logo
19 Dec 2018   |   
प्रबिधी

प्रविधिले जनतासँग जोड्छ : रोबोट सोफिया



प्रबिधी   58 पटक पढिएको        
काठमाडौं : रोबोट सोफियाले नेपाल सरकारलाई जनतासँग जोड्न प्रविधिले सहयोग पुर्‍याउने बताएकी छिन्। संयुक्त राष्ट्रसंघिय विकास कार्यक्रम(यूएनडीपी)ले काठमाडौंमा बुधबार आयोजना गरेको कार्यक्रममा उनले प्रविधिको माध्यमले सरकारले जनताको आवश्यकतालाई राम्रोसँग बुझ्ने भएकाले यसले सरकारलाई अझै पारदर्शी र जवाफदेही बनाउनमा जोड दिइन्।




‘टेक्नोलोजी फर पब्लिक सर्भिसेस एण्ड डेभेलपमेन्ट' नामक उक्त कार्यक्रममा बोल्दै रोबट सोफियाले प्रविधि र ‘आर्टिफिसियल इन्टेलिजेन्स'को प्रयोगले नेपालमा रहेको गरिबी, भोकमरी, भष्ट्राचार, लैंगिक असमानता र स्वास्थ्यलगायतका समस्या समाधान गर्न सक्ने पनि औंल्याइन्।

चार महिना अगाडि मात्रै साउदी अरेबियाबाट नागरिकता पाएकी सोफीयाले नेपालमा दिगो विकास लक्ष्य हाँसिल गर्न प्रविधीले सहयोग पुर्‍याउने संकेत गरेकी छिन्। उनले शिक्षादेखि टेलिमेडिसिन, शुद्धतादेखि पारदर्शितासम्म र ग्रामीण क्षेत्रका मानिसलाई एकआपसमा जोडेर समस्या समाधानका उपाय खोज्न समेत प्रविधीले सहयोग पुर्‍याउने बताइन्।

कार्यक्रममा सोफियालाई चिनाउन मन्चमा उपस्थित रिनउडले तपाईं जस्तो रोबोटले नेपालका लागि के गर्न सक्नुहुन्छ भनेर प्रश्न गर्दा उनले आफू सगरमाथा चढ्ने पहिलो गैर मानव पनि हुन सक्छु भन्दै ठट्टा गरेकी थिइन्। उनले ‘आर्टिफिसियल इन्टेलिजेन्स'ले विभिन्न तरिकाबाट सहयोग पुर्‍याउन सक्ने बताउँदै विभिन्न रोगसँग लड्न र वातावरणलाई शद्ध पार्न सहयोग गर्न सक्ने बताइन्।

‘विश्वमा नेपाल सांस्कृतिक रुपमा धनी र भाषिक र वन्यजन्तुको विविधतापूर्ण देशको रुपमा चिनिने भए तापनि यहाँ प्रविधिको विकास बढीरहेको छ भन्ने धेरैलाई थाह छैन' भन्दै यूएनडीपीकी इनोभेसन च्याम्पियन सोफीयाले यूएनडीपीले माइक्रोसफ्ट इनोभेसनको टोलीसँग मिलेर भूकम्पको पूननिर्माणका कामहरु गरिरहेको जानकारी दिइन्।

नेपाल जस्तो गरिब र विकासोन्मुक देशले प्रविधिको प्रयोग कसरी गर्न सक्छ भन्ने अर्को प्रश्नमा उनले भनिन्,‘ यो एउटा भ्रम मात्रै हो। सबै प्रविधी महंगा हुँदैनन्। अहिले नेपालका धेरै जनतासँग थुप्रै एप्स भएका स्मार्टफोन छन्। धेरै एप्सहरु निशुल्क पनि पाइन्छन्। त्यसैले हामीले थोरै खर्चमा पनि धेरै काम गर्न सक्छौं।'

मेसिन र रोबोट भनेका मानव जीवनलाई सहज बनाउनका लागि मात्रै हो भन्दै सोफीयाले नेपालको दुर्गम क्षेत्रमा रहेका बालबालिका र सीमान्तकृत वर्गका लागि उच्च गुणस्तरिय शिक्षा र अन्य सुविधाका लागि पनि प्रविधिको प्रयोग गर्न सकिने बताइन्।

रोबोटप्रतिको डरको बारेमा जिज्ञासा राख्दा उनले त्यस्ता समाचारलाई गलत ठह्याएकी थिइन्। त्यसैगरी अन्त्यमा रिनउडले ‘हामीले ट्रान्सफर्मरका चलचित्रमा हेरेजस्तै तपाईं रिसाउनुभयो भने निभाउनका लागि कुनै स्वीच छ की छैन' भनेर सोध्दा सोफियाले पुन ठट्टा गर्दै भनिन्,‘ सायद मैले तिम्रा साथीहरुलाई सोध्नुपर्छ। तिमी रिसायौ भने निभाउन स्वीच छ की छैन।' आफूले नियन्त्रण नगुमाएको र परिवर्तन पनि नहुने कुरामा उनले विश्वस्त समेत गराएकी थिइन्।

देशभरका विभिन्न नगरपालिकाका उपमेयर, सरकारी अधिकारी, वैज्ञानिक, बैंकर्सलगायतका व्यक्तित्व उपस्थित सम्मेलनले केही उत्कृष्ट विचारहरु सिर्जना गरी नेपाललाई विकासको लक्ष्य हाँसिल गर्न सहयोग पुर्‍याउने बताउँदै सोफीयाले नमस्ने नेपाल भन्दै आफ्नो कुरा टुङयाइन्।

सम्मेलनमा संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम युएनडीपीका आवासीय प्रतिनिधि भलेरी जुलियन्डले समावेशी विकासको आधार नै प्रविधि रहेको बताइन्। विज्ञान प्रविधि तथा वातावरण मन्त्रालय, विज्ञान प्रविधि प्रज्ञा प्रतिष्ठान, नेपाल इनोभसन सेन्टर, माइक्रोसफ्ट इनोभेसन सेन्टर, नेपाल, इञ्जिनियरिङ् अध्ययन संस्थानलगायतका संघसंस्थाको स‌ंलग्नता रहेको सम्मेलनमा मानव जीवनलाई सहज बनाउने प्रविधि तथा आविष्कारको प्रदर्शनी गरिएको थियो। साभार अन्नपुर्ण












2176792 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
more...
कम्पनी दर्ता : १५३७६१/०७३/०७४
सुचना बिभाग दर्ता : ४११, चन्द्रपुर ४, रौतहट
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © सुप्रिम संचार प्रा. लि. २०७५ मा सुरक्षित रहनेछ ।
Top