logo
19 Oct 2018   |   
खेलकुद

लिभरपुल र सेभिल अगाडि



खेलकुद   95 पटक पढिएको        
लिभरपुल, सेभिल, साख्तर डोनेस्क र एफसी पोर्टो युरोपियन च्याम्पियन्स लिग फुटबलको नकआउट चरणमा पुगेका छन् ।



बिहीबार बिहानको खेलसँगै च्याम्पियन्स लिगको नकआउट चरणमा पुग्ने १६ वटै टोलीको टुंगो पनि लागेको छ । समूह ‘ई’ अन्तर्गतको खेलमा इङ्लिस प्रिमियर लिग क्लब लिभरपुलले रुसी प्रतिद्वन्द्वी स्पार्टक मस्कोलाई ७—० गोलको फराकिलोअन्तरले हरायो ।

घरेलु मैदानमा खेलिएको समूहगत चरणको आफ्नो अन्तिम खेलमा लिभरपुलका लागि फिलिप कोउटिन्होले ह्याट्रिक गरे । कोउटिन्होले क्लबका लागि गरेको यो पहिलो ह्याट्रिक हो । साडियो मेनले दुई तथा मोहमद सलाह र रोबर्टो फर्मिनोले एक÷एक गोल गरे । लिभरपुलको जितपछि यसपटक इङ्ल्यान्डबाट च्याम्पियन्स लिगको नकआउट चरणमा पुग्ने टोलीको संख्या पाँच पुगेको छ ।

च्याम्पियन्स लिगको इतिहासमा कुनै पनि राष्ट्रबाट पाँचवटा टोली नकआउट चरणमा पुगेको यो पहिलो पटक हो । इङ्यान्डबाट म्यानचेस्टर सिटी, चेल्सी, म्यानचेस्टर युनाइटेड र टोट्टनहाम यसअघि नै प्रतियोगिताको नकआउट चरणमा पुगिसकेका छन् । सोही समूहको अर्को खेलमा स्पेनिस क्लब सेभिलले स्लोभेनियाको मारिबोरलाई उसैको मैदानमा १—१ गोलको बराबरीमा रोक्दै नकआउट चरणमा स्थान पक्का गरेको हो ।

खेल सुरु भएको १०औं मिनेटमै घरेलु टोली मारिबोरका लागि टाभरेजले पहिलो गोल गरेका थिए । ७५औं मिनेटमा सेभिलका पाउलो गान्सोले जवाफी गोल गरेपछि खेल बराबरीमा सकिएको थियो । उक्त समूहबाट ६ खेलमै अपराजित रहँदै लिभरपुल १२ अंकसहित विजेताका रूपमा नकआउट चरणमा पुगेको हो । सेभिल भने नौ अंकसहित उपविजेताका रूपमा अगाडि बढ्यो । ६ अंकसहित तेस्रो स्थानमा रहेको मस्कोले युरोपा लिग खेल्ने अवसर पायो ।

यसैगरी समूह ‘एफ’अन्तर्गतको खेलमा युक्रेनी क्लब साख्तरले घरेलु मैदानको फाइदा उठाउँदै बलियो इङ्लिस प्रतिद्वन्द्वी म्यानचेस्टर सिटीलाई २—१ गोलले हरायो । साख्तरका लागि २६औं मिनेटमा बेर्नार्ड र ३२औं मिनेटमा इस्माइलीले एक÷एक गोल गरे । म्यानचेस्टर सिटीका लागि भने एकमात्र गोल खेलको अन्तिम समयमा सर्जियो एगुएरोले पेनाल्टीमार्फत गरेका थिए ।

सोही समूहको अर्को खेलमा डच क्लब फेयनुर्डले घरेलु मैदानमा बलियो इटालियन क्लब नापोलीलाई २—१ गोलले हरायो । उक्त नतिजापछि नापोली र फेयनुर्ड दुवै टोली उपाधि होडबाट बाहिरिए । उक्त समूहबाट १५ अंकसहित म्यानचेस्टर सिटी विजेता र १२ अंकसहित साख्तर उपविजेताका रूपमा नकआउट चरणमा पुगे । ६ अंकसहित तेस्रो भएको नापोली भने युरोपा लिगमा छनोट भयो ।

समूह ‘जी’अन्तर्गतको खेलमा पोर्चुगिज क्लब एफसी पोर्टोले घरेलु मैदानमा फ्रेन्च लिग क्लब मोनाकोलाई ५—२ गोलले हराउँदै नकआउट चरणमा स्थान पक्का गरेको हो । सोही समूहको अर्को खेलमा टर्कीको बेसिक्टसले जर्मन प्रतिद्वन्द्वी राजेनबलस्पोटर््स लिपजिगलाई उसैको मैदानमा २—१ गोलले पाखा लगायो । उक्त समूहबाट १४ अंकसहित बेसिक्टस विजेता र १० अंकसहित एफसी पोर्टो उपविजेताका रूपमा नकआउट चरणमा पुग्न सफल भए । सात अंकसहित तेस्रो भएको लिपजिग भने युरोपा लिगतर्फ लाग्यो ।

यसैगरी समूह ‘एच’ अन्तर्गतको खेलमा स्पेनिस क्लब रियल म्याड्रिडले घरेलु मैदानमा जर्मन क्लब बोरुसिया डर्टमन्डलाई ३—२ गोलले हरायो । अर्को खेलमा टोट्टनहामले पनि घरेलु मैदानमै साइप्रसको एपोएल निकोसियालाई ३—० गोलले पाखा लगायो । उक्त समूहबाट अपराजित रहँदै टोट्टनहाम १६ अंकसहित विजेता र रियल म्याड्रिड १३ अंकसहित उपविजेताका रूपमा यसअघि नै नकआउट चरणमा पुगिसकेका छन् । बोरुसिया डर्टमन्ड दुई अंकसहित युरोपा लिगमा छनोट भयो ।

रियल म्याड्रिडका लागि बोर्जा मायोरलले आठौं, क्रिस्टियानो रोनाल्डोले १२औं र लुकास भाजक्वेजले ८१औं मिनेटमा गोल गरे । उक्त खेलमा रोनाल्डोले कीर्तिमान पनि बनाए । उनी समूहगत चरणको सबै खेलमा गोल गर्ने विश्वकै एकमात्र खेलाडी बनेका छन् । बोरुसिया डर्टमन्डका लागि भने दुवै गोल पियर एमरिकल ४३औं र ४९औं मिनेटमा गरेका थिए । निकोरियाविरुद्घको खेलमा भने टोट्टनहामका लागि फर्नान्डो लोरेन्ट, ह्युङ मिन सन र जर्जेस एनकोडुले एक÷एक गोल गरेका थिए ।

नकआउट चरणमा पुग्ने टोली ः

म्यानचेस्टर युनाइटेड (इङ्ल्यान्ड), एफसी बासेल (स्विट्जरल्यान्ड), पेरिस सेन्ट जर्मन (फ्रान्स), बायर्न म्युनिख (जर्मनी), एएस रोमा (इटाली), चेल्सी (इङ्ल्यान्ड), बार्सिलोना (स्पेन), युभेन्ट्स (इटाली), लिभरपुल (इङ्ल्यान्ड), सेभिल (स्पेन), म्यानचेस्टर सिटी (इङ्ल्यान्ड), साख्तर डोनेस्क (युक्रेन), बेसिक्टस (टर्की), एफसी पोर्टो (पोर्चुगल), टोट्टनहाम (इङ्ल्यान्ड) र रियल म्याड्रिड (स्पेन) ।

युरोपा लिगमा छनोट हुने टोली ः

सीएसकेए मस्को (रुस), सेल्टिक (स्कटल्यान्ड), एट्लेटिको म्याड्रिड (स्पेन), स्पोर्टिङ सिपी (पोर्चुगल), स्पार्टक मस्को (रुस), नापोली (इटाली), आरबी लिपजिग (जर्मनी) र बोरुसिया डर्टमन्ड (जर्मनी) । साभार अन्नपुर्ण












1782659 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
more...
कम्पनी दर्ता : १५३७६१/०७३/०७४
सुचना बिभाग दर्ता : ४११, चन्द्रपुर ४, रौतहट
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © सुप्रिम संचार प्रा. लि. २०७५ मा सुरक्षित रहनेछ ।
Top