logo
10 Dec 2018   |   
राजनीति

वीरगन्जको पक्षमा बाराका अगुवा



राजनीति   127 पटक पढिएको   वीरगन्ज २४ पुस     
प्रदेश २ को राजधानी वीरगन्जलाई बनाउनुपर्ने माग गर्दै शुक्रबारदेखि जारी रिले अनशनमा बाराका दल र नागरिक समाजका अगुवा पनि सहभागी भएका छन् । वीरगन्जमा जारी अन्दोलनप्रति ऐक्यबद्धता जनाउँदै बाराका अगुवा आइतबार अनशन बसेका हुन् । आइतबार तेस्रो दिनको रिले अनशनमा बाराका १४ जना बसे ।



अनशन बस्नेमा तरुण दल बाराका अध्यक्ष लोकेश सिंह, प्रसौनीका नागरिक समाजका अध्यक्ष विनोद पटेल, महिला एकीकृत सञ्जालकी अध्यक्ष बबिता जयसवालसहित जुगलकिशोर साह, अनिलकुमार साह, विनेश महतो, राहुल गुप्ता, ललिन्द्र पटेल, मीना सिंह, सुरेन्द्र पटेल, गौरीशंकर साह, तेजनाथ पटेल, सकलदेव मुखिया, ललिदेव पटेल र राम एकवाल पटेल छन् ।

‘वीरगन्ज पर्सा र बाराको मात्र होइन, प्रदेश नम्बर २ कै प्रमुख सहर हो । वीरगन्ज विकसित र समृद्ध भयो भने यसको लाभ बारावासीलाई पनि पुग्नेछ’, महिला एकीकृत सञ्जालकी अध्यक्ष जयसवालले भनिन्, ‘वीरगन्जका लागि भइरहेको यो आन्दोलनमा पर्सा र बारा मात्र होइन, छिमेकका रौतहट र सर्लाहीका जनताले पनि साथ दिनुपर्छ ।’

प्रदेश राजधानी वीरगन्जलाई बनाए सेवासुविधा लिन पर्सा, बारा, रौतहट र सर्लाहीका जनतालाई धेरै सहज हुने उनले बताइन् । भनिन्, ‘प्रदेश २ का आठ जिल्लामध्ये राजधानीका लागि चाहिने भौतिक पूर्वाधार वीरगन्जमै छ । तर, सरकारले राजधानीका सवालमा वीरगन्जलाई विभेद गर्दै छ । यो विभेदविरुद्ध सम्पूर्ण बारावासी लड्छौं । वीरगन्जलाई राजधानी बनाइछाड्छौं ।’

वीरगन्जलाई प्रदेश राजधानी बनाउनका लागि भइरहेको आन्दोलनमा दिलोज्यान दिएर लागेको तरुण दलका अध्यक्ष सिंहले बताए । ‘हाम्रो निरन्तरको दबाब र आन्दोलनकै कारण अस्थायी राजधानी तोक्ने निर्णयबाट सरकार एक कदम पछाडि हटेको छ’, उनले भने, ‘राजधानीका लागि चाहिने सबै सूचक वीरगन्जमा छन् । तैपनि, अन्य सहरको नाम प्रस्तावमा ल्याएर सरकारले वीरगन्जलाई उपेक्षा गर्‍यो । हामीलाई राजधानी वीरगन्जमै चाहिन्छ ।’

वीरगन्जमा चलिरहेको आन्दोलनप्रति ऐक्यबद्धता जनाउनेको संख्या बढ्दै गएको छ । प्लास्टिक उद्योग व्यवसाय संघ पर्साले आन्दोलनप्रति ऐक्यबद्धता जनाएको छ । संघका अध्यक्ष कुवेर गुप्ताको नेतृत्वमा अनशनस्थल पुगेका व्यवसायीले आन्दोलनका लागि जस्तोसुकै सहयोग गर्न तयार रहेको बताएका थिए । गोपाल सेवा समिति पर्साले पनि आन्दोलनप्रति ऐक्यबद्धता जनाएको छ । वीरगन्ज उद्योग वाणिज्य संघले आइतबार विज्ञप्तिमार्फत प्रदेश राजधानी वीरगन्जलाई बनाउन माग गरेको छ । साभार अन्नपुर्ण












2087647 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
more...
कम्पनी दर्ता : १५३७६१/०७३/०७४
सुचना बिभाग दर्ता : ४११, चन्द्रपुर ४, रौतहट
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © सुप्रिम संचार प्रा. लि. २०७५ मा सुरक्षित रहनेछ ।
Top