logo
09 Dec 2018   |   
बिदेश

प्रधानमन्त्री अबेलाई दुईतिहाइ बहुमत



बिदेश   118 पटक पढिएको        
टोकियो: प्रधानमन्त्री सिन्जो अबेको दलको गठबन्धनलाई दुईतिहाइ बहुमत प्राप्त भएको छ । जापानमा आइतबार मध्यावधि निर्वाचन सम्पन्न भएको थियो



प्रधानमन्त्री अबेको दल लिबरल डेमोक्रेटिक पार्टी (एलडिपी)ले दुई सय ८३ स्थानमा जित हात पारेको हो । जापानको प्रतिनिधिसभा चार सय ६५ सदस्यीय छ । सत्ता गठबन्धनमा रहेको अर्को दल कोमेइतो पार्टीले २९ स्थानमा जित हासिल गरेको छ । एलडिपी र कोइमेतो पार्टीले समग्रमा तीन सय १२ स्थानमा जित हात पारेका हुन् । यो संख्या प्रतिनिधिसभाको दुईतिहाइ बहुमत हो ।

नयाँ आर्थिक मोडेल

प्रधानमन्त्री अबेले मध्यावधि चुनाव घोषणा गर्दा जापानमा नयाँ आर्थिक मोडेल लागू गर्ने बताएका थिए । उनले यसलाई ‘अबेनोमिक्स’ नाम दिएका छन् । नयाँ आर्थिक योजनाअनुसार ट्याक्सलाई बढी प्राथमिकता दिने बताइएको छ । उनले जापानको आर्थिक अवस्था बलियो बनाउन त्यसमा देखेको समस्या समाधान हुने बताएका छन् । जापानलाई आणविक रूपमा समेत सबल बनाउन समयअनुसार आणविक नीति निर्माण गर्ने योजना उनको छ ।

उत्तर कोरियाविरुद्ध नीति

पछिल्लो समय उत्तर कोरियाले निरन्तर रूपमा आणविक क्षेप्यास्त्र प्रयोग गरिरहेको छ । जापानको भूमि लक्षित गरी उत्तर कोरियाले दुईपटक क्षेप्यास्त्र परीक्षण गरिसकेको छ । तर, जापानले अहिलेसम्म त्यसको कुनै उत्तर फर्काएको छैन । प्रधानमन्त्री अबेले आणविक हतियारको प्रदर्शनविरुद्धमा आवश्यक नीति अख्तियार गर्न आफू तयार भएको बताएका छन् । निर्वाचनमा आफ्नो गठबन्धन पार्टीले बहुमत प्राप्त गरेपछि आणविक नीति बनाउन कुनै गाह्रो नहुने उनको भनाइ छ ।

जनताको चाहना पूरा हुने

निर्वाचनमा बहुमत प्राप्त गरेपछि प्रधानमन्त्री अबेले जनताको चाहनाअनुरूप काम गर्ने र उनीहरूको चाहना पूरा गर्ने प्रतिबद्धता दिएका छन् । एलडिपीलाई बहुमत दिलाएकोमा जनतालाई अबेले धन्यवाद पनि दिएका छन् । ‘म यो जितलाई विनम्रतापूर्वक स्वागत र स्वीकार गर्न चाहन्छु, अब मेरो लक्ष्य नै जापानी जनताको इच्छा र चाहनाअनुसार काम गर्नु हो,’ स्थानीय टेलिभिजनमा कुराकानी गर्दै अबेले भने, ‘जनमतको कदर गर्दै संविधान संशोधनतर्फ लाग्नेछु, आगामी दिनमा हुने मेरा कामलाई सबैले सहयोग गर्ने विश्वास लिएको छु ।’

इतिहास रच्दै अबे

अबे दोस्रो विश्वयुद्धपछि जापानमा सबैभन्दा बढी समय सरकारको नेतृत्व गर्ने नेताका रूपमा रहेका छन् । जापानी प्रसारण संस्था एनएचकेका अनुसार अहिले १० स्थानको परिणाम आउन बाँकी छ । स्थानीय एजेन्सीहरूले ती १० स्थानको मतगणना जारी रहेको बताएका छन् । पछिल्लोपटक प्रधानमन्त्री अबेले ६५ प्रतिशत स्थानमा जित निकालेका थिए । सन् २००६ मा सबैभन्दा युवा प्रधानमन्त्रीका रूपमा अबे निर्वाचित भएका थिए । त्यसवेला उनको उमेर ५२ वर्ष मात्र थियो । अबे दोस्रोपटक २०१२ मा निर्वाचित भए । दोस्रो विश्वयुद्धपछि जन्मेका व्यक्तिमध्ये प्रधानमन्त्री हुने अबे पहिलो जापानी हुन् ।



साभार : नयाँ पत्रिका












2085084 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
more...
कम्पनी दर्ता : १५३७६१/०७३/०७४
सुचना बिभाग दर्ता : ४११, चन्द्रपुर ४, रौतहट
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © सुप्रिम संचार प्रा. लि. २०७५ मा सुरक्षित रहनेछ ।
Top