विचार


आफूभन्दा सक्षम लोग्ने रोज्छौं अनि जीवनभर हेपिन्छौं

विचार 27 पटक पढिएको प्रकाशित मिति:


आफूभन्दा सक्षम लोग्ने रोज्छौं अनि जीवनभर हेपिन्छौं

निरूपा प्रसून / सीमा कार्की स्कुल पढ्दाकी मेरी प्यारी साथी । समाजशास्त्रमा स्नातकोत्तर गरेपछि ऊ अहिले प्रतिष्ठित अन्तर्राष्ट्रिय गैरसरकारी संंस्थासँग आबद्ध छे ।

 स्नातक अध्ययन गर्ने क्रममा ऊ एउटा टेलिभिजन कार्यक्रम चलाउँथी । त्यही कार्यक्रम फलो गरिरहेको थियो एउटा कुनै युवकले ।


 दुबईमा बस्ने उक्त युवक कार्यक्रमभन्दा बढी सीमाको डाइहार्ट फ्यान हुन पुग्यो । बिस्तारै कार्यक्रम सञ्चालिका र ती युवा दर्शकबीच सम्पर्क हुन थाल्यो । अन्तत: उक्त सम्पर्क प्रेममा परिणत भयो । उसको प्रेम प्रस्ताव स्वीकार गरी सीमाले । आज पनि उनीहरूको प्रेम चलिरहेकै छ । 

 
ऊ विवाह गर्न चाहन्छ तर सीमा टारिरहन्छे । सबै कुरा ठीकठाक भए पनि सीमालाई एउटै कुरामा सकस छ । प्लस टु मात्र पास छ युवक, आफू भने डिग्री होल्डर । यसैमा संकोच छ उसलाई र, सीमाले पनि विवाहको निर्णय गर्न सकिरहेकी छैन । युवकले दुबईमा बचत गर्ने पैसाभन्दा धेरै कमाउँछे ऊ । ‘दिदीहरू निकै धनी छन्, उनीहरूको अगाडि म त एकदमै तल देखिन्छु यार,’ सीमा मलाई सुनाउँछे, ‘ऊ सम्पत्ति भएको केटो पनि होइन तर म उसलाई छोड्न पनि सक्दिन ।’ अझै सीमा दुई–चार वर्ष केटोको स्टाटस परिवर्तन भैहाल्छ कि भनेर कुर्ने पक्षमा छे । यो त एउटा उदाहरण मात्र हो । जति पनि सक्षम नारीहरू छन्, उनीहरूमध्ये कोही पनि चाहँदैनन् आफूभन्दा कमजोर पुरुषसँग विवाह गर्न । बराबरी नै चाहने हो भने र समाजको संरचनामा दुवै सहभागी हुने हो भने किन साँघुरो सोच राख्ने ? किन परम्परामै रमाउने ? किन हामी हेपियांै वा थिचियांै भन्ने ? जतिसुकै सक्षम भए पनि लोग्नेको खुट्टाको पानी पिउन लालायित भैरहने हो भने केका खातिर परिवर्तन ? हामीलाई लोग्नेको खुट्टा निकै प्यारो छ भने किन कुम जोड्ने सपना देख्ने ?

 
प्रश्नहरू धेरै छन् । हामी आफूभन्दा कमजोर र कम शिक्षितसँग विवाह गर्ने र घर–व्यवहार चलाउने आँट किन गर्न सक्दैनौं ? हुन त हामीलाई लोग्नेको नेतृत्वमा रहेर आफू दीनहीन हुनैमा आनन्द आउँछ कि ? शरणार्थीझैं महसुस गर्नमै मज्जा छ कि कुन्नि ? यस्तो सोच र व्यवहारले बराबरी भन्नुको अर्थ होला त ? अर्को कुरा, त्यही काम पुरुषको कर्तव्य हुने नारीको चाहिँ कर्तव्य हुँदैन ? अक्सर महिलाहरू आफूभन्दा सक्षम र उमेरमा आफूभन्दा परिपक्व पुरुष रोज्छन् अनि जीवनभर हेपिन बाध्य हुन्छन् । हामीले सबैभन्दा पहिले आफ्नो सोच बदल्नु जरुरी छ । पुरुषहरूले जसरी हेपेका थिए, त्यसैगरी हामीले पनि उनीहरूलाई हेप्नुपर्छ भन्ने छैन । बदला लिनुपर्छ भन्ने पनि होइन तर उनीहरूभन्दा सक्षम बनेर प्रस्तुत भए त भैहाल्यो नि । 

 

मलाई लाग्छ–हामीहरू पढाइ, पैसा तथा बुद्धिमा आफूभन्दा सक्षम र उमेरमा ठूलो लोग्ने रोज्छांैं । जुन दिन हामी यो सिद्धान्तबाट मुक्त हुन्छौं, त्यो समयदेखि हामीमाथिको हेपाहा प्रवृत्ति पनि स्वत: घटेर जानेछ । त्यो दिन हामीले कल्पना गरेको र सधैं भनिआएको एक रथका दुई पांग्रा हुन्छौं कि ?
हामी डराउँछौं परिवारसँग–समाजसँग । अरुले के भन्ला भन्छौं । हामी आफ्ना लागि कम अरुका लागि बढी बाँचिरहेका छौं । एउटी युवती आफूभन्दा कमजोर युवकसँग विवाह गर्न तयार हुन्छे भने त्यहाँ छरछिमेक एवं आफन्तहरू जिब्रो टोक्न थाल्छन् । आँखा सन्काउन थाल्छन् । केटीमा पो केही खराबी छ कि भनेर अनुमान गर्न थाल्छन् । 


यस्तो छ हाम्रो समाज अनि हामी ? तर हामी आफैं खुट्टामा बाँधिएको साङ्लो छुटाउन किन खोजिरहेका छैनांै ? किन हामी परम्परालाई धानिरहेका छांै बिरालो बाँधेर श्राद्ध गरेझैं । पुरानो चलन समाप्त गर्न र नयाँ चलन प्रारम्भ गर्न पक्कै कोही न कोही त चाहिन्छ । किन आजका नारीले यो सुरुवात नगर्ने ? पुरुषसरह सक्षम हुँदाहुँदै पनि किन हामी आफूभन्दा बलियो संरक्षण खोज्छांै ? किन आफूलाई जहिले पनि कमजोर मान्छौं ? कसरी हामी नारीले पुरुषभन्दा दीनहीन हुनुपर्छ भन्ने मान्यतामा रमाइरहेका छौं ? कुन तत्वले काम गरिरहेको छ हामीमाथि ?

 
यी र यस्तै अरू प्रश्नहरूका कारण घनचक्करमा पर्छु म बेलाबेला । हो, नारी–पुरुषको शरीरको संरचना अलग छ । नारी पुरुषको तुलनामा छिट्टै बूढी देखिन्छे, यो सत्य हो । यसो भयो भन्दैमा के सधंै आफूभन्दा ठूलो उमेरको पुरुषसँग मात्र विवाह गर्नुपर्छ त ? आफूभन्दा सानो उमेरको पुरुषसँग विवाह गरेर बुढेसकालमा आफ्नो सेवा गर्ने अवसर दिन सकिँदैन ? लोग्नेको सेवा–सुसार गर्नु नारीको मात्र कर्तव्य हो ? कहिले आउँछ होला त्यस्तो दिन जब पुरूषले पनि नारीको सेवालाई आफ्नो कर्तव्य मान्छन् । एक पुरुष मित्र भन्छन्, ‘हेप्नु पुरुषहरूको प्रवृत्ति हो ।’ 

 


तर म भन्छु, ‘सक्षमले मात्र हेप्ने भन्ने कुरा गलत हो ।’उनी भन्छन्, ‘हाम्रो समाजमा छोरी पाल्न सक्ने ज्वाइँ खोज्ने परम्परा छ । त्यही कारणले पुरुषहरू नारीभन्दा सक्षम देखिन्छन् । खासमा आफूभन्दा सक्षम पुरुष खोज्नुमा नारीको पनि आफ्नै स्वार्थ हुन्छ । केटो बेरोजगार भए के भो त, इमानदार भए भैहाल्यो । आफ्नै बुवाआमाको सम्पत्तिले कुनै व्यापार–व्यवसाय गरौंला भनेर अघि सर्ने नारी फेला पार्न निकै गाह्रो छ ।’ साँच्चै यस्तो देख्न पाउँदैनांै हामी ? हामी त्यस्तो आँट गर्न सक्दैनौं ? मात्र सुरक्षा खोज्छांै हामी तर सुरक्षा दिन सक्षम भए पनि किन विमुख हुन्छांै ? कुरामा मात्र बराबरी खोज्छौं तर त्यसलाई व्यवहारमा उतार्न हामी आफै पछि हटिरहेका छौं ।

 


यसको अर्थ बेकम्मा श्रीमान् रोज्नुपर्छ भन्ने होइन । यदि बेकम्मा नै परेछ भने पनि उसलाई स्वीकार गर्ने हिम्मत हुनुपर्‍यो । हामीमा आँट हुनुपर्‍यो । जो सक्षम छन्, उनीहरूलाई प्रश्न हो–हामी आफंै सक्षम हुँदाहुँदै पनि किन आफूभन्दा ठूलो हैसियत भएको पुरुष रोज्छौं र दिनहुँ हेपाइ खेपिरहन्छौं । 
हामी भन्नलाई मात्र भनिरहेका हुन्छांै–नारी आधा आकाश तर हामी आफैंले उक्त आधा हिस्सामा अधिकार जमाउन सकेका छैनौं । एकै रथका दुई पांग्रा पनि भनिरहन्छौं तर एउटा पांग्रा सधैं कमजोर नै देखिन्छ । 

 


आदिकालमा मातृसत्ता भए पनि पछि पितृसत्ताले जरो गाड्यो । आजपर्यन्त हामीले भोगिरहेका छांै त्यो कटु यथार्थलाई । सबैभन्दा धेरै त हामीले सतीप्रथा र बहुपत्नी प्रवृत्ति भोग्यांै । छोरा र छोरीबीचको विभेद भोग्यांै । अनेकौं विभेदको डढेलोका बाबजुद हाम्रो अस्तित्व मासिएन । मासिने कुरै थिएन आखिर मानव जन्माउने नै हामी थियौं, हौं र, रहिरहनेछौं । पुरुष सत्ताका अनेकौं उल्झनमा पिल्सदै, चेप्टिदै र खुम्चदै हामी आज २१ औं शताब्दीमा आइपुगेका छौं । सहर–बजारमा छोरासरह छोरीको स्थान बनिसकेको छ । म यतिबेला नारीको वकालत गरिरहेकी छैन । हामी आफू जलेर मैनबत्तीझैं परिवारलाई उज्यालो दिइरहनुपर्छ पनि भनिरहेकी छैन । नारीले आफू सक्षम हुँ भनेर साबित गर्ने दिनको पर्खाइमा छु म । 

 


समयको बहावसँगै सुन्दर वर्तमान आइसकेको छ । हामी थोरै संख्यामा भए पनि पुरुषसरह सक्षम भैसकेका छांै तर त्यो क्षमतालाई पुरुषसरह प्रयोगमा ल्याउन भने डराइरहेका छौं । हामीलाई डर छ या त परिवारसँग या समाजसँग या आफैसँग । यो समाजमा सक्षमले असक्षमलाई हेप्नु कुनै नौलो कुरा होइन । सक्षम हुँदैमा हेप्नैपर्छ भन्ने छैन । नारी साँच्चै पृथ्वी हो । योग्य र राम्रा कुराको संरक्षण गर्न सक्छे ऊ । नारी महासागर पनि हो, जसले फोहोर कुरालाई जरैदेखि निमिट्यान्न बनाउन सक्छे तर अलिकति साहस र आँट त चाहियो नि । 

 
अहिले राष्ट्रका महत्वपूर्ण तीनवटै पदमा नारी आसीन छन् । यो भन्दा सुन्दर कुरा हाम्रा लागि अरु केही हुनै सक्दैन । अब घरघरमा पनि हुनुपर्‍यो । आर्थिक रूपमा, मनोवैज्ञानिक रूपमा आफू सक्षम हुनुपर्‍यो । हामीले आफैंप्रति विश्वास गर्ने कहिले हो ? समाजको पितृसत्ता बदल्नुपर्‍यो । आर्थिक शक्ति, चेतना आदि सबैमा प्रतिस्पर्धा हुनुपर्‍यो । आफ्नो शक्तिमा किन विश्वास गर्न नसकेका हामीले ? नारीका हक–अधिकारलाई लिएर सुरु गरिएका अनेकौं एनजिओ–आइएनजिओ छन् बस औपचारिक वा कानुनी रूपमा मात्र । हाम्रो अधिकार कहिलेदेखि लागू हुने हो व्यवहारमा ? त्यसतर्फ पनि ध्यान दिने हो कि ? अहिले विश्वभर ‘शक्तिको विमर्श’ का बारेमा चर्चा चलिरहँदा हामी नेपाली नारी भने पानी नै नपिई महादेवजस्तो लोग्ने पाउने आशा अनि आफ्नो लोग्नेको दीर्घायुका लागि समर्पित छौं ।

 

पितृसत्ताको जरो यसरी गाडिएको छ कि आजसम्म हामी उनीहरूका दास नै छौं । यो दास प्रवृत्तिकै कारण आज हामी आफ्नो क्षमता र शक्ति पनि चिनिरहेका छैनौं । शक्ति, ज्ञान, सत्ता, सम्पत्ति, जिम्मेवारी र राजनीति यिनै प्रमुख तत्व हुन् जसका कारण पितृसत्ताको उदय भयो । यी तत्वले अहिले हामीलाई पनि साथ दिएका छन् आंशिक रूपमै भए पनि किन हामी त्यसको उपयोग गरिरहेका छैनौं ? किन हामी कुरैमा सीमित छौं ? शक्ति, ज्ञान, सत्ता, शिक्षा, सम्पत्ति, जिम्मेवारी एवं राजनीति हरकुरामा आफूभन्दा सक्षम लोग्ने रोज्ने र उसको निर्देशनमा आफूलाई ढाल्दै जिन्दगी बिताउने ? बिताउनु के जिन्दगी घिसार्ने । के हामीले सधैं यसैगरी पुरुषको सुरक्षा खोजिरहने ?

##  साभार : नारी पत्रिकाबाट




कमेन्टसहरु



सम्बन्धित शिर्षक समाचारहरु


1 2 NEXT

English News



648985 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
Contact Us
All right reserved 2017 © Suprim Sanchar Pvt. Ltd.
Powered by :
Top