विचार


प्रदिप पौडेल लाइ खुल्ला पत्र : कांग्रेस नै सुहाउँछ, वाइसीएल नबन्नुस् प्रदीप पौडेलजी !

विचार 58 पटक पढिएको प्रकाशित मिति:


प्रदिप पौडेल लाइ खुल्ला पत्र : कांग्रेस नै सुहाउँछ, वाइसीएल नबन्नुस् प्रदीप पौडेलजी !

.जीएस पौडेल / नेपाली कांग्रेसका केन्द्रीय नेता प्रदीप पौडेलजी, हार्दिक नमस्कार ! , एमाले अध्यक्ष केपी ओलीलाई कान्तिपुरमा खुला पत्र लेख्नु भएको रहेछ, लिंक मार्फत त्यो पढेँ ।

त्यसबारेमा तपाईंलाई पत्र लेख्नुअघि म तपाईंलाई मेरो सामान्य परिचय दिन्छु । तपाईंको पार्टीले २५ वर्ष शासनको बागडोर लिएर शेरबहादुर देउवा मार्फत राजालाई लोकतन्त्र बुझाएको देशको नागरिक म आफ्नो गुजारा चलाउन अहिले विदेशी भूमिमा श्रम गरेर आफ्नो परिवार पालिरहेको छु । मेरो दलीय राजनीतिक आवद्धता छैन । पहिलो संविधानसभामा माओवादीको ताण्डव देखेर संविधानसभाको दोस्रो चुनावमा भावावेशमा मेरो परिवारका सदस्यहरुलाई मैले कांग्रेसलाई भोट दिनु भनेर टेलिफोनबाट सुझाव दिए बाहेक मेरो अन्य कुनै पनि राजनीतिक दलसँग प्रत्यक्ष सम्बन्ध छैन । खैर आफ्ना विषयमा अहिलेलाई यति मात्रै भन्छु । तपाईंले ओलीलाई लेखेको पत्रको जवाफ ओलीको पार्टी एमालेका नेताले कसरी लेख्लान् मलाई मतलव छैन, तर केही वर्षयताका घटनाक्रमबाट आफूले गरेको अनुभुतीका आधारमा तपाईंसामु केही कुरा राख्छु । 

अव जाउँ तपाईंले ओलीजीलाई लेखेको पत्रमा । 

प्रदीपजी  ! तपाईंले कान्तिपुरमा ओलीलाई लेख्नु भएको यो पत्रको जवाफ लेख्न बसिरहेका बेला त्यही कान्तिपुर दैनिकको भोलिपल्टको पेज नम्बर ११ मा मेरा आँखा परे । एउटा समाचार शीर्षक छ, तपाईं पनि हेर्नुहोला– जनसत्ताका लिखतलाई मान्यता । माओवादीले उसको हिंसाकालमा चलाएको समानान्तर अदालतले गरेका लिखतलाई रुकुममा अहिले कानुनी मान्यता प्रदान गरिएको कुरा त्यहाँ छ पढ्नु होला । सुरुमै मैले यो प्रसंग किन उठाएको हुँ भने तपाईंका पार्टी सभापति शेरबहादुरको निजी स्वार्थका सामु कांग्रेसलाई यसैगरी सिद्धान्तच्यूत बनाउँदै लैजानु भयो र शेरबहादुरका अनगिन्ती विचलनको तपाईंजस्ता युवाहरु दास बन्दै जानु भयो भने बेलुका कांग्रेस केन्द्रीय सदस्य भएर सुतेको तपाईं बिहान उठ्दा वाइसीएलको सी ग्रेडको कार्यकर्ता बन्ने दिन आउन सक्छ । प्रधानन्यायाधीश विरुद्धको महाभियोग, आइजीपी प्रकरण, राजदूत प्रकरण र पछिल्लो पटक भरतपुर मतपत्र च्यात्ने प्रकरणमा तपाईंको पार्टीको भूमिका र चुनावमा तपाईंको पार्टीको गठबन्धनले यस सम्भावनालाई नजिक पुर्याएको छ । तपाईं कांग्रेसको भलो चाहनुहुन्छ भने ओलीका असल कामको विरोध गरेर होइन, शेरबहादुरका खराव काम सच्याएर मात्रै सम्भव छ प्रदीप पौडेलजी । 

प्रदीप पैडेलजी !

एउटा बदनाम सरकारमा हालीमुहाली गरेको कांग्रेस केन्द्रीय सदस्य तपाईंलाई केपी ओली विरुद्ध खुलापत्र लेख्नु पर्ने कारण किन उत्पन्न हुँदैछ ? लोकमा केपी ओलीको चुलिंदो लोकप्रियता र कांग्रेसको चरम सैद्धान्तिक पतन र क्षतिको न्युनिकरण गर्न तपाईंले पत्र लेखेको पत्र पढेरै स्पष्ट हुन्छ । जसको सही उपचार केपी ओलीको विरोध होइन तपाईंको पार्टी सच्चिनुबाट बाहेक अन्यत्रबाट सम्भव छैन ।  

तपाईंले सुरुमै ओलीले अशिस्ट र अभद्र रुपमा कांग्र्रेस बिरुद्ध प्रचार युद्ध गरेको, पहिलो चरणको स्थानीय निर्वाचनमा कांग्रेसले पाएको सिटप्रति आश्चर्य ब्यक्त गरेको भनी आरोप लगाउनु भएको छ । हो, मलाई पनि आश्चर्य लागेको छ– संविधान जारी गरेयता कांग्रेसले देश र देशको सिस्टम विरुद्ध निभाएको खलनायकी भूमिकाका सामु यति धेरै सिट कांग्रेसले कसरी ल्यायो ? सायद यो प्रश्न तपाईंले शेरबहादुरलाई सोध्नु पथ्र्याे– संविधान जारी गरेपछि मुख्य दलहरुबीच सहकार्य गर्नु हुँदैन भन्ने नीति ल्याएर कांग्रेस किन संविधान विरोधीहरुको पुच्छर सुम्सुम्याउन गयो ? भारतीय नाकाबन्दी र तराईंमा हिंसाको विरासत केपी ओलीलाई जिम्मा लगाएको कांग्रेस किन अमानवीय नाकाबन्दीमा मौन बस्यो ? तराईको हिंसालाई शान्त बनाएर रत्नपार्कमा केही दर्जन ब्यक्तिको रिले अनसनमा सिमित गरेका र भारतीय नाकाबन्दीलाई झुकाएका केपी ओलीको अन्धविरोध गर्नु पर्ने वाध्यता कांग्रेसलाई किन आइपर्यो ? अव कहिल्यै नेपालमाथि नाकाबन्दी लाग्न नसक्नेगरी उत्तरी छिमेकी चीनसित ओलीले पारवहन सम्झौता गर्दा कांग्रेसलाई किन टाउको दुख्यो ? युगौं युगसम्म भारतीय नियन्त्रणमा नेपालको राजनीति अस्थिर राख्ने उद्धेश्यमा कांग्रेस किन सामेल भयो ? हो यिनै भूमिकाका कारण नेपाली नागरिकले कांग्रेसलाई नरुचाएका हुन्, जुन भूमिका नसच्याएसम्म ओलीको विरोध गरेर कांग्रेसको साख फर्किंदैन प्रदीपजी । 

जननायक बीपी कोइराला, गणेशमान सिंह र कृष्णप्रसाद भट्टराईका ऐतिहासिक कालका भूमिका र उनीहरुले त्यसका आधारमा लेखेका आत्मकथाहरु पनि पढ्नुस् । आजको मितिमा बीपी कोइराला बाँचेका भए उनले पनि केपी ओलीलाई आफ्नो सच्चा उत्तराधिकारी भन्ने थिए । निजी स्वार्थले सिद्धान्तच्यूत भएका शेरबहादुर र शेरबहादुरको सत्ताको वरिपरी आफ्नो स्वार्थ रक्षा हुने देखेर तपाईंजस्ता युवा नेताको भूमिका देखेर पनि बीपी सायद खिन्न हुन्थे । माथि उल्लेख गरेका महाभियोगदेखि भरतपुरको मत गणना प्रकरणसम्म आइपुग्दा तपाईंलाई बीपी कोइरालाले निर्माण गरेको कांग्रेस कार्यकर्ता ठान्न कम्तिमा म सक्दिनँ प्रदीपजी । अझ प्रधान्यायाधीशमाथि माथि महाभियोग प्रकरणमा त मेरो सुझाव छ– राजनीतिमा सिद्धान्तको नै वकालत गर्नुहुन्छ भने सानेपाको तपाईंको पार्टी कार्यालयबाट बीपीको तस्बिर हटाएर मोहन वैद्यको तस्बिर झुण्ड्याए हुन्छ । 

तपाईंले केपी ओलीको सरकारसँग स्थानीय चुनावको कार्यसूची नै थिएन भन्नेसम्मको आरोप लगाउनु भएको छ । केपी ओलीले नै संसदबाट अनुमोदन गराएका तीन तहको निर्वाचनका कार्यसूची संसद सचिवालयमा गएर हेर्नुस् । यस विषयमा यति भन्न सक्छु ओलीको सरकार रहेको भए गतवर्ष मंसिरमा स्थानीय चुनाव सकिन्थ्यो र अहिले प्रदेश वा संघीय संसदको चुनावको माहौल तातिरहेको हुन्थ्यो । अहिलेको सरकारले चुनाव टार्न कति पटक स्थानीय तह पुनर्संरचना आयोगको प्रतिवेदन बुझ्नबाट भाग्यो ? ओली र नागरिकहरुको दवाव थेग्न नसकी वाध्य भएर बैशाख ३१ गतेका लागि तोकेको स्थानीय तहको चुनावी माहौल उत्कर्षमा पुग्न लागेका बेला त्यसलाई रोक्न दुई चरणमा चुनाव बाँड्यो । एक चरणको चुनाव भयो, अर्काे चरणका लागि तीनवटा मिति फेरिइसकेका छन् । तपाईंको दल र माओवादी गठबन्धनले चुनाव चाहेको थिएन, चुनाव टार्न असफल भएर चुनाव सफल बनाएको जस लिन खोज्दै हुनुहुन्छ । चुनावप्रति तपाईंको दल इमान्दार भएको भए बैशाख ३१ गते नै देशभर चुनाव सम्पन्न भइसक्थ्यो । राजनीतिलाई बाह्य नियन्णमा लैजान तराईका विभिन्न स्वार्थ समुहहरुको बेलुनमा हावा भरेर विदेशीका लागि स्ट्रेन्थ बनाइदिने काम तपाईंको दलले गर्यो । 

तपाईंको पार्टीका पूर्व सभापति सुशील कोइरालाले क्षतविक्षत पारेको मधेस ओलीलाई हस्तान्तरण गरेका थिए । नाकाबन्दी हस्तान्तरण गरेका थिए । भारत निर्भर नेपाल हस्तान्तरण गरेका थिए । एक सिलिण्डर ग्यासको १५ हजार तिर्नु पर्ने वजार हस्तान्नरण गरेका थिए । अस्पतालमा औषधी नपाएर छट्पटाइरहेका विरामी हस्तान्तरण गरेका थिए । भारतका जस्तासुकै सर्त स्वीकार नगरे नाकाबन्दी सहनु पर्ने विवशता हस्तान्तरण गरेका थिए । त्यसलाई पार लगाएर आत्मनिर्भरताको बाटो खन्ने काम ओलीले गरे । सायद तपाईंहरुसँग ओलीको जस्तो पूँजी नभएर छट्पटाइरहनु भएको छ र तीन तीन पटक अक्षम प्रधानमन्त्री भएर दरवारमा लोकतन्त्र बुझाएर हिंसा निम्त्याएका शेरबहादुर बेच्नु परेको छ । ओलीलाई तपाईंको खुलापत्रले तपाईंको त्यही लघुताभाषी मनोविज्ञान उजागर गरेको छ । 

ओलीले चीसँग गरेको पारवहन सन्धीकै कारण नाकाबन्दीको भारतीय अस्त्र कमजोर भएकोमा भारत पछुतो मानिरहेको छ । तपाईंका शेरबहादुर त्यसलाई कमजोर बनाउन पटक पटक दलाई लामाका कार्यक्रममा सहभागि हुनु भएको छ । मधेस शान्त बनाउने, मधेसमा अहिलेसम्मकै अभूतपूर्व विकासका कार्यक्रम लैजाने केपी ओलीलाई भारतले तयार गरेको ‘मधेस विरोधी ओली’को नारा बेचेर गुजारा चलाउनु पर्ने वाध्यतामा तपाईं हुनुहुन्छ । प्रदीपजी तपाईंहरु सत्तामा हुनुहुन्छ । तराई मधेसका जनतालाई लाइन लागेर शान्तपूर्वक आफ्ना प्रतिनिधि चुन्ने वातावरण मिलाउनुस्, मेरो विश्वास छ त्यहाँ पनि ओली चुनिनेछन् । 
ओलीले मधेसीलाई झरेको आँप भनेको, समथर विहार र मधेसलाई एउटै देखेको भन्ने तपाईंले जुन दुश्प्रचार गरिरहनु भएको छ, त्यो ओलीले होइन ओलीका तर्फबाट तपाईंहरुले भनेको हो । सक्नुहुन्छ भने तपाईंहरुले ल्याएको संविधान संशोधन प्रस्तावले मधेसका जनताले के के अधिकार पाउँछन् प्रष्टसँग कन्टेन्टमा गएर बहस चलाउनुस् प्रदीपजी । 

तपाईंले जसरी केपी ओलीले तराई पहाडलाई जोड्न नदिएको र कांग्रेसले जोड्न खोजेको तर्क दिंदै हुनुहुन्छ त्यसबाट मलाई लाग्छ तपाईंहरुले पढेको शब्दकोष र आम नागरिकले पढेको शब्दकोष नै फरक छ । पहाड र तराईलाई पूर्वदेखि पश्चिमसम्मै अलग प्रदेश बनाउँदा जोडिने र त्यहाँका लाखौं नागरिकले सडकमा उत्रेर हामी परापूर्व कालदेखि मिलेर बसेका छौं नछुट्याउ भन्दा फोडिने हुन्छ ? प्रदीपजीहरुको यस्तो अल्टर शब्दकोशले केही समय भ्रम बाँड्न सक्छ तर, ती सबै समाप्त हुन्छन् । अहिले भइरहेको पनि त्यही छ । 

प्रदीप पौडेलहरुको अहिलेको दुःख के हो भने ओलीले प्रधानमन्त्री भएका बेला जे जे कामको सुरुवात गरे त्यसलाई उहाँहरुले हावादारी भनेर उडाउनु भयो । नेपाल–चीन पारवहन र यातायात सम्झौता गरेपछि ओलीका विरुद्ध तपाईंहरु वालुवाटार अगाडि कागजका रेल बोकेर उडाउन जानु भएको थियो । आज तपाईंहरुको घोषणा पत्रको गातामै रेलको चित्र छ । २५ वर्षसम्म पटक पटक बहुमतको सरकार चलाएर देशका नागरिकलाई अरवको मरुभूमिमा उँटको हली बन्न वाध्य बनाउने तपाईंहरुलाई यहाँ रेल आएको, ग्यास, पेट्रोल र फलाम खानी चलेको, आफ्नै लगानीमा द्रूतमार्गहरु बनेको सह्य छैन । जनताले ओलीका तिनै योजना मन पराए, तपाईंको छटपटी यही हो र ओलीलाई तपाईंको खुलापत्रले मौन रुपमा प्रदर्शन गरेको मनोदशा पनि यही हो । 
 साभार: चक्रपथ डकटक बाट




कमेन्टसहरु



सम्बन्धित शिर्षक समाचारहरु


1 2 NEXT

English News



648940 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
Contact Us
All right reserved 2017 © Suprim Sanchar Pvt. Ltd.
Powered by :
Top