाट बिजुली आयातमा वृद्धि भएको छ । चालू आवको ६ महिनामा ६ अर्ब १२ करोड बराबरको बिजुली आयात भएको छ । अघिल्लो आवमा प्राधिकरणले १८ अर्ब १२ करोड १३ लाखको बिजुली आयात गरेको जनायो । चालू आवको ६ महिनाको अवस्था हेर्दा अघिल्लोचोटिभन्दा केही कम विद्युत् आयात हुन सक्ने तथ्यांकले देखाएको छ । साभार कान्तिपुर











1874133 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
more...
कम्पनी दर्ता : १५३७६१/०७३/०७४
सुचना बिभाग दर्ता : ४११, चन्द्रपुर ४, रौतहट
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © सुप्रिम संचार प्रा. लि. २०७५ मा सुरक्षित रहनेछ ।
Top