विचार


आइएनजिओको विकासमा पारदर्शिता आवश्यक

विचार 40 पटक पढिएको सञ्जय साह 'मित्र' प्रकाशित मिति:


आइएनजिओको विकासमा पारदर्शिता आवश्यक

अहिले हाम्रो देश विकासको पथमा लम्केको छ । देशको विकासमा धेरै पक्षको सकारात्मक योगदान रहेको छ । धेरै देशका बुद्धिजीवीहरूले बुद्धि दिएका छन् । धेरैले हामीलाई अर्थ दिएका छन् ।
धेरैले आफैंले हामीकहाँ काम गरेर देखाएका छन् । नेपालीलाई विदेशमा बोलाएर काम गर्ने तरिका सिकाएका छन् । नेपालीलाई आप्mनो देशमा रोजगार दिएर हाम्रो देशको विकासमा योगदान गर्नेहरूको कमी छैन । देश विकासको काम लरतरो पक्कै होइन । यस अर्थमा हाम्रो देशको विकासमा देश र विदेशले गरेको सबै सकारात्मक कामको हामीले साँच्चै प्रशंसा गर्नुपर्छ । देशको विकासका लागि सकारात्मक सोच राखेर सहानुभूति प्रकट गर्ने सबैलाई धन्यवाद दिनैपर्छ ।
    देशको विकासमा अनेक किसिमले योगदान दिनेहरूमध्ये एनजिओ र आइएनजिओहरूको ठूलो योगदान रहेको छ । देशभित्र हजारौं एनजिओहरू रहेका छन् । हजारौं एनजिओहरूले लाखौंलाई प्रत्यक्ष रोजगार दिएका छन् । अप्रत्यक्षरूपमा त्यत्तिकैलाई थप रोजगार दिएको छ । देशमा एनजिओको साथै आइएनजिओहरूले पनि देशमा काम गरिरहेका छन् । देशमा सयभन्दा बढी आइएनजिओहरूले काम गरिरहेका छन् । आइएनजिओहरूको देशमा बर्सेनि अर्बौं रुपियाँ लगानी गरिरहेका छन् । हालै सार्वजनिक एउटा तथ्याङ्क अनुसार गत आर्थिक वर्षमा तराई–मधेसमा आइएनजिओहरूले तेइस अर्ब रुपियाँभन्दा बढी खर्च गरेका छन् । स।सर्ती हेर्दा यो रकम निकै ठूलो देखिन्छ । हरेक जिल्लाको भागमा एक अर्बभन्दा बढी खर्च भएकोले यस क्षेत्रको विकासमा सहयोग पुगेकै होला । सामान्यतया भौतिक निर्माणलाई विकास मानिने हाम्रो समाजमा नैतिकताको विकास, जागरण र चेतनाको विकासलाई विकासको सहायकको रूपमा लिने गरिएको छ तर सामाजिक जागरण पनि विकासको ठूलो फडको हो । हाम्रो समाजमा विगत दश वर्षमा आएको जागरण साँच्चै अकल्पनीय छ । अन्धविश्वास, छुवाछूत, जातीय विभाजनको प्रतिकार र मनोवैज्ञानिक चेतनाको जागरण यस क्षेत्रमा पछिल्लो दशकमा प्रशंसनीय रहेको छ । यस प्रगतिशीलतामा आइएनजिओहरूको योगदान महŒवपूर्ण छ ।
    अहिले आइएनजिओहरूले प्रत्यक्षतः भौतिक पूर्वाधारमा लगानी गरेको देखिन्न तर विभिन्न एनजिओहरूको माध्यमले एकातिर सामाजिक जागरणको काममा लगानी भएको देखिन्छ भने अर्कोतिर विभिन्न पेशा र व्यवसायलाई मदत पुग्ने किसिमले काम गरेको देखिन्छ । दुवै किसिमका काम समाज विकासको दृष्टिले महŒवपूर्ण छ । सामाजिक जागरणको क्षेत्रमा काम गर्दा विभिन्न सरकारी तथा गैरसरकारी संस्थामा सम्बद्ध र समाजका विभिन्न वर्ग तथा समुदायका व्यक्तिको छनोट गरी व्यवहार परिवर्तनसम्बन्धी अनेक किसिमका तालिम र गोष्ठीहरू सञ्चालन हुन्छन् । तालिम र गोष्ठीको प्रभाव कतिपय अवस्थामा तत्काल देखिन्छ भने कतिपय अवस्थामा दीर्घकालमा देखिन्छ । कतिपयको प्रभाव अस्थायी हुन्छ भने कतिपय व्यवहार परिवर्तन दीर्घकालीन वा स्थायी हुन्छ । हिजोको दिनको 
परम्परा त्यत्तिकै परिवर्तन हुँदैन । कतिपय चलन वा संस्कार भूत बनिसकेका छन् र कतिपयमा निरन्तर सुधार भइरहेको छ । यी र यस्ता कार्यहरूले गर्दा आइएनजिओहरूको कामलाई सकारात्मक मानिएको छ तर आइएनजिओहरूले कुन क्षेत्रमा कति लगानी गरे भन्ने कुरो सर्वसाधारणले थाहा पाउँदैनन् । सामान्यतया कुन कार्यक्रम चलेको छ भन्ने कुरो पनि कमैलाई जानकारी हुन्छ । अधिकांश कार्यक्रम आइएनजिओ वा एनजिओमा काम गर्नेहरूलाई मात्र थाहा हुन्छ । विभिन्न आइएनजिओहरूले सामाजिक संस्था वा सामुदायिक संस्थाहरूमार्फत् आप्mनो कार्यक्रम लैजाने गरेको हुँदा स्थानीय संस्थालाई मात्र चिन्ने र मूल लगानीकर्ता गौण बन्ने भएकोले पनि यस प्रकारको समस्या देखिएको हो । सामाजिक वा सामुदायिक संस्थाहरूले पनि दाता संस्था वा आइएनजिओलाई फोकस गर्नुभन्दा सकेसम्म नामोच्चारण नगरीकन आप्mनै संस्थाको प्रयासलाई प्राथमिकता दिएर प्रचार गर्ने गरेको प्रवृत्ति विद्यमान छ ।
    सामान्य जनगुनासो कस्तो छ भने आइएनजिओ र एनजिओहरूको काम र आर्थिक लगानी त्यति पारदर्शी हुन सकेको छैन । कुन वर्ष कुन–कुन काम वा क्षेत्रमा कति रुपियाँ कुन संस्थामार्फत् कुन गाउँ वा नगरमा किन लगानी गरियो ? वा यो वर्ष फलानो शीर्षक अन्तर्गत अमुक उपशीर्षकको यो कामको लागि यति बजेट छुट्याइएको छ र यो काम यति दिनभित्र यस प्रकारले गरिन्छ । यसबाट यस्तो फाइदा हुन्छ । यसमा लगानी र उपलब्धि यस प्रकारको हुन्छ भन्ने कुरा सार्वजनिक हुन नसकेको गुनासो छ । आइएनजिओले गर्ने काम सन्तोषजनक र पारदर्शी नभएको र कार्यक्रम लागू गर्ने एनजिओहरूले गर्ने कार्यक्रमसमेत पारदर्शी नभएको गुनासोको सम्बोधन जरुरी छ । आइएनजिओहरूले सार्वजनिक स्थानहरूमा नसके जुन भौगोलिक क्षेत्रमा काम गरिरहेका छन्, त्यस ठाउँमा कुन काममा कति लगानी भइरहेको छ, त्यसबारे शीर्षक र अवधिसहितको विवरण सार्वजनिक हुने गरी राखिदिए राम्रो हुन्थ्यो । यति नभए पनि कम्तीमा एक वर्षमा सञ्चालन हुने कार्यक्रम र रकमको विवरण आप्mनो जिल्लास्थित कार्यालयमा वर्षैभरि सबैले देख्नेगरी सार्वजनिक गर्दासमेत हुन्थ्यो । यो पनि सम्भव नभए कुन सामाजिक वा सामुदायिक संस्थामार्फत् कति रुपियाँ कुन शीर्षकमा कहिलेसम्म खर्च गर्नेगरी आयोजना सम्पन्न हुने भन्ने कुरो पारदर्शी हुनेगरी विवरण राख्न लगाउँदा पनि हुन्छ । चालू आर्थिक वर्षको विषयमा अन्योल भए कम्तीमा विगतको एक वर्षको सम्पूर्ण विवरण सार्वजनिक गर्दा धेरै किसिमका आशङ्का आफैं समाधान हुन्छ ।
    यहाँ कुनै आइएनजिओ तथा एनजिओहरूमाथि आक्षेप लगाउन खोजिएको होइन । धेरै आइएनजिओ तथा एनजिओ यहाँ भनिएकोभन्दा पारदर्शी हुन सक्छ । धेरैले साँच्चै इमानदारीपूर्वक काम गरेको पनि हुन सक्छ तर सबै यसै प्रकारको हुन नसकेको सर्वसाधारणको आरोपलाई व्यवहारले खारेज गर्नु आवश्यक छ । नत्र एक वर्षभित्र तेइस अर्ब रकम लगानी हुनु सानोतिनो कुरा होइन । हरेक जिल्लामा लगभग एक अर्ब रुपियाँ बराबरको रकम लगानी भएको छ । एक वा दुई योजनामा यतिको ठूलो रकम लगानी हुने हो भने धेरै ठूलो योजना सम्पन्न हुन सक्छ । विशाल योजनाले कार्यरूप पाउन सक्ने सामथ्र्यवान रकमले देखिनेगरी खासै ठूलो काम सम्पन्न भएको पाउनु र कर्मचारी तथा व्यवस्थापन र तालिम गोष्ठीमा खर्च हुनु सर्वसाधारणलाई अस्वाभाविक लागेको छ । देशले विकासको पथमा फडको मार्दै गर्दा सर्वसाधारणले यस प्रकारको कुरो सोच्नुलाई अस्वाभाविक मान्न सकिन्न । रकमको लगानी धेरै ठूलो कुरो भएन तर पारदर्शिता ठूलो कुुरो हो । अहिले पारदर्शिता महŒवपूर्ण बन्दै गएको छ । देशको विकासमा साँच्चै योगदान दिने आइएनजिओहरू छन् । आइएनजिओहरूको विकास कुनै पनि कारणले रोकिनुहुन्न । पारदर्शिताको लागि उठेका आवाजलाई सम्बोधन गर्नु आवश्यक छ । अब देशमा कार्यरत एनजिओ तथा आइएनजिओहरूलाई पारदर्शिताका लागि जिम्मेवार बनाउन समाजले पनि भूमिका खेल्नु आवश्यक छ । एनजिओ तथा आइएनजिओहरूले स्वयं पनि यस दिशामा सकारात्मक कदम बढाउनु युगको माग हो ।

# प्रतिक डेली डटकम बाट




कमेन्टसहरु



सम्बन्धित शिर्षक समाचारहरु


1 2 NEXT

English News



642450 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
Contact Us
All right reserved 2017 © Suprim Sanchar Pvt. Ltd.
Powered by :
Top